प्रधानमन्त्रीविरुद्धको नयाँ अविश्वास प्रस्ताव दर्ता गर्दैछौं : झलनाथ खनाल

काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापित गरिदिएपछि नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको छ । अदालतको फैसलासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतवार (२३ फागुन) का लागि संसद् आह्वान पनि गरिसकेकी छिन् । विभाजनले औपचारिकता पाइनसकेको अवस्थामा राजनीतिक रुपमा विभाजित नेकपाका प्रधानमन्त्री केपी ओली र प्रचण्ड–माधव नेपाल समूह संसद्मा कसरी प्रस्तुत हुन्छन् भन्ने बारेमा अनेक आकलन गरिएको छ । ओली समूहले आफूसँग विकल्पै–विकल्प रहेको बताइरहेको छ भने अर्को समूहले पनि नयाँ सरकार निर्माणका लागि प्रयास गर्ने बताइरहेको छ । यी यावत् परिस्थितिका बीच नेकपा विवाद र आगामी राजनीतिका विषयमा नेपालवाचले प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालसँग कुराकानी गरेको छ ।प्रस्तुत छ नेता खनालसँगको कुराकानीको : तपाईंहरूले यसअघि दर्ता गरेको प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनुभएको हो ? यसअघि दर्ता भएको प्रस्तावलाई फिर्ता लिने कुनै निर्णय भएको छैन । संसदमा प्रतिनिधित्व गर्ने अरु पार्टीहरूसँग पनि सल्लाह र छलफल गरेर मात्र अगाडि बढ्ने भन्ने निर्णय भएको हो । यसको मतलव अगाडि दर्ता गरेको प्रस्तावलाई रोकेर नयाँ प्रस्ताव गर्ने भनेको हो ? हो । नयाँ प्रस्ताव लिएर अगाडि जाने भनेको हो । किनभने पहिलेको र अहिलेको परिस्थिति फरक छ । परिस्थिति फरक भएपछि सोही अनुसार प्रस्ताव आउँछ । उसोभए त तपाईंहरू संसद् बैठकमा केपी ओलीसंगै बस्नुपर्ने बाध्यता आयो हैन ? अब हेरौं त्यो दिनसम्म के(के हुदैं जान्छ, अहिले नै त्यो अवस्थाको बारेमा भविश्यवाणी गर्न हतार हुन्छ । केपी ओलीसँगै संसदमा बैठकमा बस्न तपाईंहरूलाई अप्ठ्यारो हुँदैन ? हुँदैन । वैधानिक रुपमा पार्टी फुटिसकेको छैन, त्यसकारण त्यस्तो अप्ठ्यारो हुँदैन । भोलिका दिनमा पार्टी फुटिसकेपछि के हुन्छ, भनेर त्यतिबेलाको कुरा त्यसैबेला हुन्छ । तपाईंहरूको विचारमा केपी ओलीले के गर्दा पार्टी एकता जोगिन्छ ? यसबारेमा धेरै कुरा अघि नै भनिसकेका छौं । पार्टीका बैठकहरूमा आउनप¥यो, बैठकका निर्णयहरू मान्नुप¥यो, आफ्नो गल्तीमा क्षमायाचना माग्नुप¥यो । संविधान विपरित यति ठूलो काम गर्नुभयो त्यसको कुनै पश्चाताप गर्नुभएको छैन । यस्तो व्यवहारले पार्टी एकता हुन सक्दैन । ओलीले त संसदिय दलको प्रमुख सचेतक नै फेरिदिनुभयो नि त ! हो । त्यही त यो सबै पार्टी एकता विरोधी काम हो जुन उहाँबाट श्रृखलाबद्ध ढङगबाट भइरहेको छ ।अहिलेको अवस्थामा तपाईंहरू र केपी ओलीबीचमा केही संवाद भइरहेको छ कि ?अहिले कुनै संवाद भइरहेको छैन । संसद पुनस्र्थापनापश्चात केपी ओलीसँग कुनै पनि प्रकारको वार्ता वा संवाद भएको छैन । कांग्रेस र जसपाले पार्टी विवाद टुङ्ग्याएर आउनु भनेर तपाईंहरूलाई भनेपछि तत्काल निर्वाचन आयोगको फैसला पनि नआउने अवस्थामा आउँदो २३ गतेको बैठकमा अविश्वासको प्रस्ताव नआउने पक्का पक्की जस्तै भएको हो ? अब त्यो विघटन भएपश्चात हामीले नयाँ ढङ्गले छलफल अगाडि बढाएका छौं । त्यसका लागि हामीले तत्काल केन्द्रीय कमिटीको बैठक बोलाएका छौं । बैठकबाट नयाँ परिस्थितिका बारेमा नयाँ ढङ्गले निर्णय गरेर अगाडि बढ्छौं । अविश्वासको प्रस्ताव पेस भएर संसदबाट फेल भएमा त फेरि एक वर्षसम्म अर्को प्रस्ताव लान पाईंदैन, कांग्रेस र जसपाले साथ दिएन भने त तपाईंहरूलाई अप्ठ्यरो पर्ने देखियो नि है ! अहिले नै पार्टीहरूविच त्यस्तो निर्णय भईसकेको छैन । हामी संविधानको धारा ७६ बमोजिम अगाडि बढ्ने हो । धारा ७६ को उपधारा १ अनुसारको यो सरकार पार्टी फुटेपछि स्वतः विघटन भयोे । नयाँ सरकारका लागि धारा २, ३, ४ मार्फत् सरकार बनाउने बाटोमा हामी जाँदैछौं । तपाईंहरूले अब प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुहुन्छ, कि कांग्रेस वा जसपालाई बुझाउनुहुन्छ ? कुनै व्यक्ति वा पार्टी भनेर भनेर हामीले प्राथामिकता दिएका छैनौं । सबैभन्दा पहिलो प्राथामिकता भनेको कोसँग मिल्दा संविधानको रक्षा गर्न सकिन्छ, कसको नाममा सबैभन्दा बढी सहमति हुन्छ, त्यही आधारमा निर्णय गर्छौं । यसमा व्यक्ति गौण हो । अघिल्लो चुनावमा भोट दिनुस् हामी विकास गर्छौं, कांग्रेसलाई भोट नदिनुस् भनेर भोट माग्नुभयो, अब आगामी चुनावमा मतदातासँग कसरी भोट माग्नुहुन्छ ? त्यसका लागि हामीसँग थुप्रै मुद्दा छन् । जसका लागी हामी हिजोदेखि लड्यौं, चुनावमा हामीले जनताकामाझ जुन घोषणापत्र अगाडि सा¥र्यौं, त्यही घोषणापत्र नै हाम्रो मुद्दा हो । चुनावमा हामीले बनाएको घोषणापत्र अनुसार केपी ओली हिँड्न नचाहेको कारणले अहिलेको समस्या निम्तिएको हो। पार्टी फुटेर अलग हुन पनि सक्नुभएन, सरकारसंग सँगै पनि हुनुहुन्न, कस्तो यता न उताको अवस्था भयो है ! यो एउटा जटिल सक्रंमण हो । पार्टी राजनीतिक रुपले फुटिसकेको छ । तपाईंहरूको पार्टीका बहुमत नेताहरूले यो पार्टी नफुटाइदिए हुन्थ्यो भनेर आग्रह गरिरहेका रहेछन्, पार्टीको ठूलो पंती एकताको पक्षमा छ भन्नेमा निर्वाचन आयोग पनि विश्वस्त छ, तपाईंहरू शीर्ष नेताहरूमात्र किन फुटको पक्षमा नि ? पार्टी एकता त सिङ्गो नेपाली जनता, कम्युनिष्ट पार्टी तथा कार्यकर्ताहरूको भावना पनि हो । तर, केपी ओलीले सारा नेपालीको भावना अनुसार नचलेको र पार्टीलाई एक हुन नदिएको घाम जस्तै छर्लङ्ग छ । तपाईहरूको हिस्सा कति नि पार्टी फुटनुमा ? हाम्रो कुनै हिस्सा छैन, यसको सम्पूर्ण दोष केपी ओलीकै हो । अहिलेको अवस्थामा तपाईंहरूका अध्यक्ष प्रचण्डले कांग्रेस र जसपा मिलेर सरकार बनाएमा भारतलाई पनि कम्फरटेवल हुन्छ भन्नुको तात्पर्य के हो नि ? त्यो कुन प्रसंगमा कहाँ भन्नुभएको हो ? त्यो कुरा उहाँलाई नै सोध्नुहोला । तपाईंले नवुझेको की बताउन नचाहेको ? यो कुराको बारेमा मलाई थाहा छैन, जसले भनेको हो उहाँलाई नै यो कुरा सोध्नुहोला । म यो विषय जान्दिनँ । जसले भन्यो उसैलाई यसको अर्थ स्पष्ट हुनेगरी माग्नुहोला ।
ताजा अपडेट
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
-
गोसाईंकुण्ड जाने भक्तजनको चहलपहल सुरु
-
डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल
-
पाकिस्तानको पञ्जाबमा भीषण हावाहुरीका कारण १९ जनाको मृत्यु
प्रतिक्रिया