NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

केपी ओलीले माधव नेपालसँग सँगै हिँड्न गरेका ६ बुँदे वाचामा के–के छन् ?

काठमाडौं । अन्ततः केपी ओली पार्टीका सबै आरोप र प्रत्यारोपलाई थाती बिर्सदै पार्टीलाई पहिलेकै अवस्थामा फर्काउन तयार भएका छन् । पार्टी विभाजनको डिलमा पुगेपछि ओलीले सहमतिका लागि विभिन्न ६ बुँदा प्रस्ताव गर्दै अझै सुदृढ एमाले बनाउन अपील गरेका हुन् । उनले पार्टीलाई २०७५ जेठ ३ गते अघिकै अवस्थामा फर्काउने भन्दै यस अघि माधव नेपालसहितका सबै नेताहरुलाई गरिएको कारवाही फिर्ता लिएको घोषणा गरेका छन् । सँगै उनले आफ्नो दलका प्रधानमन्त्रीविरुद्ध विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सारेका छन् । यस्तो हुँदा पार्टी पहिलेकै अवस्थामा फर्किने र पुरानै संरचनाले काम गर्ने उनको भनाई छ । संगठनका काममा समस्या आए कार्यदलले छिनोफानो गर्ने पनि उनको प्रस्ताव छ । प्रधानमन्त्री नेकपा विवादपछि संसद विघटन गरेयता पार्टीको विवाद उत्कर्षमा पुगेको थियो । ओलीविरुद्ध एमालेका सांसदहरु नै कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर अभियानमा लागेको थिए । पछि वैकल्पिक सरकारको बाटो पनि बन्द भएपछि देशमा चुनाव घोषणा भएको छ । पार्टीमा यसरी एकपछि अर्को संकट थपिएपछि ओलीले एकताको लागि आफैं हात अघि बढाएका हुन् । माधव नेपाल पक्षले पनि सबै कारवाही फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काइए एमालेमा फेरि सँगै हिंड्न सकिने बताएका थिए । यस्ता छन् ओलीका ६ बुँदे प्रस्ताव १) नेकपा(एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडी बढाइनेछ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रिय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उचिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रिय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् । २) मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् । ३) संगठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यन्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ । ४) आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा(एमाले)का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ । ५) यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेलभाव गरिने छैन । ६) नेकपा(एमाले) लाई वैचारिक, संगठनात्मक र भावानात्मक रुपले एकताबद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ ।