NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रदेश २ : उत्तरार्धमा कसरी सत्ता साझेदार बन्याे कांग्रेस ?

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्। पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन गर्न थालेपछि ओलीविरुद्ध मोर्चा कसेको विपक्षी गठबन्धनले प्रदेशमा समेत यो अभियान फैलाउँदै लगेको छ। ओली नेतृत्वको एमाले, माओवादी केन्द्रसहितका दलले २०७४ सालको आम निर्वाचनमा तालमेल गर्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको थियो। तर एमाले र माओवादी केन्द्र अलग्गिएसँगै नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्तारोहणनजिक पुगेको छ। तीन वर्षअघि एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको कलहले दुई पार्टी पुरानै अवस्थामा फर्काइएपछि कांग्रेसका लागि सत्तारोहण सहज बनेको हो। त्यसमा पनि एमालेकै नेपाल समूह ओलीको विपक्षमा उभिएपछि कांग्रेसलाई प्रदेश २ सरकारमा सहभागी हुन सहज बनेको हो। प्रदेश २ सरकारबाट जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई हटाएर उपेन्द्र पक्षले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने पहल गरेको थियो। कांग्रेस तीन महत्वपूर्ण मन्त्रालयसहित सत्ता सहकार्यमा सहभागी भइ नै सकेको छ भने माओवादी केन्द्रले पनि सरकारमा सहभागिता पक्का गरिसकेको छ। सत्ता साझेदारी गराउने प्रयत्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुरमै छन्। कांग्रेससँग कुरा मिलिसकेपछि अब माओवादी केन्द्रका नेताहरूसँगको छलफलमा उनी केन्द्रित भएका छन्। जसपाद्वारा वार्ताका लागि गठित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति अहिले सक्रिय भएर लागेको छ। जसपाले कांग्रेसलाई दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेको थियो। सुरुमा मुख्यमन्त्री दाबी गरेको कांग्रेसले तीन मन्त्रालय मागेपछि बुधबार दिनभरिको छलफलबाट सोहीअनुरूप नै सहमति भएको थियो। माओवादीले पनि तीनवटा मन्त्रालय दाबी गरेको छ। ‘हामीले तीन मन्त्रालय मागेका छौं, उहाँहरूले एउटाको कुरा गर्नुभएको छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक दिलीप साहले भने, ‘तर छलफल सकारात्मक रूपमा अघि बढिरहेको छ।’ दुईवटा मन्त्रालयमा कुरा मिलिसकेको समेत उनले बताए।’ नागरिक दैनिकमा खबर छ।