NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

लोप हुँदै रैथाने धान, उन्नत जाततर्फ किसान आकर्षित

दाङ । दाङका कृषकले पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन् । अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली लगायतका धान रोप्ने गर्दथे । पछिल्लो समय यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन थालेका छन् । घोराही उपमहानगरपालिका– ९ का किसान धनीराम चौधरीले रैथाने धान रोप्न छाडेको चार वर्ष भएको बताए । पहिले स्थानीय जातको धान लगाउने भए पनि अहिले पुरानो धान कम फल्ने र मेहनत धेरै गर्नुपर्ने भएपछि उन्नत जातको धान लगाउन थालेको बताए । अर्का किसान घोराही– ६का महेश चौधरीले तीन वर्ष अगाडिसम्म रैथाने धान खेती गर्ने गरेको बताए । तिल्की धान पाथी बीउ रोपे पछि मुरी फल्ने गर्दथ्यो । दाङका खेतमा प्रसस्त मात्रामा धान फल्थ्यो, बढी भएको अन्य जिल्लामा पनि बिक्री हुन्थ्यो । अब पुराना धान खेती हुन छोड्यो, सबैले धेरै फल्ने नयाँ हाइब्रिड धान रोजेर लगाउँछन्, उनले भने । स्थानीय तहले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ प्रदान गर्ने गरेका छन् । घोराही उपमहानगरपालिकाले ६१.५ क्वीन्टल उन्नत जातको धानको बीउ वितरण गरेको जनाएको छ । कृषकलाई एक महिनाको समय दिएर माग सङ्कलन गरेर त्यसैअनुसार धानको बीउ खरिद गरेर वितरण गरिसकिएको घोराही उपमहानगरपालिकाका कृषि शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए । उपमहानगरपालिकाभित्र नै स्रोत केन्द्र रहेकाले धानको बीउ खरिदमा समस्या नभएको उनको भनाइ छ । घोराहीमा धान खरिदका लागि रु दुई लाख ४० हजार बजेट रहेको कृषि शाखा प्रमुख खनालले जानकारी दिए । जिल्लाका केही स्थानीय तहका कृषकहरुले अनुदानमा धानको बीउ पाएका छन् भने केही स्थानीय तहका कृषकहरुले धानको बीउ पाउन सकेका छैनन् । अनुदानमा उन्नत धानको बीउ नपाउने स्थानीय तहले धानको बीउको खरिदमा समस्या हुँदा वितरण हुन नसकेको बताइएको छ । तुलसीपुर उपमहानगरपालिकाका कृषकहरुले यस वर्ष अनुदानमा धानको बीउ पाउन सकेका छैनन् । धान खरिद हुन नसक्दा अनुदानमा धानको बीउ वितरण हुन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अधिकृत धनराज गौतमले बताए । धान खरिदका लागि उपमहानगरपालिकाले गएको बैशाखमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । कसैबाट पनि निवेदन नआएका कारण धान खरिद हुन नसकेको उपमहानगरले जनाएको छ । जिल्लामा दशवटा पालिका मध्ये केही पालिकाले अनुदानमा बीउ दिएका छन् भने केही पालिकाले यो पटक उपलब्ध गराउन नसकेको जनाएका छन् । जिल्लाको कुल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमिन मध्ये खेती योग्य जमिन ६९ हजार नौ सय ५० हेक्टर रहेको छ । दाङमा कुल खेती गरिएको जमिन ६५ हजार ९८० हेक्टरमा खेती गरिएको छ । यहाँ बाह्रै महिना सिंचाई हुने क्षेत्र १९ हजार ६५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए। मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख ९ हजार २११ हेक्टर रहेको छ ।