NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

जबसम्म जन्मघरबाटै सम्पत्तिको अधिकार दिइँदैन, महिलामा आत्मविश्वासको कमी भइरहन्छ

काठमाडाैं । नेपालकी पहिलो महिला निर्देशक हुन, सुचित्रा श्रेष्ठ । नेपालमै सिनेमा बन्न सुरु भएको करिब चार दशकपछि उनले पहिलो फिचर फिल्म ‘प्रेमयुद्ध (२०५८)’ निर्देशन गरेकी थिइन् ।सिनेमा निर्देशनअघि उनी पत्रकारका रुपमा परिचित थिइन् । पत्रकारितामा सक्रिय छँदा उनले झण्डै आधा दर्जन साप्ताहिक पत्रिकाहरूमा काम गरिन् । उनले ‘प्रेमयुद्ध’, ‘खै को कसको’, ‘फिक्का’ जस्ता फिचर फिल्मको निर्देशन गरिन भने ‘सहारा’, ‘समर्पण’, ‘भाइटिका’ जस्ता फिल्महरू लेखन तथा निर्देशन गरिन् ।यसबाहेक उनले विभिन्न टेलिभिजनमा टेलिसिरियलहरूको निर्देशन पनि गरेकी छिन् ।पत्रकारिता, सिनेमा लेखन तथा निर्देशनमा सक्रिय श्रेष्ठसँग अमि प्रिन्स र शालिक भट्ट गरेको संवाद : सिनेमामा महिलाको उपस्थितिदेखि उनीहरूलाई चित्रण गर्ने जस्ता पक्षमा हिजो र आज के फरक पाउनुहुन्छ ? समय अनुसार सबै कुरा परिवर्तन भइहाल्छ । चलचित्रको क्षेत्रको कुरा गर्ने हो भने नेपालमा मात्रै नभएर विश्वकै कला क्षेत्रमा पनि हिजो र आजमा धेरै परिवर्तन भएको छ । महिला पात्रको चित्रणको कुरा गर्ने हो भने हिजो घरेलु हिंसाको फिल्महरू बनाइन्थ्यो । महिलालाई हिंसा भएको, घरबाट निस्किन नदिइएका जस्ता विषयवस्तुमा सिनेमा बनाइन्थ्यो । महिलाले बढी पीडा खप्नुपरेको, शारीरिक यातना दिइएका जस्ता दृश्य सिनेमामा देखाइन्थ्यो । महिला करुणाको धनी हुन्, उनीहरू रुनुपर्छ भन्ने धारणा थियो । महिला पात्रलाई बढी भावुक दृश्यमा उतारेर रुवाएर बनाइएका चलचित्रलाई नारीप्रधान चलचित्रको नाम दिइन्थ्यो । तर, मेरो विचारमा हिजो बनेका यस्ता चलचित्रहरू महिलाप्रधान नभएर हिंसाप्रधान चलचित्रहरू हुन्। बल्ल अहिले आएर महिलाप्रधान चलचित्र बन्न थालेका छन् । अब हिंसा गर्नुहुँदैन्, महिलाले हिंसा भोग्नुहुँदैन भन्ने कुरालाई दृश्यमा देखाउन थालिएको छ । पात्रदेखि संवादसम्ममा यी कुराहरूलाई महत्वपूर्ण स्थान दिइएको छ । हिजो चित्रण गरिने महिला पात्र र सिनेमाको कथा तथा अहिलेको महिला पात्रको चित्रण र कथामै फरक देखिएको छ । हिजोको चलचित्र बलिउड र हलिउडको नक्कल गरेर बनाइन्थ्यो । आज हाम्रा सिनेमामा आफ्नै कथाहरू, हाम्रै गाउँघरका भोगाइहरू देखाउन थालिएको छ । यसले पनि सिनेमामा महिलाले खेल्ने भूमिकादेखि महिलाको चित्रणमा पनि केही सुधार गर्न मद्दत गरेको छ । हिजो ‘सीमारेखा’, ‘माइतीघर’ जस्ता सिनेमाहरू बन्दा महिलाको भूमिका र उपस्थितिसँगै सिनेमाको मुलकथामा उनीहरूको महत्व पनि उत्तिकै थियो । तर अहिले बनिरहेका सिनेमाहरूमा महिलाको भूमिका एक प्रकारको फिलरको रूपमा मात्रै प्रयोग गरिएको देखिन्छ नि, होइन् र ! त्यो मैले पनि महसुस गरेको छु ।नेपालमा मात्रै होइन्, विश्वबजारमा नै महिलाको उमेरमा आधारित भएर उसलाई दिने भूमिका निर्धारण गरिन्छ । त्यही महिला हिजो पुरुष पात्रसँग सहयात्री भएर खेलिरहेको फिल्ममा आज उसैको आमा भएर पनि खेल्नुपर्ने अवस्था छ । १० वर्षअघि त्यही पुरुष पात्रको सहयात्री बनेकी महिलाले १० वर्षपछि उसको आमाको भूमिका मात्रै पाउँछिन् । महिलालाई सिनेमामा अभियन गर्दा हाम्रोमा मात्रै नभएर विश्वका धेरै ठाउँमा यस्तो भइरहेको छ ।हिजोको दिनमा ‘आमा’ जस्तो नारीप्रधान नाममा पनि पुरुषप्रधान चलचित्र बनिरहेको थियो ।महाभारतमा कृष्णले अर्जुनलाई बताएको कुराको आधारमा फिल्म बनिरहेको थियो । ‘जहाँ जहाँ अफ्ठ्यारो पर्छ, त्यो ठाउँमा कुनै पनि रूपमा म प्रकट हुन्छु’ भनेर कृष्णले अर्जुनलाई भनेजस्तै पुरुष पात्र जुन अवस्थामा पनि जुन ठाउँमा पनि पुग्ने भाष्यसहित नेपाली सिनेमा निर्माण भएको देखिन्छ । महिलालाई बलात्कार हुँदा, दुःख पर्दादेखि ग्यांग फाइटसम्म सबैतिर पुरुष नै पुग्ने भाष्य नेपाली सिनेमामा प्रस्तुत गरिन्थ्यो । तर, आजको दिनमा यो केही मात्रामा फरक भएजस्तो लाग्छ । हिजो महिलालाई स्थान दिइन्थ्यो । आज केही मात्रामा फिलरको रूपमा प्रयोग गरेको पनि देखिन्छ । अहिले सिनेमाले केही मात्रामा त्यो सुधार भएको छ । यदाकदा थोरै मात्रामा भए पनि महिलाप्रधान भएर खेलिएका चलचित्रहरू सफल पनि छन् । त्योबाहेक महिला पात्रलाई फिलरको रूपमा प्रयोग गरिनुको कारणमा हाम्रा सिनेमा कसले लेखिरहेको छ भन्नेले पनि भूमिका खेलिरहेको छ । प्रायः सिनेमा लेख्नेहरू पुरुष छन् । म आफू महिला भएकाले पुरुषको भोगाइ राम्रोसँग लेख्न सक्दिनँ । महिलाका कतिपय कुराहरू त्यस्तै हुन्छन्, जुन चाहेर पनि पुरुषले लेख्न सक्दैनन् । पुरुषले लेख्दा महिलाको भोगाइलाई राम्रोसँग चित्रण गर्न सकिएको हुँदैन् । यसले पनि महिला पात्रलाई अहिले पनि सिनेमामा कुन रूपमा चित्रण गरिएको छ भन्ने कुरामा फरक पार्छ । सहयात्रा गर्दा सहयात्रीको रूपमा छैन्, रथको दुई पांग्रा सँगसँगै हिँडेजस्तो हाम्रा सिनेमामा महिला र पुरुष पात्रलाई उत्तिकै महत्व र जिम्मेवारीका साथ चित्रण गरिएको छैन् । https://youtu.be/vo1oEQ7P5yM नेपालमा महिलालाई मुख्य पात्र बनाएर निकै कम सिनेमा बनाइन्छ । बनेका कतिपय सिनेमाहरू पनि फ्लोरमा जाँदा राम्रोसँग व्यापार गर्न सकेका छैनन् । केन्द्रमा महिला पात्रलाई लिँदा सिनेमा नचल्ला भन्ने निर्देशकलाई डर भएको हो कि वा दर्शकले महिलालाई केन्द्र पात्रको रूपमा हेर्न नचाहेका हुन् ? महिलालाई केन्द्रमा राखेर बनाएका सिनेमाहरू चल्नुको कारण त्यहाँ निर्देशन तथा लेखनमा रहेका पुरुषहरूले महिला पात्रलाई राम्रोसँग चित्रण गर्न नसकेका कारण हो । पुरुषहरूले महिलालाई आफ्नो सिनेमामा उभ्याएपछि उसलाई महिलाकै रूपमा हेरेर त्यही रूपमा चित्रण गर्छन् । तर, पात्रलाई उभ्याएपछि उसलाई महिलाको रूपमा हेर्न हुँदैन् । उसलाई केवल पात्रको रूपमा हेर्न आवश्यक छ । उसको अभिनय र क्षमतालाई हेर्न आवश्यक छ । उसको लिंग हेरेर अभिनयमा कुन रूपमा उतार्ने भन्ने कुरामा केन्द्रित नभएर उसलाई पात्रको रूपमा हेरेर उसले सिनेमालाई बोकिरहेको महसुस गर्न आवश्यक छ । त्यहाँ पात्र महत्वपूर्ण हुन्छ, लिंग होइन । पुरुष निर्देशक हुँदा महिलालाई मुख्य पात्रको रूपमा लिँदा उसलाई अभिनय गराउन नसकेको हो कि वा लेखनमा नै महिलाको भावनालाई राम्रोसँग महसुस गरेर लेख्न नसकेको हो कि ? यी कुराहरूले पनि फरक पारिरहेका हुन्छन् । कलाकारले पनि कतिपय कुरा गर्न खोज्दाखोज्दै पनि निर्देशकको आँखाबाट सिनेमा बनिरहेको हुन्छ । सिनेमा भनेको ‘क्याप्टेन अफ द सिप’को आधारमा चल्ने हो । निर्देशकको आँखाबाट धेरै कुरा देखाइएका हुन्छन् । जसकारण अभिनय गर्ने कुरामा कलाकारभन्दा पनि निर्देशक नै हाबी भइरहेको हुन्छ । दर्शकले महिला पात्रलाई केन्द्रमा नरुचाएको भन्न मिल्दैन् । किनकि, रेखा थापा हाम्रै अघि छिन्, जो सफल भएकी छन् । झरना थापा सफल भएकी छन् । अन्य देशको तुलनामा नेपालमा महिलाप्रधान चलचित्र सफल भएका हुन् । महिला केन्द्रमा रहेका सिनेमाहरू सफल भएका हुन् । धेरैजसो सिनेमाहरूमा मुख्य पात्र महिला भए पनि निर्देशकदेखि लेखक तथा अन्य पाटाहरू पुरुष हुँदा महिलाको भावना र उसको क्षमतालाई राम्रोसँग उतार्न नसकेकाले तिनीहरू व्यापारिक हिसाबमा असफल भएका हुन् । यसले गर्दा निर्देशकहरूले पनि महिलालाई केन्द्र पात्रको रूपमा लिँदा कतिको न्यायपूर्ण अभिनय गराउन सक्छु, आफ्नो आँखाबाट कत्तिको न्याय गर्ने प्रस्तुति गराउन सक्छु भन्ने कुरामा विश्वस्त नभएका कारण महिलाप्रधान र महिला मुख्य भूमिकामा रहेका सिनेमाहरू कम बनेका हुन् । दर्शकको कुरा गर्दा त दर्शकले सिनेमा हेर्ने हुन्, अभिनय गर्दाको अवस्था हेर्ने होइनन् । दर्शकले रुचाउँछन् । तर, प्रस्तुति हुनुपर्छ । उसको अभिनयलाई निर्देशकले निखारेर प्रस्तुत गर्न सक्नुपर्छ । त्योबाहेक अभिनय गर्ने पात्रले पनि दर्शकलाई तान्न सक्ने अभिनय गर्नसक्नुहुन्छ । दर्शकले पात्रको अभिनय नै मन पराएनन् भने त्यसमा निर्देशकको मात्रै नभएर स्वयः अभिनय गर्ने कलाकारको पनि जिम्मेवारी हुन्छ । सिनेमामा पुरुषको तुलनामा महिलालाई शारीरिक रूपमा बढी नै चित्रण गरिन्छ । लिंगकै आधारमा उनीहरूको वर्णन गरिएको हुन्छ । यसलाई कसरी लिनुहुन्छ ? महिलालाई सजिसजाउ कुरा हो, श्रृंगारका वस्तु हुन् । तर, सबै जना अप्सरा होइनन् ।मैले पत्रकारिता गर्दा पनि यो विषयमा निरन्तर लेखेको थिएँ । कलाकारिता ‘ग्ल्यामर’को क्षेत्र हो । यसमा ग्ल्यामर हुन्छ । तर ग्ल्यामरस हुनको लागि छोटो लुगा लगाउनुपर्छ भनेर कतै लेखिएको छैन्। मैले आफ्नो सिनेमामा सुन्दरतालाई शरीर देखाएर वर्णन गर्नुपर्छ भन्ने भाष्यबाट टाढा रहेर सिनेमा बनाएको थिएँ । मेरो ‘प्रेमयुद्ध’ सिनेमा बनाउँदा एक अभिनेत्रीले छोटो कपडा लगाउँदा मैले यही कुरा भनेको थिएँ । उहाँले मलाई ‘म मोर्डन हिरोइन हो, यत्ति त देखाउनै पर्छ’ भनेकी थिइन् । अर्को एउटा सिनेमामा मेरै विद्यार्थीले अभिनय गरेकी थिइन् । उनको अभिनयको कुराले त्यो बेला निकै चर्चा कमाएको थियो, निकै भाइरल भएको थियो । ग्ल्यामरको नाममा उनले पनि अभिनयमा आफ्नो शरीरलाई प्रस्तुत गरेकी थिइन् । उनलाई मैले ‘जानेर दिएको हो भने मेरो भन्नु केही छैन् । तर, निर्देशकले तिमीलाई यो रूपमा उतारेको हो भने म तिम्रो बारेमा लड्छु’ भन्दा उनले ‘मैले निर्देशकले जे भन्यो त्यही गरेँ’ भनेकी थिइन् । त्यो बेला उनको चर्चा निकै भएको थियो । तर उनको शरीरका कारण फिल्मले चर्चा कमायो । उनको अभिनयले होइन् । पछि उनी नराम्रोसँग पछारिन् । अहिले हाम्रो संस्कारदेखि सिनेमासम्मले पाश्चात्य शैलीको अनुशरण गरेको छ । हामीले हाम्रो पहिचान, हाम्रो संस्कृति भुलेका छौं । हाम्रो संस्कारबाटै सौन्दर्य देखाउन सकिन्छ । विभिन्न जातजातिका भेषभुषामा हिँडेका महिलाहरू पनि सुन्दर देखिन्छन् । त्यहाँ शरीर देखाउनु पर्दैन् । पुरुष हिमालमा कोट लगाएर जान्छ । महिला कलाकारलाई त्यहाँ पनि छोटो कपडा लगाएर प्रस्तुत गरिन्छ । महिलालाई आफ्नो शरीर देखाएर जुन चर्चा कमाउने विषय छ, यसमा निर्देशक र निर्माण पक्षसँगै स्वयं कलाकारको पनि भूमिका हुन्छ । आफ्नो शरीरमा आफ्नो अधिकार एकदमै आवश्यक हो । महिला कलाकारले ‘म आफ्नो शरीरमा यति यति कपडा लगाउँछु, यति शरीर देखाउँछु’ भन्न सक्नुपर्छ । किनकि, त्यो उनको शरीर हो, निर्देशक वा निर्माताको शरीर होइन । आफ्नो अधिकारबारे नबोल्दा त शारीरिक रूपमा वर्णन गरेर प्रयोग गर्ने कुरा यथावत् नै रहन्छ ।इतिहास केलाउँदा एक समय महिलाको उपस्थितिलाई नै हेयभावले हेर्नेदेखि महिलालाई यौनिक रूपमा चित्रण गर्ने, पोष्टरमा कामुकताको प्रदर्शन गरेर सिनेमाको प्रचार गर्ने, चलचित्रको चर्चाकै लागि आइटम डान्स राख्नेसम्मका काम नेपाली सिनेमामा भएका छन् । अभिनयको आधारमा महिलालाई लिनुपर्ने ठाउँमा यौनिकताकै आधारमा लिएर चलचित्र निर्माण भएको छ । यौनिकताभन्दा माथि उठेर नेपाली चलचित्रको निर्माण नभएकै हो त ? यौनिकता भन्ने कुरा कसलाई मन पर्छ भन्ने कुरा हो । मैले अघि नाम लिएको सिनेमा ‘एटीएम’ भन्ने सिनेमा हो । सायद, त्यो बेला ती अभिनेत्रीले फिल्ममा आफूलाई प्रस्तुत गर्दा ‘समाजले यो मन पराउँछ, राति–राति लुकीलुकी यही कुरा हेर्छ, उनीहरूले यही मन पराउँछ’ भन्ने सोचेर अभिनय गर्नुभएको थियो होला । तर आफैं सोच्नुस न, सधैं यौनिक चलचित्र नै हेर्ने व्यक्तिले पनि यस्ता सिनेमा कहाँ हेर्ने ? ट्वाइलेटमा ? यदि मूलधारको सिनेमा बनाइएको हो भने त्यसलाई परिवारसँग बसेर होस् वा हलमा बसेर होस्, हेर्न सकिने बनाउनु पर्छ । सिनेमा भनेको समाजको दपर्ण हो । समाज रूपान्तरण गर्ने एउटा माध्यम हो । कसैको छोराले सुर्ती खान्छ र आमाबुबाले नखा भन्छन् भने त्यसको असर उसलाई पर्दैन् । तर, कुनै कलाकारले सुर्ती खानु हुँदैन् भन्यो भने त्यो छोराले आफ्नो बानीबारे सोच्छ । यौनिकताको विषयमा पनि यही कुरा लागू हुन्छ । हामीले कति दिन महिलाको शरीर देखाएर आफ्नो सिनेमामा दर्शक तान्न खोज्ने ? त्योबाहेक महिलालाई सरसामानको रूपमा कतिदिन प्रस्तुत गर्ने ? सामाजिक रूपमा त्यसै पनि कम अधिकार पाएका महिलाहरूलाई सिनेमामा पनि यस्तो व्यवहार गरिँदा समाजमा कस्तो असर पर्छ भन्ने कुरा हाम्रा सिनेकर्मीले नबुझेकैले यो दोहोरिरहेको जस्तो लाग्छ । केही मात्रामा महिलालाई यौनिकतामै प्रस्तुत गर्ने क्रम घटेको छ । तर, अझै पनि त्यो प्रवृत्ति पूर्ण रूपमा हटेको छ भन्ने होइन् । अहिलेको उपस्थिति हेर्दा प्राविधिकदेखि निर्देशकीय पक्षसम्म महिलाहरू देखिएका छन् । तपाईंसँगै करिब दुई दर्जन महिला निर्देशक सक्रिय छन् नेपाली सिने क्षेत्रमा । प्राविधिकदेखि अन्य पाटोमा पनि महिलाको उपस्थिति उल्लेख्य छ । सिनेमाका यी पाटोमा महिलाको उपस्थिति देखिएजस्तै चलचित्रको कथामा महिलाको उपस्थिति यही मात्रामा आएको छैन नि ? हिजोभन्दा आज महिलाको कथा आएको छ । तर, पर्याप्त रूपमा छैन । आज पनि नेपाली फिल्ममा बढीभन्दा बढी लेखक पुरुष नै छन् । पुरुषले नै सिनेमा लेखिरहेका छन् । यसले गर्दा पनि महिलाको कथा राम्रोसँग आउन नसकेको हो । हामीसँग भएका कथा एउटै हुन् । मात्र प्रस्तुति फरक हो । तर, प्रस्तुतिको कुरामा महिलाको उपस्थितिलाई हेर्ने हो भने केही अभावचाहिँ खड्किएको छ । जति मात्रामा महिला संख्या यो क्षेत्रमा देखिएको छ, त्यति मात्रामा सिनेमामा यी कथाहरू नआएका हुन् । यसको कारण अघि नै भनेजस्तै लेखनकै कुरा हो । पुरुष मस्तिष्क र पुरुष मनोविज्ञानले लेखिएका फिल्महरूमा महिलाका कथा नआएका हुन् । नेपालको बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्मकै कुरा गर्दा त्यसमा पनि कमजोरी छ । महिलाले नै निर्देशन गरेको सिनेमामा पनि यो कमजोरी देखिन्छ । तर, यसको कारण उनी १२/१२ जना पुरुषको बीचमा आफ्नो काम गरिरहेकी हुन्छिन् । पुरुष नै पुरुषले घेरिएको अवस्थामा उनको सोच पनि आफ्नो वातावरणले दिशानिर्देश गरिरहेको हुन्छ ।यही कारण महिला निर्देशक भएकै सिनेमामा पनि महिलाको कथाको अपव्याख्या वा महिलाको उपस्थिति राम्रोसँग नदेखिएको हो । गत वर्ष नेपाली कला क्षेत्रमा दुव्र्यवहार भएको घटना बाहिरियो । तपाईं, पहिलो महिला निर्देशक भएर हेर्दा के यो क्षेत्र त्यस्तो असुरक्षित छ ? एउटा कलाकार हुन कुनै पनि महिला १८ वर्षभन्दा माथि नागरिकता बनाएर आउँछे । यसरी आएकी महिलाले आफू असुरक्षित भए भन्न मिल्छ ? हामीले सुरक्षा खोज्दै हिँड्ने होइन्, बोल्ड भएर काम गर्ने हो । कलाकारिता क्षेत्रमा दुव्र्यहार हुन्छ भन्ने कुरा पहिल्यैबाट सुन्दै–पढ्दै आएका छौं । यो क्षेत्रमा आएकाले त अब यसलाई हटाउनु पर्छ भनेर आउने हो । कुनै कुरामा दुव्र्यवहार जस्तो लाग्छ, बोलीले नराम्रो लाग्न सक्छ, कसैको बानी केटीलाई छोइरहने हुनसक्छ । कुनै महिला कलाकारले यो क्षेत्रमा प्रवेश गर्दा यी र यस्ता कुरामा आफू बोल्न सक्छु भन्ने महसुस नगरी कसरी आउने ? कलाकारितामा आउनेले आफैंलाई विश्वास गरेर आउनुपर्ने हुन्छ । भोलि सुटिङ्गमा कता जानुपर्ला, कतै बस्नु पर्ला, त्यो बेला के गर्ने ? असुरक्षित छु भनेर त हुँदैन् । यदि नसक्ने हो भने यो क्षेत्र छाड्नुपर्छ । तर, यो क्षेत्रमा काम गर्ने हो भने कसैले गरेको व्यवहारको तत्काल प्रतिकार गर्न र आफूमा विश्वास गर्न अति आवश्यक छ । कति कलाकारहरूले गत वर्षको घट्नामा बोल्दै बोलेनन् । पुरुषको त बोली नै सुनिएन । कतिपयले बोलेमा भोलि काम नपाइएला भनेर पनि नबोलेका हुनसक्छन् । यस्ता घट्नाको विषयमा आफैंले कुरा गर्नुपर्ने हुन्छ । दुव्र्यवहार गर्नेलाई प्रश्न गर्नुपर्ने हुन्छ । बाहिर आएर बोलेरभन्दा पनि जसले आफूलाई त्यस्तो व्यवहार गरेको छ, उसको प्रतिकार गर्नुपर्छ । अहिले कानुन पनि बलियो छ । कला क्षेत्रमै कसैले कसैलाई केही भनेमा वा केही गरेमा कानुनको सहारा लिन पनि सहज छ । त्यसैले अहिलेको कला क्षेत्रलाई असुरक्षित भन्न मिल्दैन । तपाईंले सन् २००५ मा आफ्नो पहिलो फिचर फिल्म ‘प्रेमयुद्ध’ निर्देशन गर्नुभयो । त्यसको सात वर्षपछि मात्रै सन् २००७ मा ‘खै को कसको’ र सन् २०१७ मा आएर ‘फिक्का’ निर्देशन गर्नुभयो । तपाईंजस्तै अन्य महिला निर्देशकको कामलाई हेर्ने हो भने पहिलोपछि दोस्रो कामबीचमा निकै ग्याप भएको देखिन्छ । सिनेमा बनाउने कुरामा उनीहरूले लामो समयमा कम सिनेमा बनाइरहेका छन् । यसमा पनि आफ्नै प्रोडक्सन हाउस हुने महिला निर्देशकहरूले सिनेमा निर्देशन गरिरहेका छन् । जबकि एउटा पुरुष निर्देशकले दुई दुई वर्षको अन्तरमा सिनेमा ल्याइरहेको हुन्छ । निर्देशनमा पुरुषकै अनुपातमा महिला निर्देशकहरूको सिनेमा किन बन्न नसकेको हो ? मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने यी फिल्महरूबीचको समयमा मैले केही टेलिसिरियल र अन्य कामहरू गरेको छु । म आफू कसैसँग पनि काम माग्न जाँदिनँ । मसम्म आइपुगेका निर्माताहरूमा कसैको कुरा मन पर्दैन, कसैको बजेटमा चित्त बुझ्दैन । म आफू फिल्म बनाउनु अघि आफू माथि जान कसैलाई तल झार्न चाहन्नँ । भोलि कुनै निर्मातालाई सपना देखाएर यो क्षेत्रमा ल्याउँला । तर, यहाँको बजार त तपाईंलाई थाहै छ । यो बजारमा निर्माताको हविगत के हुन्छ भन्न सकिँदैन् । त्यसैले पनि अरुलाई गाह्रो हुने गरी म काम गर्दिनँ । आफूसँग जुन दिन पैसा हुन्छ, त्यो दिन काम गर्छु । तपाईंले भनेजस्तै आफ्नै प्रोडक्सन हाउस भएका महिला निर्देशकहरूले मात्रै दुई÷तीन वर्षको अन्तरमा फिल्म बनाइरहेका छन् । समग्र महिला निर्देशनको कुरा गर्ने हो भने कुनै प्रोडक्सन हाउसमा कुनै काम नगरेको पुरुष गएर निर्देशन गर्छु भन्दा विश्वास पाउँछन्, तर महिलाले पाउँदैनन् । एक त महिलाहरू त्यहाँसम्म पुग्दै पुग्दैनन् । पुगेमा पनि प्रोडक्सन हाउसले उनीहरूलाई विभिन्न प्रश्नमा अल्झाउँछन् । फेरि महिला यो क्षेत्रमा लागे पनि बिहानको तातो पानी र बेलुकाको चिसो पानी दिन घरमा हुनैपर्छ । हाम्रो सामाजिक अवस्थाले महिलालाई आर्थिक अधिकार दिएको छैन्, जसले उनीहरूको उत्थानको लागि टेवा पु-याओस् । जबसम्म महिलाको नाममा उसको जन्म भएको घरबाटै सम्पत्तिको अधिकार दिइँदैन, उसमा आत्मविश्वासको पनि कमी भइरहन्छ । यही कुरा सिनेमा क्षेत्रमा पनि लागू हुने हो । जब कुनै महिलासँग कुनै सम्पत्तिको अधिकार छैन, उसले के आधारमा फिल्म बनाओस् ? सम्पत्तिको अधिकार हुने हो भने निर्माता नै चाँहिदैन । आफ्नो कथा राम्रो छ, आफ्नो क्षमता छ भने उसले आफ्नै खर्चमा पनि सिनेमा बनाउन सक्छ ।तर, यहाँ सुरुवात नै गलत भएको छ । महिलालाई सम्पत्तिको अधिकार छैन् । परिवारबाटै पुरुष वा छोराको निम्ति यो अधिकार छ, उसले भविष्यमा पनि आफूलाई प्रस्तुत गर्न सकेको छ । तर, छोरीलाई सम्पत्तिको अधिकार छैन् । त्यसकारण छोरीहरू आफूमा क्षमता भए पनि लुकाउन बाध्य छन् ।