आज धान दिवस, देशभर २७ प्रतिशत रोपाई सकियो
काठमाडौं । असार १५ अर्थात् आज धान दिवस । मानो रोपेर मुरी फलाउने अभियानलाई प्रोत्साहन गर्नका लागि आजको दिनलाई धान दिवसमा रुपमा मनाइन्छ । देशभरमा किसानहरुले दिवस मनाइरहेका छन् । मध्य असारसम्म आइपुग्दा देशभर २७ प्रतिशत रोपाई सम्पन्न भएको छ । कृषि विभागका अनुसार सोमबार साँझसम्म २७.१२ प्रतिशत भू–भागमा राेपाई भएको छ । यही अवधिमा गत वर्ष ३५ प्रतिशत रोपाई भएको थियो । कोरोना भाइरसका कारण जारी निषेधाज्ञा र संक्रमणको जोखिमका कारण पनि किसानले खुलेर बाली लगाउन पाएका छैनन् । असार १४ गते साँझसम्म देशभर करिब तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा रोपाई भएको कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गतवर्ष सोही अवधिमा चार लाख ८६ हजार हेक्टरमा रोपाई भएको थियो । तर, यस वर्ष कोरोना जोखिम भए पनि समयमै मनसुन सक्रिय भएका कारण रोपाई उत्साहपूर्ण हुने उनको भनाइ छ । हरेक वर्ष बर्खा याममा देशभर करिब १३ लाख ७१ हजार हेक्टरमा धान खेती हुने गरेको कृषि विभागको तथ्यांक छ । हिमाली जिल्लाहरुमा जेठको महिनामै धान रोपिसकिएको छ । पछि रोप्दा नपाक्ने भएकाले हिमाली जिल्लामा जेठको पहिलो सातादेखि नै रोपाई सुरु भएर अन्तिम सातामा सकिन्छ । अहिलेसम्म सबैभन्दा बढी कर्णालीमा ६२ प्रतिशत रोपाई सकिएको छ । सबैभन्दा धेरै उत्पादन हुने प्रदेश २ मा भने १० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई सम्पन्न भएको छ । प्रदेश २ मा देशका कूल धान उत्पादनमध्ये ७५ प्रतिशत हुन्छ ।
प्रतिक्रिया