NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

संसद्मा जवाफ दिँदै गुरुङले भने, ‘कुनै अदृश्य शक्ति सक्रिय छ, लोकप्रिय बन्यो कि पार्टी फुटाउन लागिहाल्छ’

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा राजनीतिक अस्थिरता निम्त्याउन कुनै प्रकारको अदृश्य शक्ति सक्रिय रहेको बताएका छन् । विश्वासको मत मागेपछि संसद्मा उठेका प्रश्नका जवाफ दिँदै उनले नेपाललाई समृद्ध हुन नदिनका लागि अदृश्य शक्ति लागिपरेको बताएका हुन् । उनले पुराना राजनीतिक घटनाक्रमको स्मरण गराउँदै नेपालमा बलियो सरकार आयो कि बहुमत प्राप्त पार्टी फुटाउनलाई नै अदृश्य शक्ति सक्रिय हुने गरेको दावी गरे । ‘जब जनताको मत जितेर पार्टीहरु सरकारमा पुग्छन् । तब जनतामा आशा, अपेक्षा जाग्छ । यस्तो विश्वास पैदा भइरहेका बेला नेपालमा राजनीतिक दुर्घटनाहरु हुन्छ । २०१५ सालमा जुन आम निर्वाचन भयो, त्यसबेला कांग्रेसले ६९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेर सरकार बनाएको नेपाली कांग्रेस पार्टी, जनप्रिय नेता वीपी कोइरालाको सरकार दुई वर्ष नपुग्दै ढालियो,’ उनले भने, ‘कांग्रेस–कम्युनिष्ट मिलेर २०४६ मा लोकतन्त्र ल्याए । गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा सुविधाजनक बहुमतसहितको सरकार बन्यो । तर पछि आफ्नै पार्टीभित्र फुट गराएर सरकार ढालियो । यहाँसम्म कि गणेशमानलाई त कांग्रेसमा बस्ने परिस्थिति पनि बनेन ।’ उनले नेपालमा राजनीतिक स्थिरता आउनेबित्तिकै अस्थिर बनाउने शक्ति सक्रिय हुने भएकाले यसतर्फ समीक्षा गर्न आवश्यक रहेको बताए । अहिले नेकपा विभाजन पनि सोही अदृश्य शक्तिकै कारण भएको उनको भनाइ छ । यस्तै, मुख्यमन्त्री गुरुङले केन्द्रमा हुने हलचलकै प्रभाव प्रदेश सरकारहरुले अनावश्यक भोग्नुपरेको बताए । संघीयता कार्यान्वयनमा आए पनि केन्द्रमा जुनसुकै सरकार बने पनि त्यसले केन्द्रबाटै शासन चलाउने परिस्थिति निर्माण भएको बताए ।