NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

माधव नेपालका तीन विकल्प : निल्नु न ओकल्नु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीसँग सम्वन्धित सर्वोच्च अदालतको फैसलाले राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । सर्वोच्चको फैसलासँगै साविकका नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएका छन् । र यसबीचमा नेपाल कम्युनिष्ट पार्टीको नामबाट भएको केयौँ निर्णयहरुको वैधानिकतामा प्रश्न उठेको छ ।यसैबीचमा पूर्व प्रधानमन्त्री तथा नेता माधवकुमार नेपाल समूहको राजनीतिक भविष्य संकटमा फसेको छ । सर्वोच्चको फैसलाले नेकपा एमाले ब्युँतिएसँगै माधवकुमार नेपाल सामू आइलागेको राजनीतिक संकट र समाधानका तीन विकल्प यस्ता छन् । विकल्प नं १ : एमालेमै फर्कने माधवकुमार नेपाल गत निर्वाचनमा नेकपा एमालेको नाममा निर्वाचित सांसद हुन् । निर्वाचनमा उनको चुनाव चिन्ह सूर्य छ । सर्वोच्चको फैसला अनुसार उनी अब एमालेका सांसद हुन् । तर यसबीचमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्वन्ध निकै बिग्रिएको छ । उनले सजिलै एमाले फर्कियौँ भन्ने स्थितिसमेत छैन । केपी ओलीसँग नेता नेपालको सम्बन्ध कार्यकर्तास्तरसम्म बिग्रिएको छ । यस्तो अवस्थामा एमाले फर्कनु भनेको कवि लेखनाथ पौड्यालको कविता जस्तै उनले अध्यक्ष केपी शर्मा ओलीसमक्ष ‘प्रभुको लिला अपरम्पार…’ भनै जस्तै गर्नुपर्ने हुन्छ । त्यसो गर्नु भनेको नेपालका लागि राजनीतिक प्रतिष्ठा गुमाउनु हो । विकल्प नं २ : पार्टी विभाजन गर्ने नेता माधवकुमार नेपालसँग रहेको दोस्रो विकल्प भनेको नेकपा एमालेभित्रको संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत हस्ताक्षर जुटाएर पार्टी विभाजन गर्नु हो । तर एमालेभित्र संसदीय दलमा माधवकुमार नेपाल पक्षसँग ३० प्रतिशत मात्र सांसद छन् । राजनीतिक भविष्य अन्यौलमा रहेको नेपाल पक्षले अब एमालेको संसदीय दलमा ४० प्रतिशत बहुमत जुटाउने सम्भावना लगभग सकिएको छ । त्यसकारण उनका लागि दोस्रो विकल्प प्रयोग गर्न सक्ने स्थिति नै छैन । विकल्प नं ३ : सांसद त्यागेर माओवादी केन्द्रमा मिसिने माधवकुमार नेपालसँग अन्तिम वा तेस्रो विकल्प भनेको माओवादी केन्द्रसँग मिसिने हो ।तर त्यसरी माओवादीसँग मिसिंदा दल त्याग गरेको कारण नेकपा एमालेले माधवकुमार समूहका सांसदहरुको पद खारेज गर्नेछ । तर सांसद गुमाएर माओवादी केन्द्रमा प्रवेश गर्दा माधवकुमार नेपाल समूहले राजनीतिमा थप क्षति व्यहोर्नुपर्ने हुन्छ । माधवकुमार पक्षले अन्तिम विकल्पका रुपमा एमाले त्याग गर्ने र नयाँ पार्टी बनाउने तर माओवादी केन्द्रमा नजाने निर्णय पनि गर्न सक्छन् ।