NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज २५ गते

१९ औं पटकको अन्तिम अवसरमा लोकसेवा पास गरेँ

पहिलो पटक लोकसेवा परीक्षा दिँदा बिएड पढ्दैथिएँ । आफूलाई कत्ति न धेरै पढेजस्तो लागेको थियो । परीक्षामा प्रश्नावली देख्दा दिउँसै तारा देखेजस्तो भयो । तयारी पुगेन भनेर उत्तिखेरै चाल पाएँ । नाम निस्किने कुरै भएन ।

त्यसपछि सुरु भयो परीक्षाको श्रृङ्खला । कीर्तिपुरमा एमएड पढ्दै गर्दा गाउँको सामुदायिक क्याम्पसमा पढाउन प्रस्ताव आयो । त्यतिबेला गाउँमा डिग्री गर्ने कोही थिएनन् । कसैसँग प्रतिस्पर्धा नहुने भएपछि क्याम्पस चिफ नै आएर अछाम लिएर जानुभयो ।
सम्बन्धित समाचार

हतियार बोकेर राज्यसँग विद्रोह गर्ने विद्रोहीको लोकसेवा अनुभव: भूकम्प आउँदा नि पढिरहेँ

करार नियुक्तिमा त्रिपुरासुन्दरी क्याम्पसमा उप–प्राध्यापक पदमा शिक्षण गर्न थालेँ । त्यहाँ जागिर गर्न थाले पनि भविष्यमा भने सरकारी कर्मचारीतिरै ‘सेफ ल्याण्डिङ’ गर्ने चाहना थियो । फेल भएपनि लोकसेवातिर आश मरेको थिएन । त्यसैले त्यहाँ पढाउँदै गर्दा पनि मैले लोकसेवाको परीक्षा दिइरहेँ ।
– – –

आफू बुझ्ने भइसकेपछि नै मैले सोचिसकेको थिएँ, ‘नेपाल सरकारको कर्मचारी बन्छु ।’

मेरो घर अछाम जिल्लाको बान्नीगढी गाउँपालिकामा पर्छ । कक्षा १० सम्मको पढाइ गाउँकै विन्ध्यवासिनी माध्यामिक विद्यालयबाट पूरा गरेँ । सानैदेखि म पढाईंमा राम्रो थिएँ ।

वि.सं. २०५६ मा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण भएपछि म आइएड पढ्न टीकापुर गएँ । वीरेन्द्र विद्या मन्दिर टिकापुरबाट आइएड र टिकापुर बहुमुखी क्याम्पसबाट बिएड पास गरेँ । त्यसपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट एमएड पढ्न थालेको हुँ ।
सम्बन्धित समाचार

सास नफेरी पढ्ने अभ्यास गर्थेँ

सानैदेखि पढाइमा ध्यान दिने, चलाख र चञ्चले स्वभावको थिएँ । आफू बुझ्ने भइसकेपछि नै मैले सोचिसकेको थिएँ, ‘नेपाल सरकारको कर्मचारी बन्छु ।’ मेरो घर परिवारमा कोही पनि सरकारी सेवामा हुनुहन्नथ्यो । तैपनि सरकारी कर्मचारी भनेपछि भिन्नै किसिमको आकर्षण थियो ।
– – –

जागिर सुरु गरेपछि समय राम्ररी दिन पाउँदैनथेँ । तर पनि अलि–अलि तयारी गर्दै परीक्षा दिइरहेँ । फेल हुन्थेँ तर, अर्को पटक परीक्षा दिँदा अघिल्लो पटक गरेको कमजोरी नदोहोर्‍याउने सजग हुन्थेँ । तैपनि नतिजा आउँदा कहिले एउटा, त कहिले अर्को पेपरमा फेल भएको हुन्थेँ ।
सम्बन्धित समाचार

२२ वर्षमा अधिकृत, अब पालो सचिव हुने

राष्ट्रसेवक कर्मचारी बन्छु मात्रै भनेर नहुने रहेछ । जति परीक्षा दिँदा पनि नाम निस्किएन । एकपटक होइन, दुईपटक होइन, १८ औं पटकसम्म पनि नाम निस्किएन । तैपनि निराश भने भइनँ । सधैं कमजोरीलाई सुधार्ने प्रयास गरिरहेको हुन्थेँ ।

म आफ्नै तरिकाले पढ्थें । मन लागेको बेलामा घन्टौंसम्म पनि पढ्थें, मन लागेन भने पढ्दै नपढ्ने । दिनको यति घण्टा छुट्याएर पढ्ने भन्ने नियम नै बनाइनँ ।
सम्बन्धित समाचार

छ महिना पढेर एकैपटक पाँचवटा परीक्षा पास गरेँ

पढाउन थालेको पनि नौ वर्ष हुुन लागेको थियो । उमेर ३५ वर्ष पुग्न लागिसकेको थियो । उमेरहद पुग्न लाग्दासम्म नाम ननिस्किएपछिचाहिँ एक किसिमको निराशा छाउन थाल्यो । तर मैले त्यसलाई जसरी पनि नाम निकाल्ने दबाबको रूपमा लिएको थिएँ ।
– – –

सातपटकसम्म अपरेसन गरेर बल्ल खुट्टा जोडिएको छ । खुट्टाको हड्डी नै हराएको हुँदा जोडिएपनि अहिले पनि खुट्टा छोटो छ ।

०७५ कात्तिक १७ गते नसोचेको घटना घट्यो । विदेशबाट आएका साथी प्रबिन रावललाई भेटेर उसलाई मेरो मोटरसाइकलमा घर पुर्‍याउन गएको थिएँ ।

साथीको घर पुगेपछि बाटो छेउमा बसेर गफिँदै थियौं । उभिएर कुरा गरिरहेको बेला अचानक अर्कोतिरबाट अनियन्त्रित गतिमा आएको मोटरसाइकलले ठक्कर दियो । साथीको टाउकोमा गहिरो चोट लाग्यो । उहाँ अहिले हिँडडुल गर्न सक्नुहुन्छ तर, मान्छे चिन्नुहुन्न ।
सम्बन्धित समाचार

गोठालो जाँदा पनि पढ्थेँ, पहिलो पोस्टिङ्ग हुँदा सात दिन हिँडेर कार्यालय पुगेँ

मेरो भने बायाँ खुट्टा दुई टुक्रा भएर भाँच्चियो । सातपटकसम्म अपरेसन गरेर बल्ल खुट्टा जोडिएको छ । खुट्टाको हड्डी नै हराएको हुँदा जोडिएपनि अहिले पनि खुट्टा छोटो छ । जिन्दगीको यात्रा वैशाखीकै सहारामा हुनेछ ।

मेडिकल रिपोर्टबाट थाहा भयो, हामीलाई ठक्कर दिनेले मदिरा सेवन गरेको रहेछ । उसको पनि आँखा फुटेको छ, अहिले जेल सजाय काटिरहेका छन् ।

दुर्घटनामा परेपछि मैले बिरामी बिदा लिएँ । त्यस्तो अवस्थामा पनि अफिसले दुई महिनाको पारिश्रामिक काटेछ । यो देखेपछि साह्रै नरमाइलो लाग्यो । धन्न, मेरो खुट्टा जोडियो । खुट्टा काट्नुपर्ने अवस्था आएको भए त मलाई जागिरबाटै हटाउने रहेछन् ।

मलाई लाग्यो, सरकारी जागिर भएको भए यो दुर्गति हुनबाट जोेगिन्थ्यो । फेरि इख पलायो, ‘जसरी पनि लोकसेवा पास गर्छु ।’ वैशाखीको सहारामा क्याम्पसमा उभिएर पढाउन सक्ने अवस्था पनि थिएन । त्यसकारण जसरी पनि सरकारी कर्मचारी बन्नु थियो।

त्यत्तिका वर्ष फेल भएको अनुभवले पनि होला, नाम निस्किनेमा ढुक्क थिएँ ।

उमेरहद नाघ्न लागेको हुनाले अन्तिम मौका थियो । खुब मिहेनत गर्न थालेँ । त्यसअघि विज्ञापन खुलेपछि मात्रै लोकसेवा तयारी गर्ने बानी थियो । तर विज्ञापन खुल्नुअघि नै तयारी थालें ।
सम्बन्धित समाचार

किताबै नपढी अधिकृतमा नाम निकालेँ

१९ औं पटक लोकसेवाको तयारी गर्दै थिएँ । तैपनि दैनिक यति घण्टा पढ्छु भनेर समय भने छुट्याएको थिइनँ । मन लागेको बेलामा पढ्थेँ । पढ्दा फर्मुला बनाउन थालेँ । त्यसले गर्दा सम्झिन सजिलो हुन्थ्यो । विषयवस्तुबारे गहन अध्ययन चाहिने हुँदा म आफूले भेटेजति सबै सामग्रीबाट अध्ययन गर्थें र बुझेको कुराको सार टिप्थें ।

कुनै पनि विषयलाई बहुपक्षीय दृष्टिकोणबाट बुझ्ने कोशिस गर्थें । सकेसम्म धेरै भन्दा धरै सूचना संकलन गर्थें ।
शिक्षण गरेको कारण पनि मलाई लोकसेवा दिन सहज भयो जस्तो लाग्छ । परीक्षामा सोधिएका अधिकांश प्रश्न आफैंले पढाउँदै आएका विषयवस्तुसँग मिल्दाजुल्दा थिए ।

यसअघि परीक्षा दिने बेलामा तयारी कम भएको चाल पाउनेबित्तिकै नाम ननिस्किनेमा ढुक्क हुन्थें । त्यसपटक आफूले गरेको तयारी र दिएको परीक्षामा पूर्ण आत्मविश्वास थियो । पास हुन्छु भन्नेमा ढुक्क थिएँ ।

नभन्दै नाम निस्कियो । त्यत्तिका वर्ष फेल भएको अनुभवले पनि होला, नाम निस्किनेमा ढुक्क थिएँ । थाहा छैन त्यो आत्मविश्वास भने कहाँबाट आयो ! मसँग अरू विकल्प पनि थिएन, त्यसकारण पो हो कि ?

लोकसेवामा सबैभन्दा मुख्य पाटो नै बुझाइ हो । रटेरमात्रै पास गर्न सकिन्न ।

अधिकृत भएपछि पहिलो पोस्टिङ बैतडीको डिलासैनी गाउँपालिकामा भयो । अहिले टीकापुरस्थित भजनी नगरपालिका, कैलालीमा शिक्षा अधिकृतको रूपमा कार्यरत छु ।

अब सह–सचिवको लागि तयारी थालिसकेको छु । सह–सचिव हुनुअघि जिन्दगीमा एकपटक त्यो क्याम्पस रहेको स्थानीय तहको शिक्षा शाखा प्रमुख भएर काम गर्ने धोको छ । क्याम्पसले त्यतिबेला तलब नकाटेको भए सायद मैले त्यही ढंगले मिहेनत नगर्न पनि सक्थें । लोकसेवाको १९ औं पटकको अन्तिम अवसर गुुमाउन पनि सक्थेँ ।

लोकसेवामा सबैभन्दा मुख्य पाटो नै बुझाइ हो । रटेरमात्रै पास गर्न सकिन्न । आफ्नो विषयवस्तुसँग मिल्ने सन्दर्भ छनौट गरेर बुझेर पढ्नुपर्छ । दिनमा यति घण्टा भएर समय छुट्याउँदा दबाब हुन्छ जस्तो लाग्छ मलाईचाहिँ । त्यस्तो दबाबमा रहेर पढ्न मन लाग्दैन ।
०००
(जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग गोप्य र निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ। इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ। उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । त्यसका लागि सफल भएकाहरूको अनुभवले निकै मद्दत पुर्‍याउँछ। यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले ‘लोकसेवा अनुभव’ स्तम्भ सुरु गरेको छ । यसको साताैं श्रृङ्खलामा प्रस्तुत छ– भजनी नगरपालिका, कैलालीमा कार्यरत शिक्षा अधिकृत पंखबहादुर शाहको अनुभव । यो सामग्री नेपालवाचकर्मी कञ्चन न्यौपानेले शाहसँग गरेको कुराकानीमा आधारित छ । –सम्पादक)