कृषकले पाएनन् दूधको पैसा, पैसाकाे साटो नौनीका डल्ला !
तनहुँको बन्दीपुर गाउँपालिका-५, याम्पाफाँटका दुग्ध उत्पादक कृषकले लामो समयदेखि दूध बिक्रीबापतको भुक्तानी पाएका छैनन्। याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्दै आएका कृषकले गत पुस महिनादेखि दूधको मूल्यको सट्टा नौनी लिन बाध्य भएका छन्। सहकारीमा संकलित दूध पोखराको सुजल डेरीले लैजान्छ । त्यही सुजल डेरीमा उत्पादित नौनी किसानलाई दूधको मूल्यको सट्टामा दिने गरिएको छ । किसानले उत्पादन गरेको दूधको मूल्य प्रतिलिटर ५५ रुपियाँ छ । त्यही दूधबाट उत्पादन गरेको नौनी प्रतिकिलो ७९८ रुपैयाँमा किसानले लिनुपरेको छ । दूध उठाउने सुजल डेरीले मिल्क होलिडे गर्छौं भनेपछि त्यहीँको नौनी किसानलाई बाँडेको याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल तिवारीले बताए। सहकारीमा ११० किसान आबद्ध छन् । दैनिक चार हजार लिटरको हाराहारीमा सहकारीको सङ्कलन केन्द्रमा दूध सङ्कलन हुन्छ। गत वर्ष कोरोनाको सङ्क्रमण रोक्न बन्दाबन्दी भएदेखि कम्पनीले नियमित दूधको भुक्तानी सहकारीलाई दिन सकेको छैन । दुई करोड रुपियाँभन्दा बढी सुजल कम्पनीसँग दूधको भुक्तानी लिन बाँकी रहेको अध्यक्ष तिवारीले जानकारी दिए। कम्पनीबाट नियमित पैसा नआउँदा सहकारीले किसानलाई गत पुसदेखिको भुक्तानी गरेको छैन । दूधको रकम किसानलाई भुक्तानी गर्न नसके पनि कृषकलाई घरघरमै दाना, चोकर, औषधि, खोप र प्राविधिकको व्यवस्थापन भने गर्ने गरिएको तिवारीले बताउनुभयो तर दूधको मूल्य समयमा नपाउँदा निकै गाह्रो भएको दुग्ध उत्पादक कृषक काशिनाथ भट्टराईले बताए।
प्रतिक्रिया