NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोभिडको महामारीबीच २०७८ भदौमा १४ महाधिवेशन गरेरै छोड्ने देउवाको प्रतिवद्धता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन २०७८ भदौमा आफू पूर्ण प्रतिवद्ध रहेको जनाएकोछ । कोरोनाको कारण परिस्थिति विषम भए पनि महाविधेशन सम्पन्न गर्नैपर्ने भन्दै देउवाले महाधिवेशन हुँदैन की भन्ने अभिव्यक्ति नदिन पनि उनले आग्रह गरेका छन् । ‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ’ देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म यसमा पूर्ण प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु । महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु । पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन् ।’ महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गन नहुनेमा देउवाले जोड दिएका छन् । ‘बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनु पर्दछ । हामीसँग अब बढी समय छैन । आषाढ र श्रावण दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्छ ’ देउवाले भनेका छन्, ‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन् ।’ तालिका अनुसार क्रियाशीय सदस्यता टुंगिएर असारको पहिलो हप्तादेखि वडा तहको अधिवेशन हुने समय आइसकेको छ । तर, अहिलेसम्म १० लाखमध्ये आधा हाराहारी सदस्यताको विषय मात्रै टुंगो लागेको छ । नियमित कार्यतालिका अनुसार भए अगामी भदौ ७ देखि १० सम्म १४ औं महाधिवेशन हुनुपर्ने छ । तर, थप समय लिन पाउने सुविधा जम्मा ९ दिन अर्थात् २०७८ भदौसम्म मात्रै छ । यस्तोमा कांग्रेसलाई महाधिवेशन गर्न नै कठिन रहेपछि देउवाले जसरी पनि महाधिवेशन गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । कोभिडको महामारीभन्दा पनि संगठनात्मक भद्रगोलले गर्दा कांग्रेसको अधिवेशन समयमा हुन नसकेको हो ।आगामी भदौ १९ गतेभित्र महाधिवेशन नभए कांग्रेस कानुनी रुपमा नै संकटमा पर्नेछ । यस्तो छ देउवाले जारी गरेको विज्ञप्ति जेठ २६, २०७८प्रेस वक्तव्य आदरणीय दिदीबहिनी, दाजुभाइ तथा पार्टीका सदस्य एवं शुभेच्छुक साथीहरू ! कोभिड–१९ को महामारीले लामो समयदेखि हामी अत्यन्त कठिन अवस्थामा छौं । संक्रमणका कारण पार्टीका धेरै साथीहरु, साथीहरुका परिवारका सदस्य र नागरिकहरुले ज्यान गुमाउनु भयो भने कतिपय निकै पीडामा रहनु प¥यो । म कोभिड–१९ का कारण दिवंगत हुनु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । संक्रमणका कारण घरमा आइसोलेसनमा बस्नु भएका वा अस्पतालमा भर्ना हुनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । संक्रमित सबैलाई उच्च मनोबल राखी चिकित्सकको राय अनुसार रहन÷बस्न अनुरोध गर्दछु । सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेका कारण यो अवस्था सृजना भएको छ । यसमा सरकार पूर्ण रुपले दोषी छ । यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्धछु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु । महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु । पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन् । महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनु पर्दछ । हामीसँग अब बढी समय छैन । आषाढ र श्रावण दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन् । म पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमितिका साथीहरु, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरु, विदेश स्थित जनसम्पर्क समितिका साथीहरुलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दछु । कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गर्दछु । जय नेपाल !शेरबहादुर देउवासभापति