नगरपालिकाका कर्मचारी चार महिनादेखि बेपत्ता, प्रहरी अनुसन्धान अन्योलमा, परिवारमा अत्यास

काठमाडौं । भोजपुरका २५ वर्षीय पुजन राई गत कात्तिक २७ बाट बेपत्ता छन् । चार महिना बितिसक्दा पनि राईको खोजी हुन नसक्दा यतिबेला उनका परिवार मिडिया गुहार्दै काठमाडौं आइपुगेका छन् । गत फागुन १५ मा परिवारले पत्रकार सम्मेलन गर्दै राई हराएकोबारे जानकारी गराए । राई सिन्धुपाल्चोकस्थित बाह्रविसे नगरपालिका वडा नं. ९ स्थित बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकामा अस्थायी कर्मचारीको रुपमा कार्यरत् थिए । उनी नेत्र सहायक पदमा विगत १० महिनादेखि त्यहाँ कार्यरत थिए । नगरपालिकामा कार्यरत राई बुलेट मोटरसाइकलसहित बेपत्ता भएको चार महिना बितिसक्यो। यत्तिका समय बितिसक्दा पनि न राई भेटिए न त उनी सवार मोटरसाइकल नै। बितेको चार महिनामा राईका परिवारले बाह्रविसे प्रहरी, सिन्धुपाल्चोक प्रहरी, जिल्ला अनुसन्धान ब्यूरो (सिआइबी) तथा मानव अधिकार आयोगमा समेत उजुरी दिइसकेका छन्। तर, प्रहरीले भने राई बेपत्ता भएको अन्तिम दिन सम्पर्कमा रहेका साथी राकेश श्रेष्ठमाथि छानबिन गर्न राईका परिवारले प्रहरीमा जाहेरी दिन खोज्दा पनि लिन नमान्दा परिवार थप समस्यामा परेका छन्। परिवारका अनुसार २७ गते राती अन्तिम पटक उनीसँग फोन सम्पर्क भएको थियो। भोलिपल्टसम्म पनि परिवारका सदस्यले फोन गर्दा फोन लाग्ने तर नउठ्ने भएपछि राईको फोन स्वीच अफ भएको थियो । राईको फोन नलागेपछि परिवारले कार्यालयमा सम्पर्क गरे । तर सहकर्मी सृष्टि श्रेष्ठ र प्रविन तामाङले राई कार्र्यालय नआएको जानकारी दिए । त्यसको केही दिनसम्म कार्यालय बिदा भएको हुँदा साथीभाईसँग घुम्न निस्किएको होला भन्ने अनुमान गरे परिवारले । तर, त्यसको तीन दिनसम्म पनि कार्यालय नपुगेको खबर पाएपछि परिवारले प्रहरीमा जाहेरी दिए थिए । चार महिना बितिसक्दा पनि प्रहरी घटनाको नजिक पुग्न नसकेको परिवारको गुनाशोे छ । कतैबाट केही पत्ता नलागेपछि परिवारले पुजनसँग अन्तिम पटक सम्पर्कमा आएका राकेश श्रेष्ठ र पुजनकी प्रेमिकासमेत रहेकी सृष्टि श्रेष्ठमाथि अनुसन्धान गर्न जाहेरी दिदाँ पनि प्रहरीले अनुसन्धान गर्न नमानेको आरोप परिवारको छ । यता सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक राजन अधिकारी आफ्नो अनुसन्धान चलिरहेको बताउँछन् । ‘हामी आफ्नै शैलीमा अनुसन्धान गरिरहेका छौं । सबै कुरा बाहिर ल्याउन मिल्दैन । पुजनका परिवार आफैंले पनि हामीलाई अनुसन्धानमा सघाइरहनुभएको छ ।’ परिवारले पुजनकी प्रेमिका सृष्टिबाट लिएको वयानअनुसार उनी २७ गते कार्यालय बिदा भएपछि बाह्रबिसे प्रहरी बिट छेउमा छोडेर साथी भेट्न भोटेकोशी गाउँपालिकाको चाकु भन्ने ठाउँतिर गएका थिए । चाकुमै पुगेपछि पुजनले राकेश श्रेष्ठलाई भेटे । दुई जनाको भेट भएपछि राकेशले नै पुजनको को २१ प ५७९९ को चकलेटी रङको बुलेट मोटरसाइकल हाँकेर हिन्दी भन्ने ठाउँमा लगेका थिए । हिन्दीस्थित एक पसलेबाट परिवारले जानकारी पाएअनुसार हिन्दीको एक पसलबाट राकेशले दुध र एक क्वाटर खुकुरी रम र चुरोट मगाए । सोही दिन चिनजान नभएका केही व्यक्तिहरू सविन कार्की, रवि पौडेल र गणेश खड्कासँग भेट भयो । भेटपछि मोटरसाइकलमा राकेश र पुजन चाकु फर्किएको बताइएको छ । राकेशलाई चाकुमै छोडेदेखि पुजनको अवस्था अज्ञात छ । परिवारका अनुसार प्रहरीले हालसम्म मोबाइलको कल डिटेल्सअनुसारको सबै लोकेसन प्राप्त नभइसकेको जनाएको छ । पुजनले चढेको २१ प ५७९९ नंबर प्लेट रहेको चकलेटी रङको बुलेट मोटरससाइकल पनि हालसम्म भेटिसकेको छैन । पछिल्लो चार महिनामा पुजनका परिवारले इलाका प्रहरी कार्यालय बाह्रबिसेमा खोजविनका लागि निदेवन दिए । पुजन कार्यरत नगरपालिकाका मेयर नेम फुन्जु शेर्पा तथा उपमेयर शुुसिला पार्खिनलाई पनि भेटिसकेका छन् । पाँचौ पटकसम्म सिसिटिभी फुटेज हेर्नका लागि परिवारका सदस्यहरू दोलालघाट र पाँचखाल पुगिसकेका छन् । परिवारको एउटै माग छ, अन्तिमपटक सम्पर्कमा रहेका राकेशलाई सूक्ष्म रुपमा छानबिन गर्नुुु । तर परिवारले प्रमाण नभई श्रेष्ठमाथि छानविन गर्र्न नसकिने जनाउँदै आएको पसजनका बुबा लालकुमार राईले बताए । के भन्छ प्रहरी ? सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक अधिकारीका अनुसार हालसम्म प्रहरीले अनुसन्धान जारी राखिरहेको छ । यो प्रकरणमा सिआइबीको टोली पनि सक्रिय रहेर छानविन अघि बढेको उनले बताए । ‘अहिले सम्म व्यक्तिको मृत्यु भयो कि बाँचिरहेको हो भन्ने नै अन्योल छ,’ प्रहरी प्रमुख अधिकारीले भने, ‘हामीले आफूभन्दा माथिल्लो निकाय सिआइबीसँगको सहकार्यमा पनि थप काम थालेका छौं । उहाँ अर्को जिल्ला (काभ्रे) मा हराउनुभएको हाम्रो टेक्निकल अनुसन्धानले देखाइसकेको छ । काभ्रेमा पनि हामी आफैं गएर अनुसन्धान गरेका छौं ।’ अधिकारी अनुसन्धानको नतिजामात्रै नआइसकेको तर काम भने भइरहेको बताउँछन् । परिवारले राकेश श्रेष्ठमाथि प्रहरीले गहन अनुसन्धान नगरेको गुनासोलाई कटाक्ष गर्दै उनी भन्छन्, ‘अनुसन्धानका आफ्नै दायरा हुन्छन् । हामीले पनि अनुसन्धानका कामलाई अघि बढाउँदा मान अधिकारलाई पनि जवाफदेही हुनुपर्छ । कसैको पनि मानव अधिकार हनन् गरेर अनुसन्धान गर्न मिल्दैन ।’ नगरप्रमुखको हैसियतले आफूले गर्नुपर्ने सबै पहल गरिसकको बताउँछन् बाह्रबिसे नगरपालिकाका मेयर नेम फुन्जु शेर्पा । ‘म जनप्रतिनिधि हो । मैले अनुसन्धान अघि बढाउन पहल गर्ने हो । मैले सिडिओ, डिएसपी सबैलाई भनिसकेको छु,’ उनले भने, ‘राई काभ्रेको केराघारीसम्म पुगेको भन्ने पत्ता लगाएरै प्रहरीको टोली त्यहाँ पनि पुगेर अनुसन्धान गरेको छ ।’ शेर्पा अस्पतालले आयोजना गररेको कार्यक्रममा देख्दा राई खासै नबोल्ने प्रवृत्तिका थिए । राई हराएपछि उनले अरुबाट लिएको जानकारी अनुसार राई पहिला सुधार गृहमा बसेका थिए ।
ताजा अपडेट
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
-
गोसाईंकुण्ड जाने भक्तजनको चहलपहल सुरु
-
डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल
-
पाकिस्तानको पञ्जाबमा भीषण हावाहुरीका कारण १९ जनाको मृत्यु
प्रतिक्रिया