सरकार र विप्लव नेकपाबीच अनौपचारिक समझदारी : सत्ता साझेदारीदेखि पार्टी एकतासम्म !

नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग सहकार्य वा एकता गर्न तयार भए प्रधानमन्त्री ओली उनलाई उपप्रधान मन्त्री बनाउन समेत तयार काठमाडाैं । प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले गृह मन्त्री रामबहादुर थापा नेतृत्वको २ सदस्यीय टोली गठन गर्ने घोषणा गरेको छ । आजै गठन गरिएको उक्त वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई (विद्यावारिधी) पनि चुनिएका छन् । २८ फागुन ०७५ मा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । प्रतिवन्ध घोषणाको २ वर्ष पुग्नु १० दिनअघि सरकारले विप्लव नेकपासँग वार्ता गर्न टोली गठन गरेको छ । सरकारले वार्ता टोली गठन गरेको सार्वजनिक गरिरहँदा विप्लव नेतृत्वको नेकपा सहिद सप्ताह मनाइरहेको थियो । १४–२१ फागुनलाई माओवादीहरूले सहिद सप्ताहका रुपमा मनाउँदै आएका छन् । सरकारले वार्ता टोली गठन गरेको केही समय नबित्दै विप्लव नेकपाले पनि आफ्ना तर्फबाट वार्ता टोलीका सदस्यको नाम सार्वजनिक गर्यो । महासचिव विप्लवले वक्तव्य सार्वजनिक गर्दै उल्लेख गरेका छन्, ‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ । पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता क. प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क. दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौ ।’ प्रधामन्त्री केपी ओलीसँग विमति राख्दै आएका प्रचण्डले विप्लवको ध्यान आफूतिर तान्न सरकारले पार्टीमा छलफल नगरी उनलाई प्रतिवन्ध लगाएको, यस्तो प्रतिवन्ध फुकुवा गर्नुपर्ने जस्ता सार्वजनिक टिप्पणी गर्दै आएका थिए । तर, प्रचण्डको अभिव्यक्तिमा विश्वास गरेर उनीसँग निकट हुनुभन्दा विप्लव प्रधानमन्त्री केपी ओलीसँगै वार्ता गर्न तयार भएका छन् । विप्लवले यसअघि नै सरकारसँग वार्ताका लागि तयार रकेको जनाउ दिइसकेका छन् । ८ फागुनमा विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले ‘सरकारसँग वार्ता र संवादका लागि सकरात्मक रहेको’ संकेत गरेका थिए । त्यसको १० दिनमा वार्ता प्रकृयाका लागि दुवै पक्षले औपचारिकता पुरा गरेका छन् । ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरिदिएपछि प्रचण्ड–माधवकुमार नेपाल सडक संघर्षमा गएका थिए । जानकारहरूका अनुसार प्रचण्ड–माधव नेपाल समूह सडकमा गएपछि नै सरकारले विप्लवसँग वार्ता गर्न प्रकृया अघि बढाएको थियो । २९ पुसमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई प्रहरीले ललितपुरको दक्षिण ग्रामीण वस्तीबाट पक्राउ गर्यो । बाँस्तोला प्रतिवन्धित नेकपाका केन्द्रीय सचिवालय सदस्य समेत हुन् । यसपछि विप्लव नेकपाले वार्ताका लागि आउँदै गरेका नेतालाई नै पक्राउ गरेको भन्दै सरकारले माहोल विगारेको आक्षेप लगाएको थियो । यस्तो थियो योजना स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र सुवास नेम्वाङ्ले विप्लव नेकपासँग पटक–पटक अनौपचारिक संवाद गरेका थिए । जानकारहरू कतिसम्म दावी गर्छन भने प्रतिनिधि सभा विघटनलाई अदालतले मान्यता दिएको भए विप्लवसँग वार्ता गरेर उनलाई उपप्रधानमन्त्री, उनीसहित हेमन्तप्रकाश ओली, खड्गबहादुर विश्वकर्मा, धमेन्द्र बाँस्तोलालाई सचिवालय सदस्य बनाएर पार्टी एकता नै गरेर जाने प्रधानमन्त्री ओलीको योजना थियो । निर्वाचनमा विप्लव, ओली, विश्वकर्मा र बाँस्तोलालाई प्रतिनिधि सभामा विजय हुने गरी उम्मेदवार बनाउने तयारी समेत भएको स्रोतको भनाइ छ । विघटनले मान्यता नपाएपछि भने त्यो योजना यसबेला अलमलमा परेको स्रोत बताउँछ । यद्यपि, ओली जसरी भए पनि विप्लवलाई वार्ता प्रकृयामा ल्याउन चाहन्छन् । मुलुक विखण्डनकै नारा लगाई रहेका सिके राउत, पुनः क्रान्तिको प्रचार गरिरहेका विप्लवलाई शान्तिपूर्ण बाटोमा ल्याएको जस लिने प्रधानमन्त्री ओलीको चाहना छ । अब कसो होला ? सरकारले प्रतिवन्ध लगाएपछि विप्लवले पनि संगठनमा मात्र होइन्, आफ्ना केही नेता/कार्यकर्ता पनि गुमाएका छन् । सरकारले प्रतिवन्ध लगाएको केही दिन नबित्दै केन्द्रीय समितिका सचिवालय सदस्य एवं मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली काभ्रेबाट पक्राउ परे । त्यसको केही दिन पछि विप्लवका अर्का विश्वास पात्र माइला लामा समेत काठमाडौंबाटै पक्राउ परे । त्यस यता १ हजार बढी नेता/कार्यकर्ता पक्राउ परिसकेका छन् । पक्राउ परेर छुटेका केन्द्रीय सदस्य मोहन कार्की ‘जिवन्त’, पदम राई, किरण राईलगायत ठूलो संख्यामा ओली–प्रचण्ड नेतृत्वकै नेकपामा प्रवेश गरे । सरकारले प्रतिवन्ध लगाएयता आफ्ना ११ कार्यकर्ताको सहादत भएको विप्लव नेतृत्वको नेकपा बताउँछ । भोजपुरमा तिर्थ घिमिरे, निरकुमार राई, सर्लाही इन्चार्ज कुमार पौडेललगायतलाई प्रहरी पक्राउ गरेर हत्या गरेको विप्लव पक्षको दावी छ । सर्लाहीका पौडेललाई त प्रहरीले पक्राउ गरेपछि हत्या गरेको राष्ट्रिय मानवअधिकार आयोगको छानविनले समेत पुष्टी गरिसकेको छ । विप्लवकै दाजु विरजङ्ग लगायत थुप्रै नेता/कार्यकर्ता यसबेला जेलमा छन् । उमा भुजेललगायतलाई पक्राउ गरेर १० औं ठाउँ घुमाउँदै सरकारले लिनसम्म हुर्मत लिने प्रयास गर्यो । अदालतले कडा आदेश दिएपछि भुजेल बल्लतल्ल जेलमुक्त भएकी छिन् । कार्यनीतिक रुपमा जेलमा रहेका नेता/कार्यकर्ता छुटाउन, संगठन विस्तार गर्न मात्र होस् वा शान्तिपूर्ण प्रतिस्पर्धामा सहभागी हुने निश्कर्षमा पुगेरै सही, विप्लव र सरकारका प्रतिनिधिबीच वार्ता हुँदैछ । जानकारका अनुसार वार्तामार्फत विप्लवलाई आफूमा समाहित गराएर ओली प्रचण्डलाई ‘देखाई दिन’ चाहन्छन् । त्यसैका लागि प्रधानमन्त्री ओलीले हतारमा पहल अघि बढाएका हुन् । प्रधानमन्त्री ओली निकट नेकपा केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका सांसद महेश बस्नेतका भनाइमा विप्लवलाई शान्ति प्रकृयाको मुलधारमा ल्याउने प्रयास गरेरै सरकारले वार्ता टोली गठन गरेको हो । विप्लवसँग मात्र होइन, उनीहरूको चार दलको गठबन्धनसँग समेत सहकार्य वा एकता गर्न हुन सक्ने बस्नेत बताउँछन् । संसदीय व्यवस्थाप्रति असन्तुष्ट मोहन वैद्य, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी बनाउने भनेर हिँडेका आहुतीसँग समेत एकता हुन सक्छ त ? ‘वरिष्ठ र समकालीनहरूलाई सम्मान गर्ने नेता केपी ओली नै देखिनु भएको छ । चित्रबहादुर केसीदेखि सीपी मैनालीसम्मलाई सम्मान गरेर ओलीले नै आफ्नो क्याविनेटमा उपप्रधानमन्त्री बनाउनु भएको हो । नारायाणमान विजुक्छे पनि मान्नु भएको भए ओलीले उपप्रधानमन्त्री बनाउनु हुन्थ्यो,’ बस्नेत भन्छन्, ‘प्रचण्डले पार्टीबाट बाहिरिन बाध्य पार्नु भएका वा निश्कासनको घोषणा गर्नु भएका वैद्यलगायतलाई ओलीले शीरमा राखेर ल्याउँदा उहाँहरूले स्वीकार गर्नु होला जस्तो लाग्छ ।’ प्रचण्ड–माधव नेपाल समूहका केन्द्रीय सदस्य एवं संविधान सभाका पूर्व सदस्य हेमराज भण्डारी सरकार र विप्लव दुवैतिरबाट टोली नै बनाएकाले उनीहरूबीच केही चरण वार्ता हुन सक्ने बताउँछन् । तर, उनीहरूबीच गठबन्धन, सहकार्य, एकता नै होला भन्ने विश्वास भने भण्डारीलाई छैन । ‘प्रधानमन्त्री ओलीजीले जाने बेलामा प्रचण्डलाई काउन्टर दिन विप्लवसँग वार्ता गर्ने योजना बनाएका हुन् । तर, विप्लव त्यति सजिलै मानिहाल्छन् भन्ने मलाई लाग्दैन्,’ भण्डारीको कथन छ, ‘उनी सत्ताको अहिलेकै स्वरुपमा सहमत होलान् जस्तो लाग्दैन् । यदि ओलीसँग सहमति गरिहाले भने पनि त्यो विप्लवका लागि सुरक्षित स्थान होइन ।’ जानकारका अनुसार सहकार्य र एकताका लागि विप्लव नै सहमत भएनन् भने पनि हेमन्तप्रकाश ओली र धमेन्द्र बाँस्तोला आफूहरूसँग आउँछन् भन्ने ओली समूहको बुझाइ छ । जेलमा रहेका ओली र बास्तोलासँग सरकारका प्रतिनिधिहरूले संवाद समेत गरिरहेका छन् । केही दिन अघि मात्र खानेपानी मन्त्री मणिचन्द्र थापाले नख्खु कारागारमै पुगेर विप्लव नेता ओलीसँग भेट गरेका थिए । विप्लव सहकार्य वा एकता गर्न तयार भए भने प्रधानमन्त्री ओली उनलाई उपप्रधान मन्त्री बनाउनसमेत तयार रहेका जानकार बताउँछन् ।
ताजा अपडेट
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
-
गोसाईंकुण्ड जाने भक्तजनको चहलपहल सुरु
-
डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल
-
पाकिस्तानको पञ्जाबमा भीषण हावाहुरीका कारण १९ जनाको मृत्यु
प्रतिक्रिया