NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

प्रदेश २ सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गरेका छन् । जसपाले नेपाली कांग्रेसलाई तीन मन्त्रालय दिएको छ । नयाँ नियक्ति पाएका तीनै जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । कांग्रेसका तर्फबाट रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा बिकास र बिरेन्द्र सिंह महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रीको शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले पद तथा गोपनीयताको सपथ गराए । शपथ ग्रहणका क्रममा प्रदेश प्रमुख झाले ‘ईश्वर’ को नाममा भनेको ठाउँमा मन्त्रीहरूले ‘जनता’ उच्चारण गरेका थिए । पार्टी शीर्ष नेतृत्वमा आन्तरिक विवादसँगै उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेपछि जसपाले सत्ता साझेदारीका लागि कांग्रेस र माओवादी केन्द्रसँग छलफल अघि बढाएको थियो । माओवादीलाई पनि सरकारमा सहभागी गराउने छलफल जारी राखेको प्रदेशका आन्तरिक मामिला तथा कानूनन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । माओवादीले दुई मन्त्रालय मागेको तर सरकारले एउटा मन्त्रालय मात्र दिने भनेपछि सहमति हुन सकेन । लालबाबु राउतले केही दिनमै माओवादीलाई पनि सरकारमै ल्याउने प्रयास गरिरहेका छन् ।