छापामा आज: ३१५ सुरक्षाकर्मीको घेरामा बस्छन् प्रधानमन्त्री

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाले भिन्नाभिन्नै समाचारलाई प्राथमिकता दिएका छन्। नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र राजधानीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि स्टोरी लेखेका छन्। सोमबार पोखरा पुगेका प्रम ओलीले ‘‘यो पार्टीलाई नेतृत्व गरी मैले ठीक ढंगले अगाडि बढाइरहेको र सरकार पनि गतिशील भई सञ्चालन गरिरहेको हुनाले ममाथि प्रहार भइरहेका छन् । तपाईंहरू देखिरहनुभएको छ, सम्पूर्ण रूपमा ममाथि अत्यन्तै तीव्र ढंगले प्रहार भइरहेको छ । ममाथि कुनै शारीरिक हमला नै भयो भने पनि तपाईँहरु अनौठो नमान्नुहोला’ बताएका थिए। नयाँ पत्रिकाले ‘देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास’ शीर्षकमा मुख्य समाचार छापेको छ। हाइलाइटमा भनिएको छ, ‘बालुवाटारमा सेनाका दुई सय, सशस्त्र प्रहरीका ३५, नेपाल प्रहरीका ७५ र गुप्तचरका ५ गरी तीन सय १५ सुरक्षाकर्मीको घेरामा बस्छन् प्रधानमन्त्री । हिँड्दा सेना र प्रहरीका दुई–दुई गाडीमा ३० सुरक्षाकर्मी हुन्छन् ।’ नागरिक दैनिकले पनि ‘प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’: राजनीतिक चालबाजी कि साँच्चिकै हो’ शीर्षकमा मुख्य समाचार छापेको छ। नागरिक अगाडि लेख्छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दोहोर्याउँदै आएका छन्। उनले कार्यकर्तामाझ लगातार सुरक्षा थ्रेट भएको बताएपछि मुलुकको प्रधानमन्त्री नै असुरक्षित हुने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ। दुई सयभन्दा बढी सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री कसरी असुरक्षित भए भन्ने प्रश्न उठेको छ।’ राजधानी दैनिकले प्रधानमन्त्री ओलीको भनाइ उल्लेख गर्दै शीर्षक राखेको छ, ‘मलाई सुरक्षा खतरा छ, परास्त गरिन्छ।’ कान्तिपुरले ‘तानातानमा सांसद’ शीर्षकमा मुख्य समाचार छापेको छ। कान्तिपुर अगाडि लेख्छ, ‘अहिले नेकपामा सबैभन्दा धेरै चलेकै सांसदहरूको हिसाबकिताब हो । प्रतिनिधिसभा पुनःस्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक सार्वजनिक सम्बोधनमा एउटा वाक्य छुटाएनन्, ‘संसद्मा हर्स–ट्रेडिङ अर्थात् सांसदको किनबेच सुरु हुन्छ ।’ उनले संसद्को फोहोरी खेल २०५१ देखि मुलुकको नयाँ संविधान बन्नुअघिसम्मको स्थितिमा पुग्ने प्रक्षेपण बारम्बार गर्दै आएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि सबैभन्दा पहिले नेकपाको संसदीय दलमा नै सांसदहरूको तानातान सुरु भएको छ । दाहाल–नेपालका तर्फबाट फोन गर्ने नेताहरूले सरकार बनेपछि मन्त्री बनाइदिन्छौं भन्ने गरेका छन् । ओलीका तर्फबाट फोन गर्नेहरूले मन्त्री र पैसामध्ये एउटा रोजेर लिन प्रस्ताव गर्ने गरेको सांसदहरू नै बताउँछन् ।’ अन्नपूर्ण पोस्टले आर्थिक समाचारलाई प्राथमिकता दिएको छ। ‘बढ्यो आर्थिक गतिविधि’ शीर्षकमा मुख्य समाचार लेखेको अन्नपूर्णमा अगाडि भनिएको छ, ‘कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ। बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको हो। वित्तीय स्रोत ९पुँजी०को उपयोगका आधारमा पनि आर्थिक गतिविधिलाई मापन गर्ने गरिन्छ। वित्तीय आँकडाले औद्योगिक क्रियाकलाप र नागरिकको किनमेल बढ्न थालेको देखाएका छन्।’ अन्नपूर्णका अनुसार पछिल्लो दुई महिनामा बैंकहरूसँग भएको लगानीयोग्य रकम २ खर्ब रुपैयाँ घटेको छ भने पुस मध्यतिर २ खर्ब ३० अर्बसम्म पुगेको अधिक तरलता (बैंक तथा वित्तीय संस्थाले तुरुन्त लगानी गर्न सक्ने गरी राखेको पैसा) आइतबार ७१ अर्ब रुपैयाँमा झरेको छ। तर, यसबीच राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित व्यवसायका लागि ८४ अर्ब रुपैयाँ पुनरकर्जा दिइएको समाचारमा उल्लेख छ। गोरखापत्रले ‘समृद्धि अभियान रोक्ने असफल हुन्छन्’ भनेर प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई मुख्य समाचार बनाएको छ।
ताजा अपडेट
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
-
गोसाईंकुण्ड जाने भक्तजनको चहलपहल सुरु
-
डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल
-
पाकिस्तानको पञ्जाबमा भीषण हावाहुरीका कारण १९ जनाको मृत्यु
प्रतिक्रिया