शान्तिपूर्ण राजनीतिमा छिरेकाे दोस्रो दिनबाटै भेटवार्तामा सक्रिय विप्लव

काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सार्वजनिक भएको भोलीपल्टबाटै आफ्नो सक्रियता बढाएका छन् । शनिबार उनले बिहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेटवार्ता गरेका थिए भने दिउँसो आफ्ना पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश वली र अन्य नेताहरुलाई भेट्न नख्खु कारागार पुगेका छन् । चन्दले शनिबार बिहान नख्खु कारागारमा रहेका वलीलाई भेटेर फर्किएका हुन् । शनिबार बिहान साढे ११ बजे कारागार पुगेका विप्लवसँगै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धमेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दीपक’ले वलीसँगै कारागारमा भएका अन्य नेताहरुलाई भेटेका छन् । शान्तिपूर्ण राजनीतिमा आएसँगै सरकार र विल्पव नेतृत्वको नेकपासँग भएको सहमतिअनुसार जेल परेका सबै नेता कार्यकर्ताहरुलाई छाड्ने भनिएको छ । नख्खु कारागारमा रहेका वली र अन्य नेताहरुलाई प्रक्रिया पुर्याएर आइतबारसम्म छाडिसक्ने कारागार प्रशासनले बताएको छ । दिउँसो आफ्ना पार्टीका नेतालाई भेट्न पुगेका विप्लव शनिवार बिहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटन उनको निवास पुगेका थिए । पुल्चोक पुगेका विप्लव र बादलबीच कुन विषयमा छलफल भयो भन्ने बताइएको छैन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते ‘विप्लव’ नेकपालाई आतंकारी समूह घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो। वार्ता र सहमति पछि सरकारले बिहीबार प्रतिबन्ध फुकुवा गरिसकेको छ।
प्रतिक्रिया