NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

फेरिदैं महिला हिंसाको स्वरुप

हिजो महिलालाई होच्याउन मजाकको पात्र बनाउने चलन जस्तै अहिले महिलालाई कमजोर देखाउन शरिर र यौनिकतामाथि प्रहार गर्ने प्रवृत्तिको विकास भइरहेको देखिन्छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–माधव नेपाल समूहले प्रदर्शन ग¥यो । उक्त समूहले काठमाडौंमा गरेको एक प्रदर्शनमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आपत्तिजनक शब्दहरूको प्रयोग गर्दै नारा लगाइएको थियो । व्यक्तिगत रुपमै लक्षित गरेर राष्ट्रपति भण्डारीविरुद्ध लाञ्छित गरिएको थियो । १६ माघमा गोरखामा आयोजित एक कार्यक्रममा सोही प्रकृत्तिको घटना भयो । प्रचण्ड–माधव नेपाल समूहकै नेतृ रामकुमारी झाँत्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि व्यक्तिगत आरोप लगाउँदै टिप्पणी गरिन् । नेतृ झाँक्रीले तत्कालिन एमालेले २०५० सालमा भण्डारीलाई चुनाव लडाउनु भूल भएको बताउँदै भनिन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु– शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ !’ झाँक्रीले पनि व्यक्तिगत तहमा ओर्लेर भण्डारीविरुद्ध आक्षेप लगाएकी थिइन । उनले अर्को कार्यक्रममा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको ‘प्यादा’ भएको आरोप लगाइन । राष्ट्रपति भण्डारीजस्तै राजनीतिमा लागेकी कलाकार कोमल वलीले पनि पछिल्लो समय यस्तै टिप्पणी सुन्नुपर्यो । प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले वलीप्रति व्यक्तिगत लाञ्छना लगाउँदै एक भेलामा टिप्पणी गरे । लामो संघर्ष गरेका महिलाले राजनीतिमा ठाउँ नपाएको भन्ने तर्क गरिरहेका पन्तले भने, ‘महिलाहरू अहिले केपीतिर लागेका छन् । २० औं वर्ष विवाह नै नगरी यो पार्टीमा बसेका महिलाहरू छन् । तर, उनीहरूले टिकट पाएनन् । तिनले राष्ट्रियसभा पाएनन्, वलीले सारी सर्काएर, गोरा पिँडुला देखाएको भरमा सांसद् पाइन् ।’राजनीतिक प्रसंगमा पन्तले गरेको टिप्पणीले वलीको नैतिकतामाथि प्रहार गरेको थियो । उक्त प्रसंगबारे सोध्दा कोमल वली भन्छिन्, ‘महिलालाई दोस्रो दर्जाका रुपमा हेरिने प्रवृत्ति सबैतिर कायम छ ।’ केही समयदेखि वेवारिसे लास जलाएर चर्चा पाएका विनय जंग बस्नेतले बिबिसीको प्रतिभाशाली एक सय महिलाको सुचीमा परेकी सपना रोका मगरलाई ‘नांगो फोटो र भिडियो सार्वजनिक गरिदिने’ भन्दै एक युट्युब च्यानलमार्फत धम्की दिए । केही समयअघिसम्म आफूले छोरी भन्दै सम्बोधन गरिरहेका विनयले धम्की दिदैं एक अन्तर्वार्तामा भनेका छन्, ‘पेन ड्राइभमा नांगो फोटो÷भिडियो छ । हालिदिउँ ?’ त्यस्तै, नागरिक आन्दोलनतर्फबाट ३० माघमा आयोजना भएको महिला मार्चमा सहभागी भएका महिलाहरुलाई सामाजिक सञ्जालमा विभिन्न आरोप र लाञ्छना लगाइयो । नागरिक आन्दोलनमा कविता वाचन गरेकी कवि सपना सञ्जिवनीलाई सामाजिक सञ्जालमा ‘बलात्कार गर्ने’ सम्मका धम्कीहरू आए । सामाजिक ख्याती कमाएकादेखि नीति निर्माता सांसद् अनि राज्यको सर्वोच्च पद राष्ट्रपतिसम्मले महिला भएकै आधारमा लाञ्छना खेप्नुपरेका दृष्टान्त हुन् यी घटना । प्रतिष्ठित र उच्च ओहोदामा रहेका महिलाले त यस्ता नकारात्मक टिप्पणी र लाञ्छना खेप्नुपर्ने विडम्वनापूर्ण स्थितिले समाजका तल्ला तह र वर्गका महिलाको कस्तो हविगत होला भन्ने आकलन गर्न मुस्किल छैन । उच्च ओहोदामा आसिन र प्रतिष्ठित व्यक्तिमाथि आम मानिसको चासो हुने भएकाले उनीहरूमाथिको टिप्पणी र विषय बाहिर छरपश्टिएका हुन् । आम साधरण महिलामाथिका घटनामाथि त न कसैको उतिसाह्रो चासो हुन्छ, न उनीहरू आफूमाथिका हिंसालाई प्रतिकार गरेर बाहिर ल्याउने शाहस नै गर्छन् । भारतीय पत्रकार दिव्या आर्या बिबिसीमा लेखेको एक अनुसन्धानात्मक लेखमा भनेकी छिन् – भारतमा सरकारको विरुद्धमा मात्रै नभएर महिलाले कुनै घट्नाप्रति आपत्ति जनाएर बोलेमात्र पनि उनीहरूमाथि ‘बलात्कार गर्ने’, ‘मार्ने’ सम्मका धम्कीहरु आउँछन् । महिलाको तस्विर सामाजिक सञ्जालमा राखेर लाञ्छना लगाउने घटना सबैभन्दा बढी रहेको उनी उल्लेख गर्छिन् । राज्यको नेतृत्व तहमा रहेका नेतादेखि सामान्य मानिससम्म दुव्र्यवहार र हिंसाजन्य घटना हुनु र यो प्रवृत्तिकै रुपमा देखा पर्नु पितृसतात्मक सोचकै उपज देखिन्छ । हिजो महिलालाई होच्याउन मजाकको पात्र बनाउने चलन जस्तै अहिले महिलालाई कमजोर देखाउन शरिर र यौनिकमाथि प्रहार गर्ने प्रवृत्तिको विकास भइरहेको देखिन्छ । अभियन्ता रिता साह परिवारदेखि समाजसम्म पितृसतात्मक सोच हावी भएकाले त्यही समाजबाट आउने नेतामा यस्तो प्रवृत्ति देखिने र त्यो महिलामाथि हिंसाको रुपमा प्रस्तुत हुने बताउँछिन् । उनी भन्छिन्, ‘समाजमा महिला र पुरुषबीचको विभेदको अन्त्य नभएसम्म यस्ता किसिमका प्रवृत्ति मौलाउन छाड्दैनन् ।’ बदलिँदो हिंसाको स्वरुप: कमजोर देखाउन चरित्रमाथि प्रश्न नेपाली समाजमा महिलालाई त्यसै पनि दोस्रो दर्जाको मानिने नेतृ तथा गायिका कोमल वली बताउँछिन् । लामो समयसम्म कलाकारिता क्षेत्रमा सक्रिय रहेकी उनी भन्छिन्, ‘कलाकारिता क्षेत्रमा त महिलालाई दोस्रो दर्जाका रुपमा हेर्नु सामान्यजस्तै छ, सामाजिक रुपमा आम महिलाको अवस्था के छ यो त हामी कल्पनामात्रै गर्न सक्छौं ।’ हिजो शारीरिक रुपमै हुने महिला हिंसाको स्वरुप बदलिएर अहिले बोली, लेखन वा सामाजिक सञ्जालको माध्यमबाट प्रकट भइरहेको उनी बताउँछिन् । अनुसन्धाता तथा लेखक कैलाश राई पनि यस्तै विचार व्यक्त गर्छिन् । अहिले महिला हिंसाको स्वरुप बदलिएर झन् जोखिमयुक्त अवस्था सिर्जना भएको उनी बताउँछिन् । राई भन्छिन्, ‘देख्दा सामान्य लागेपनि यो झनै खराब प्रकृतिको हिंसा हो । जुन प्रष्ट देखिदैंन, तर हिंसा भइरहेको हुन्छ ।’ नेपाली कानुनमा सामाजिक सञ्जालमार्फत् भइरहेको हिंसालाई कानुनले पनि पूर्ण रुपमा समेट्न नसकेको राईको भनाइ छ । साइबर अपराधले पनि महिला हिंसाका कैयौं आयामहरूलाई छाडेको उनको तर्क छ । भौतिक रुपमा हुने वा देखिने हिंसालाई कारवाहीको दायरामा ल्याउन जति सजिलो इन्टरनेट माध्यमबाट हुने हिंसालाई नभएको उनको बुझाइ छ । ‘भौतिक रुपमा देखिने हिंसालाई कारवाहीको दायरामा ल्याउन सकिन्छ,’ राई भन्छिन्, ‘तर, इन्टरनेट र बोलीमार्फत भइरहेको हिंसामा प्रमाण जुटाउन पनि गाह्रो छ । स्वरुप बदलिएका यस्ता हिंसाले महिलालाई ठूलो मानसिक समस्या निम्त्याउन सक्छ ।’ हिजोको तुलनामा बदलिएको महिला हिंसाको स्वरुप महिलाको चरित्रमाथि प्रश्न गरेर उसलाई कमजोर बनाउने प्रवृत्तिको रुपमा देखिएको छ । सञ्चारीक समूहकी पूर्व अध्यक्षसमेत रहेकी लेखक तथा अभियन्ता निर्मला शर्मा महिलाको चरित्रमाथि प्रश्न उठाएमा उनीहरुलाई सजिलै कमजोर देखाउन सकिने सामाजिक अवस्था भएकाले यस्तो प्रकृतिमा हिंसा मौलाइरहेको बताउँछिन् । राष्ट्रपति भण्डारीदेखि वेवारिसे लाश जलाउने सपना रोका मगर, सबैलाई कमजोर देखाउन उनीहरूको चरित्रमाथि प्रश्न उठाउन खोजिएको शर्माको भनाइ छ । अनुसन्धाता राईको बुझाइमा चरित्रमाथि प्रश्न उठाएमा महिलाहरूलाई सजिलै ‘पाखा लगाउन सकिन्छ’ भन्ने मानसिकता समाजमा हावी छ । महिलाको चरिचत्रमाथि प्रश्न गरेमा उनीहरूले प्रतिरोध गर्न सक्दैनन् भन्ने मानसिकता समाजमा रहेका कारण यस्ता घट्नाहरु भइरहेको उनको बुझाइ छ । पदअनुसार हिंसाविरुद्ध आवाज महिलामाथि हुने हिंसाका अनेकौं स्वरुप छन् । यो हिंसा तल्ला र आम तहमा झनै भयानक छ । हिंसाविरुद्ध उपल्लो तह र वर्गमा जसरी संगठित प्रतिकार हुन्छ, तल्ला र आम तहमा सोही मात्रामा हुँदैन । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नेतृ रामकुमारी झाँक्रीले लाञ्छना लगाउँदा उठ्ने आवाज सामान्य महिलामाथि इन्टरनेट वा बोलीको माध्यमबाट भएको हिंसामा भने सुन्न पाइदैंन् । राष्ट्रपतिमाथि हिंसा हुँदा एकै ढिक्का भएको समाज आम महिलामाथि हिंसा हुँदा चुप लाग्ने प्रवृत्तिको पनि विकास भइरहेको मानव अधिकारकर्मी मोहना अन्सारी बताउँछिन् । समयक्रमअनुसार महिलाको स्तरमा अभिवृद्धि हुँदै आए पनि उनीहरूमाथि लाग्ने व्यक्तिगत आक्षेप र लाञ्छना भने झन बढी भएको अन्सारीको बुझाइ छ । यसमा पनि पद हाबी हुनु झन् दुःखद भएको उनी बताउँछिन् ।‘राष्ट्रपतिलाई लाञ्छना गर्दा जति चित्त दुख्छ आम महिलामाथि हिंसा हुँदा कम चित्त दुख्ने हुनुभएन,’ अन्सारी भन्छिन् । महिलामाथि मात्रै प्रश्नमहिलामाथि पुरुषबाट हुने दुव्र्यवहार र हिंसामा उल्टो महिलामाथि नै प्रश्न उठाउने प्रवृत्ति समाजमा विद्यमान छ । सामाजमा कुनै पनि घट्नामा महिला र पुरुषको भूमिका उत्तिकै हुँदा पनि महिलालाई मात्रै प्रश्न गरिएको अन्सारीको गुनासो छ । उनी भन्छिन्, ‘एउटै विषयमा महिलामाथि प्रश्न गरिन्छ । तर त्यहाँ पुरुषलाई भने कसैले पनि प्रश्न उठाउँदैनन् । समाजमा यी घटनामा पुरुष र महिलाको भूमिका सँगसँगै गइरहेको हुन्छ, तर पुरुषलाई प्रश्न गरिँदैन ।’ नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी ओलीको प्यादा भनेर आक्षेप लगाइरहँदा पुरुष पात्रमाथि प्रश्न नगर्ने सामाजिक प्रवृत्ति प्रतिविम्वित भएको अन्सारी बताउँछिन् । उनी भन्छिन्, ‘वलीलाई पिडुँला देखाएर सांसद् पद पाइन् भन्दै गर्दा पिडुँला हेर्र्ने पात्रमाथि सहजै छुट दिइन्छ ।’आफैंले नेकपाका नेता रघुजी पन्तबाट लाञ्छना भोगेकी वली महिलालाई दोस्रो दर्जाका रुपमा हेरिने प्रवृत्ति कायम नै रहेको बतउँछिन् । कलाकारिता क्षेत्रमा भोगेको जस्तो घट्ना अहिले राजनीतिमा देखिरहेको उनी बताउँछिन् । ‘महिलाको हक अधिकारको विषयमा कानुनी परिवर्तन भएपनि मानसिक परिवर्तन नहुनु भने दुखद् हो’, वली भन्छिन्, ‘महिलाको शारीरिक बनावटलाई लिएर हुने टिप्पणी, बेइज्जती हिजो पनि थिए र भोलि पनि हुनेछन् ।’ आफूले बोलेका विषय मन नपराएर दर्शकबाट सामाजिक सञ्जालमा ओइरिने टिप्पणी उनले भोगिरहेकी हुन्छिन् । त्यसबाहेक पहिलो पटक आफ्नो मानहानी भएको महसुस हुने टिप्पणी रघुजी पन्तबाट पहिलो पटक भोगेको वली बताउँछिन् । उनले भनिन्, ‘मैले यो बारेमा कानुनी उपचारको तयारी थालिसकेको छु ।’ कानुनी हिसाबमा दक्षिण एसियाकै बलियो कानुन भएपनि कार्यान्वयनका पाटो निकै कमजोर र जटिल हुँदा हिंसा बढेको मानवअधिकारकर्मी अन्सारीको निश्कर्ष छ । ‘हाम्रो जस्तो संरचना भएको मुलुकमा जहाँ न्यायपालिका आफैं सशक्त छ,’ उनी भन्छिन्, ‘बलात्कारका घटनामा प्रहरीले अनुसन्धानमा निभाउनुपर्ने भूमिका शून्यजस्तै छ । प्रहरी संरचना विस्तार भइरहेका छन् । यहाँ प्रहरीले जति गर्नुपर्ने हो त्यत्ति काम गरेकै छैन ।’