NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

र्‍याडिसनसहित पाँच क्यानिसोले रोयल्टी तिरेनन्, बुझाउन मन्त्रालयको अल्टिमेटम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।

मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौं, ह्याप्पी आवर प्रालि काठमाडौं र सेन्ट्रल मिडिया प्रालि काठमाडौंले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौँले रु २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाटले रु १८ करोड ७६ लाख, रक इन्टरनेशनल प्रालि काठमाडौंले रु ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौंले रु २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौंले रु १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी छ ।

गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो । यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो ।

काठमाडौंको सांग्रिला र रूपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट रु १४ करोड २० लाख बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ । क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तुरसहित रु १४ करोड २० नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो ।

पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाए कारबाही हुने चेतावनी दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष