NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पतिको दीर्घायुको कामनासहित मिथिलामा ‘बट सावित्री पर्व’ मनाइँदै

जनकपुरधाम । पति दीर्घायुको कामना गर्दै मिथिलानीहरुले आज बट सावित्री (बरसाई) पर्व मनाउँदै छन् । प्रदेश २ का जिल्लाहरुमा महिलाहरुले उत्साहका साथमा वरको रुखमा रातो पहेलो धागो बाँध्दै पतिको दीर्घायुको कामना गरी यो पर्व मनाउने चलन रहेको छ । बिहानैदेखि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सलार्ही जिल्लाका शहरी र ग्रामीण क्षेत्रमा व्रतालु महिलाहरु विशेषगरी वरको रुखमुनि पूजा गरी यो पर्व मनाइरहेका छन् । कोरोना महामारीको दोस्रो लहरको बाबजूत महिलाहरु सामूहिक रुपमै पनि यो पर्व मनाइरहेका छन् । कतिपय व्रतालु महिला वरको हाँगा ल्याएर घरमै पूजापाठ गरिरहेका छन् । व्रतालु महिलाहरु वरको वृक्ष तथा हाँगामा तल रातो पहेलो धागा बेर्दै पतिको दिर्घायुको कामना गर्ने गर्दछन् । बट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु बढ्ने जनविश्वास रहेको सिरहा नगरपालिका १ की जानकीदेवी महराले बताइन् । धार्मिक मान्यता धार्मिक मान्यता अनुसार वरको रुखमा व्रह्मा, विष्णु र महादेवको बास हुने भएकोले वरको रुखको पूजा गर्ने प्रचलन छ । पौराणिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गर्दछन् । केही वर्षअघिसम्म यो पर्व व्राम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँदै अएका थिए । तर, पछिल्लो समय अन्य समुदायका महिलाहरु पनि यो पर्व सुरु गरेका छन् । महिलाहरुको माइतीबाट यो पर्व मनाउन भार (कोसेलीं पठाउने गरिन्छ र त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ । कोसेलीमा साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा), रातो पहेलो धागो लगायतका सामग्री पठाइन्छ । अन्य रुखको तुलनामा वरको रुखको आयु लामो हुने भएको र वरकै रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएकोले पूजा गर्ने चलन रहेको सांस्कृतिकविद् प्राध्यापक रामभरोस कापर ‘भ्रमर’ को भनाइ छ ।