त्यसपछि मैले राष्ट्रिय क्रिकेट टिमको कप्तान हुँदाहुँदै पनि खेल छाडेँ
अहिले क्रिकेट र क्रिकेटरको क्रेज निकै बढेको छ । केही नेपाली खेलाडी त विदेशी क्लबका रोजाइमा समेत पर्दै आएका छन् । विगतमा अभाव झेलेका क्रिकेटरले अहिले नाम त कमाएका छन् नै उसैगरी आर्थिक उपार्जन पनि गरिरहेका छन् ।
एक समय क्रिकेटको भविष्य अहिलेजस्तो उज्यालो थिएन । जीविकोपार्जनका लागि राष्ट्रिय खेलाडीले नै अन्य क्षेत्रमा निर्भर हुनुपर्ने बाध्यता थियो ।
पवनकुमार अग्रवाल तिनैमध्येका एक हुन् । जसले क्रिकेट करिअर उत्सकर्षमा पुगेका बेला भविष्य नदेखेर बैंकिङ क्षेत्रमा करिअर अज्माए ।
२५ वर्षअघि क्रिकेट छाडेर बैंकिङ क्षेत्रमा प्रवेश गरेका पवनले यसका पछाडिको कारणसँगै नेपालमा खेलकुद क्षेत्रको विकास नहुनुको गुदी आफ्नै शब्दमा यसरी सुनाए :
आजभन्दा २५ वर्षअघि नेपालमा क्रिकेटको विकास सुरुवाती चरणमा थियो । क्रिकेटमा टिक्न गाह्रो थियो । हुन त, म राष्ट्रिय टिमको भाइस क्याप्टेन हुँदै क्याप्टेनसम्म भएँ । तैपनि क्रिकेट खेलेर गुजारा हुने स्थिति थिएन । यही देखेर उतिबेला मैले क्रिकेट छाडी बैंकिङ क्षेत्र रोजेको थिएँ ।
त्यस समय एकातिर उमेर बढ्दै थियो भने अर्कातिर केही गर्न सकिएन भन्ने चिन्ता थपिँदै थियो । अब ढिला गर्न थाल्यो भने पछि भविष्यमा केही गर्न सकिँदैन भन्ने लागेपछि खेल छाडेर एमबिए गर्नतिर लागेँ । पढाइमा ध्यान दिनुपर्दा खेलबाट टाढा भइयो । यदि आजको जस्तो अवस्था त्यतिबेला थियो भने सायद म खेलकुदमै हुथेँ कि ।
अहिले परिस्थिति फेरिएको छ । हिजोको जस्तो खेलकुदमा टिक्नै नसक्ने अवस्था छैन । त्यतिबेला नेपाल क्रिकेट संघ (क्यान) भर्खर स्थापना भएको थियो, ऊसँग स्रोत थिएन । यही कारण धेरै समय त हामीले भोलेन्टियर नै गर्नुपथ्र्यो । क्यानमै व्यवस्थापकीय भूमिकामा हुँदा पनि भविष्य थिएन । खेलाडीको त कुरै नगरौं । अहिले त क्यान एक लाखदेखि डेढ लाखसम्म तिरेर कर्मचारी राख्न सक्ने भइसकेको छ ।
धेरै खेलाडीले नेपालमा भन्दा विदेशमा भविष्य देख्छन् । आर्थिक अवस्थाकै कारण धेरै खेलाडीले अवसर गुमाएका छन् । राम्रा खेलाडीले विदेश जाने अवसर गुमाइरहँदा पदाधिकारीले त्यो अवसर लिने प्रवृत्ति छ । यो देख्दा अनि सुन्दा दुःख लाग्छ । खेल्नको लागि खेलाडीले कति तयारी गरेका होलान् ? घर परिवारले कति सहयोग गरेका होलान् ? तर एउटा लेभलमा पुगिसकेका खेलाडी भिसा नपाएर, आर्थिक अवस्था नभएर खेल्नबाट वञ्चित भइरहेका छन् ।
सन्दीपले पाएको सहयोग र सफलता
६/७ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेको अवस्था आजको जस्तो थिएन । पारिवारिक स्थिति कमजोर थियो । हुन त अनावश्यक श्रेय लिनु ठीक नहोला । सन्र्दभ जोडिएका भएकाले मात्रै स्मरण गर्न चाहेँ । हामीले सिप्यान क्रिकेट एसोसिएसन दर्ता गरेका थियौं । उक्त संस्थाको एउटै उद्देश्य खेलाडीहरूलाई कसरी सहयोग गर्ने भन्ने नै थियो । त्यतिबेला केही खेलाडीहरू संस्थाको नजरमा परे । जसले राम्रो खेलेर पनि आर्थिक अवस्थाकै कारण अवसर पाइरहनुभएको थिएन । त्यसमध्ये एक सन्दीप हुनुहुन्थ्यो । हाम्रो संस्थाकै अनुरोधमा सानिमा बैंकले सन्दीपलाई २ वर्षसम्म मासिक २० हजार पाउने सहमतिमा सम्झौता भयो । त्यसले उहाँको खेल जीवन अगाडि बढाउन धेरै सहयोग पुगेजस्तो लाग्छ । आज उहाँको आर्थिक अवस्था हेर्ने हो भने धेरै माथि पुगिसकेको छ । धेरै कमाइ गर्ने खेलाडीमध्येमा उहाँ पनि पर्नुहुन्छ ।
खेलकुदमा राजनीतिक हस्तक्षेप
खेलकुद क्षेत्र राजनीतिबाट टाढा हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन । नेपालमा जति पनि खेलकुद संस्थाहरू छन्, सबै पार्टीगत रूपमा जोडिएका छन् । खेलकुद संस्था पार्टीको ब्राण्डजस्तो बनेको छ । उहाँहरूले खेल संस्थालाई भातृ संगठनजस्तो चलाउन खोज्नुहुन्छ । त्यसले संघ कसरी व्यावसायिक हुन सक्छ ?
राजनीतिक पार्टीहरूले देशका केही क्षेत्रहरूलाई स्वतन्त्रता दिनुपर्छ । जस्तो सम्बन्धित संस्थामा सम्बन्धित मान्छेले मात्रै चलाउनुपर्छ । जबसम्म हामीले त्यसलाई सुधार्दैनौं, संस्थाको विकास कहिल्यै सम्भव हुँदैन । अहिले हेर्यौं भने ओलम्पिक, एन्फादेखि लिएर हरेक खेल संस्थामा कहीँ न कहीँ राजनीतिक पार्टी जोडिएको छ ।
क्रिकेटकै कुरा गर्दा, सन् २०११ तिर राजनैतिक हस्तक्षेपकै कारण क्रिकेट संघ भताभुंग भएर गयो । सन् २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले क्यानलाई नेतृत्वविहीनताको अवस्था आएको भन्दै निलम्बित नै गयो ।
त्यसपछि आइसिसीले एडभाइजरीको ग्रुप बनायो । त्यस समूहमा क्रिकेट सम्बन्धित मान्छेहरू र सरकारबाट पनि प्रतिनिधित्व हुनेगरी राखिएको थियो । त्यो ग्रुप बनाउनुको उद्देश्य क्रिकेट संघको संरचनामा परिवर्तन गर्नु थियो । हामीले बसेर विधान ड्राफ्ट गर्यौं । आइसिसीले स्वीकृति पनि गर्यो । उक्त विधानमा क्रिकेट संघको सदस्य हुनको लागि निश्चित मापदण्ड तोकिएको छ । सो विधानअनुसार कि त राष्ट्रिय खेलाडी, रेफ्री, ‘ए’ लेभलको खेलाडी या ‘ए’ लेभलको कोचेज हुनुपर्छ ।
खेलकुदमा हेर्ने हो भने राजनीतिक पार्टीसँग नजिक भएका खेलाडी माथि पुग्ने खेलमै गाँसिएको खेलाडी भने जहिल्यै तलको तल छ । यसलाई सुधार्न व्यावहारिक पाटोमा संशोधन गरे पुग्छ । सुधार आउन समय लाग्छ । यससम्बन्धी विधान छ, विधानअनुसार पालना गर्ने जिम्मा अहिलेको संघको पनि हो । त्यसमा केही हेरफेर भएर काम भइरहेको छ ।
जबसम्म हामीले संस्थालाई संस्थागत, व्यावसायीकरण गर्दैनौं, त्यो आफैंमा आत्मनिर्भर हुन सक्दैन । हाम्रोमा अहिले पनि सबै सरकारले गर्दियोस्, हेर्दियोस् भन्ने मान्यता छ, त्यसमा मेरो असहमति छ । हो, खेलकुदमा सरकारको भूमिका हुनुपर्छ । सरकारले खुलकुदको पूर्वाधारमा हेर्नुपर्छ । पूर्वाधार निर्माण खर्चिलो हुने भएकाले संस्था आफैंले व्यवस्थापन गर्न नसक्ने हुँदा त्यसमा हेरिदिनुपर्छ । तर खेलकुद संघले संस्थाको व्यवस्थापन गर्ने, बढाउने कार्य आफैं गर्नुपर्छ । राज्यसँग निश्चित रकम छ, त्यो रकम विभिन्न प्राथमिकतामा परेको क्षेत्रमा खर्च होलान्, सबै खेलकुदमा खन्याउन सम्भव हुँदैन ।
खेलाडीको आम्दानीको स्रोत
खेलाडीको आम्दानीको पहिलो स्रोत संस्था हो । त्यसका लागि संघ बलियो हुनुपर्छ । अहिले पनि क्रिकेटको मुख्य फण्ड आइसिसी नै हो । कर्पोरेट क्षेत्रबाट आएको पैसा पनि छ तर त्यसबाट त्यस्तो फण्ड बढेको छैन । क्रिकेटकै कुरा गर्दा अब एनपिएल (नेपाल प्रिमियर लिग) आउँदैछ । त्यसले पनि राम्रो राजस्व आउलाजस्तो छ । खेलकुदलाई हामीले व्यावसायीकरण नगरेसम्म आर्थिकस्तर माथि उठाउन असम्भव छ । हामीले अन्तर्राष्ट्रियस्तरको खेल खेलेनौं भने राजस्व कहाँबाट आउँछ ? राजस्व आउने नै खेलेर हो । राजस्वको स्रोतहरू बढाउँदै गयो भने खेलकुद संस्थाले खेलाडीलाई राम्रो रकम दिन सक्छ । अहिले क्यानले २० जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेर दिइरहेको छ । भोलि त्यो कोटालाई बढाउँदै लान सकिन्छ ।
अर्को जनस्तरबाट । हामीले जनस्तरमा जति राम्रो खेल पस्किन सक्यौं, त्यति नै हामीलाई फाइदा पुग्छ । किनभने, पब्लिकले खेल हेर्नकै लागि पैसा खर्च गर्छन् । हाम्रो क्रिकेट टिमले राम्रो खेले र त आज यति पपुलभर भयो । एकपछि अर्को सफलता हासिल गर्द जित्दै गएपछि फलोअर्सहरू बढ्दै जान्छ । त्यसपछि कर्पोरेट हाउसहरूले पनि यो क्षेत्रबाट आफ्नो प्रोडक्टको ब्राण्डिङ गर्ने माध्यम देख्नुहुन्छ । यसले संस्था र खेलाडी दुवैलाई फाइदा पुग्छ ।
खेलाडीमा वित्तीय साक्षरता
खेलाडीहरूमा वित्तीय साक्षरताको ज्ञान निकै नै कम छ । आजको दिनमा हरेक खेलाडीले केही न केही कमाइरहेका छन् । क्रिकेटकै हेर्ने हो भने टप प्लेयरले महिनामा एक लाख रूपैयाँसम्म कमाउँछ । एक लाखको हिसाबले वर्षमा १२ लाख हुन्छ । त्यसबाहेक खेलाडीले केही भत्ता, पुरस्कार पाइरहेका हुन्छन् । ती सबै गरेर वर्षमा २५ देखि ३० लाख कमाउँछन् । त्यसबाट केही रकम भविष्यको लागि बचत गर्यो भने राम्रै हुन्छ । तर नेपाली खेलाडीहरूले खर्च बढी र बचत कम गर्ने गरेको देख्छु । उनीहरूलाई वित्तीय साक्षरताको ज्ञान दिनु आवश्यक देखिन्छ ।
(अग्रवाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन्)
Write more, thats all I have to say. Literally, it
seems as though you relied on the video to make your point.
You definitely know what youre talking about, why throw away your
intelligence on just posting videos to your weblog when you could
be giving us something enlightening to read?