NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

जुम्ला कारागारका कैदीबन्दीलाई कोरोना संक्रमण

जुम्ला । जुम्लाको कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ । कारागारमा रहेका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण देखिएको हो । कैदीबन्दीमा ज्वरो र खोकी लाग्ने समस्या देखिएपछि स्वाब संकलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । कारागारभित्रका दुई महिला र १२१ पुरुष गरी १२३ जना कैदीबन्दीमध्ये १५ जना पुरुषलाई कोरोना संक्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताए । उनले भने, – ‘संक्रमित १५ जनामध्ये एक जना ७७ वर्षीय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।’ अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदीबन्दीलाई भने संक्रमणका लक्षण नदेखिएको जनाइएको छ । आइतबारसम्म जुम्लामा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । यस्तै कोरोना संक्रमित २५७ जनालाई निको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जना उपचारार्थ रहेका छन् । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएदेखि जुम्लामा संक्रमणबाट दुई जना जेष्ठ नागरिकको मृत्यु भएको प्रशासनले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।