NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

‘सुनकाण्ड’का प्रहरीमाथि कारबाही अलपत्र

काठमाडौं । सुन तस्करीको अनुसन्धानमा बदमासी गर्ने प्रहरीाथिको कारबाही अलपत्र परेको छ । एआइजीसहित चार प्रहरीमाथि कारबाही सिफारिस भएको दुई महिना हुँदा पनि अझै कारबाही हुन सकेको छैन ।
सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ आयोगले ‘ब्रेक सु’ तथा विद्युतीय चुरोटमा लुकाएको सुन तस्करीको सिआइबीले बद्नियत राखेर अनुसन्धान गरेको भन्दै तत्कालीन प्रमुख एआइजी किरण बज्राचार्यसहित चार प्रहरी अधिकारीमाथि कारबाही सिफारिस गरेको थियो । कारबाही तय गर्न गृह मन्त्रालयले सहसचिव भरतमणि रिसालको नेतृत्वमा समिति बनाएकोमा समितिले अझै प्रतिवेदन दिएको छैन । कारबाही डिसमिस गराउनकै लागि यसरी थप छानविनमा ढिलाई भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ ।
आयोगले एआइजी बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस गरेको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले गत १ चैतमा प्रतिवेदन बुझाउँदै अनुसन्धानमा केही आरोपीलाई मिलेमतोमा जोगाउन खोजेको भन्दै कारबाही सिफारिस गरेको हो । तस्करी समूहका नाइके दावा छिरिङसँग तस्करीको सुन कारोबारबारे बारम्बार कुरा गरेका जीवन चलाउनेलाई सुरुमा उपस्थित गराएर बयान कागज गराइएको र पछि फरार बनाइएको विषयमा प्रहरीको भूमिकामाथि आयोगले प्रमुख रूपमा प्रश्न उठाएको हो । उनलाई जोगाउने नियत राखेको र पछि माथिल्लो निकायको दबाबमा प्रतिवादी बनाएको भन्ने आयोगको छानबिन प्रतिवेदनमा उल्लेख छ ।


अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई महत्वपूर्ण जिम्मेवारीबाट भने हटाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष