NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आफ्नै परिवारबाट तीन योद्धाको उच्च शहादत र मेरो दायित्व

कमला नहर्की माओवादी लडाकुहरूको ब्रिगेड कमान्डर हुने पहिलो महिला हुन् । ओनसरी घर्ती, अमृता थापा र कमला रोका पहिलो पटक लडाकुहरूको बटालियन कमिसार भएका थिए । तर, ब्रिगेड कमाण्डरको जिम्मेवारी पाउने नहर्की नै पहिलो हुन् । लडाकुहरू शिविरबाट स्वेच्छिक अवकास लिएकी उनी मंसिर ०७४ मा प्रदेश सभाको निर्वाचनमा गोरखा क्षेत्र नंं. दुईको एकबाट निर्वाचन लडेकी थिइन् । तर, पराजित भइन । चैत्र ०५७ मा ६ जना महिला छापामारहरूले गोरखा जेल ब्रेक गरेका थिए । जेल ब्रेकको नेतृत्व उमा भुजेलले गरेकी थिइन । जो हाल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा छिन् । जेल ब्रेक गर्ने ६ जना मध्ये दुई जना सशस्त्र द्धन्द्धकालमै मारिए । नहर्की पहिलो महिला ब्रिगेड कमाण्ड, जेल ब्रेक गर्ने साहसिक छापामार त हुँदै हुन्, जनयुद्धमा उनको परिवारबाट तीन जनाले रगत पोखेका छन् । पुस ०६४ मा प्रगतिशील अध्ययन केन्द्रले पीडाभित्रको आक्रोश संस्मरण संग्रह प्रकाशित गरेको थियो । आज आठ मार्च अर्थात् अन्तराष्ट्रिय महिला दिवस हो । प्रस्तुत छ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पीडाभित्रको आक्रोश मा नहर्कीले आफ्ना परिवारका तीन सदस्यको सहादतमाथि गरेको संस्मरण जस्ताको तस्तैः– निर्दिष्ट लक्ष्य प्राप्तिको खातिर कायम भएको इतिहास समयगत हिसाबले जतिसुकै दूरदूर भए पनि, जस्तोसुकै कठीन घडीहरुको बीचबाट गुज्रनु परे पनि जीवित र जाज्वल्यमान भइरहन्छ । महान् वैज्ञानिक विचारको आधारशीलामा निर्मित इतिहासलाई न त कसैले मेटाउन सक्छ न त अर्थहीन बनाउन । बरु इतिहासले थुप्रै नयाँ इतिहासकर्मीहरुको जन्म दिदै नयाँ उँचाइ थप्दै जाँदोरहेछ । रक्त लिखित इतिहासहरु समय र परिस्थितिको परिवर्तित परिवेशसँगै महत्वपूर्ण बन्दै जान्छन् । यतिखेर परिस्थितिले कोल्टे फेरेको छ । ११ वर्षे सशस्त्र युद्धका ती गरिमामय इतिहासका पानाहरु पल्टाउँदै जाँदा भावनात्मक हिसाबले गम्भीर चोट लागेका हुदयविदारक घटनाहरु सामु पुगेर म अडिएकी छु । जहाँ होनाहार योद्धाहरुले आफ्नो जीवनको कुर्बानी गरेर जनमुक्ति अभियानलाई विजयको शिखरतर्फ अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै अमर बन्दै मार्ग निर्देशक बन्नु भएको छ । नयाँ नेपाल निर्माणको सङ्घारमा ती अमर आत्माहरु र उहाँहरुको योगदानको स्मरण गर्नु आफ्नो प्रमुख दायित्वबोध महसुस भएको छ । २०५५ साल पौष ११ गते जतिबेला म भर्खर सन्टर जेलबाट छुटेर गोरखा फर्किएकी थिएँ । सेना निर्माण तथा विस्तारको योजना अनुरुप बनेको पल्टनको तालिम प्रशिक्षणका लागि सम्पर्कमा जाने तयारी भइरहेको रह। मेरो भतिज र म सँगै पूर्णकालिन भए पनि ऊ सैन्य क्षेत्रमा र म चाहि साङ्गठनिक क्षेत्रमा रहेकीले ३÷४ महिना नै भएको थियो भेट नभएको । लामो समयपछि भेट भयो र खुब खुसी भयौं । तर, हाम्रो असाध्यै हतारको बीचमा भेट भएकाले छोटो कुराकानी मात्र गरेर छुट्यो । ‘अब हामी एक महिनापछि मात्र फर्कन्छौं होला, तत्कालै तालिम सुरु हुँदैछ, फुपु, तपाईंको जेलको अनुभूति पछि सुनौंला, बहिनी विपनाको अलि ख्याल गर्नुपर्ला, आफ्नो जिम्मेवारीप्रति दृढतापूर्वक लागिरहनुहुनेछ ।’ छोटो समयमा यिनै कुराकानी भए हामी बीच । एक महिनापछि भेट्ने अपेक्षासहित म आफ्नो योजनामा लागेँ । १४ गते रेडियो नेपालको अखवार समाचार मार्फत भन्यो ‘गोरखा केरावारीको भिडन्तमा ७ जना माओवादी आतङ्ककारीको मृत्यु, दर्जनौं घाइते’… । थुमी हतयाकाण्डको घाउ आलै थियो, फेरि पनि सामूहित हत्याको खबरले झन् मर्माहित बनायो । घटनाको यथार्थताबारै जानकारी लिन हतारो लाग्यो । साँझपख जिममेवार कमरेडहरुले जानकारी गराउनुभयो । १३ गते केराबाीमा तालिम लिन गएको टिम बसेको घर स्थानीय सुराकीको मिलेमतोमा दुश्मनले घेरा हालेर ७ जना कमरेडहरु दुर्गा, नारायण श्रेष्ठ (रञ्जित), सुनिता श्रेष्ठ –ममता), सूर्य कुमाल, गुप्त नहर्की (ज्वाला), लगायत …… ।’ म छाँयाबाट खसेजस्तै भएँ । घटना यथार्थ भए पनि मलाई सहर्ष स्वीकार्न कठीन भयो । लक्ष्य प्राप्तिको खातिर गरिएका सामूहिक प्रतिबद्धता, बाल्यकालदेखि राजनैतिक भेटेर ब्यापक छलफल र अनुभूति साटासाट गर्ने आकाङ्क्षाहरु टुक्रा–टुक्रा भए । सतयको पक्षमा प्रतिकूलताहरुसाग जुध्दै आउने क्रममा हामीले थुप्रै सफलता हासिल गरेका थियौं । तर लक्ष्य चुम्ने जिम्मेवारी पूरा गर्ने सन्दर्भमा म पछि परें । उहाँ महान् विजयी बन्नुभयो । मैले जीवनमा सबैभन्दा प्रिय पात्र, मेरो प्यारो भतिज प्लाटुन सदस्य, क. गुप्त नहर्की (ज्वाला)लाई गुमाएँ । पीडा र संवेदनाले मुटु टुक्रियो, आफू अपाङ्ग भएको महसुस गरें । विचारलाई किनारा लगाएर भावना र संवेदनालाई प्राथमिकता दिनु ती अग्रजहरुप्रति अपमान हुन्छ । त्यसैले पीडाबाट नै जन्मिएको आक्रोशलाई बदलाभावमा बदल्दै अधुरो सपना पूरा गर्ने प्रतिबद्धतासहित पुनः विचारले खण्डित हृदयलाई पुरेर अघि बढेंँ । ०५६ बैशाख ८ गते मेरो जीवनमा फेरि अर्को गम्भीर धक्का लाग्यो । केराबारीको दर्दनाक घाउ चर्‍याइरहेको थियो । दुई महिनाअघि मात्र बहिनी सरस्वती नहर्की (विपना)सँग भेटेर निरन्तर अग्रजहरुको पदचापलाई पछ्याउँदै सपना साकार पारेरै छोड्ने प्रतिबद्धता जाहेर गरेका थियौं । जसको व्यवहारिक कार्यान्वयन गर्ने सिलसिलामा नै बहिनी विपनाको जीवनको सङ्घर्षशील यात्रालाई बीचैमा टुङ्ग्याइदिए दुष्टहरुले । यदि विचारले गाइड गरेको हुँदैनथ्यो भने भावना र संवेदनाहरुले चरम रुप लिएर अर्को दुर्घटना निम्त्याउँथ्यो होला । ०५६ बैशाख ९ गते पार्टीले नेपाल बन्दको कार्यक्रम राखेको थियो । जसलाई सम्पन्न गर्नको लागि प्रचारात्मक कार्यमा जुट्दै गोरखा–बक्राङ्मा पुगेको बेला तत्कालीन आतताही प्रहरी जत्थाले महान नेता क. हरिशचन्द्र श्रेष्ठ र स्थानीय किसान रामबहादुर अर्यालको हत्या गरी बहिनी विपनालाई गिरफ्तार गर्छन् । तुच्छ लोभलालचा र डर धम्कीबाट क्रान्तिकारी आस्थालाई झुकाउन सकिन्छ भन्ने मूर्खचाले भरिएका दुष्टहरुले क. विपनालाई आत्मसमर्पण गर्न र गोपनियता खुलाउन दबाब दिन्छन् । हर चुनौती र कठिनाइपूर्ण सङ्घर्षले स्पात बनेको त्यो आस्था महान् योद्धाहरुको रगतको मूल्य चुक्ता गर्दै सर्वहारामुक्तिको लागि दृढ त्यो आत्मा न त गल्न सक्यो, न त डगमगाउन नै । उल्टो ती जल्लादहरुलाई धम्क्याउँदै मृत्युलाई रोज्न पुगिन् । इतिहासमा समग्र हिसाब–किताब भावी पिँढीले गरेरै छोड्ने चेतावनी दिँदै छातीमा गोली हान्न आग्रह गर्नुभयो । मानवताहीन कायरहरु त्यो उच्चताबाट आतङ्कित भई धारामा बाँधेर गोली हान्छन् । एउटा होनहार योद्धाको जीवनको अन्त्य हुन्छ । सर्वहारावर्गले आफ्नो कर्मठ मुक्तिदाता गुमाउँछन् । मुक्ति युद्धको महाअभियानमा अर्को सिँढी थपिन्छ । इतिहास रङगीन बन्छ । यसैमा गर्व गर्दै विक्षिप्त हृदयलाई जबर्जस्ती बाँधेर निरन्तर लक्ष्यतर्फ बढ्नुलाई प्रमुख दायित्व ठान्न पुग्छु । साँच्चै बलिदान उर्जाशील हुन्छ, एकको रगतबाट हजारौं रक्तबीजहरु जन्मन्छन् । जसले आफैँ युद्धको बलिवेदीमा होमिएर रगतको मूल्य चुक्ता तथा रक्षा गर्न सफल हुन्छन् । यसको अपवाद बन्न सकेन मेरो परिवार । २/२ जना सदस्यहरुको ५ महिनाको अन्तरालमा भएको शहादतले समग्र पार्टी पङक्रि, न्यायप्रेमी जनसमुदायलाई त प्रभावित बनाएको थियो भने परिवारलाई त्यसको गम्भीर चोट लाग्नु स्वभाविक थियो । युगको माग, इतिहासले सुम्पेको जिम्मेवार अनि बलिदान अजम्वरी इतिहास हो भन्ने विषयमा स्पष्ट हुँदाहुँदै पनि पारिवारिक हिसाबले आलो घाउमा यसको मलम लगाउने विषय साह्रै गम्भीर विषय बनेको थियो । शुभदिनको झल्को बिहानले दिन्छ भनेझैं सानैदेखि जिज्ञासाले भरिएकी, अन्याय सहन नसक्ने, हक्की स्वभावकी थिइन बहिनी कल्पना नहर्की (नमूना) । त्यो बाल मस्तिष्कमा रगतको छाप राम्रैसँग लाग्यो । आफन्तहरुको अभाव वा शहादतको पीडाले संवेदनामात्र भरिएन, बरु तीब्र आक्रोश र बदलाभावले उँचाइ छुँदै गयो । निजी जीवन सहायक लाग्न थाल्यो, सामूहिक जीवन र सर्वहारावर्गप्रतिको प्रेमभावले उनी वर्गसङ्घर्षप्रति लालयित भइन । अन्ततः १४ वर्षकै उमेरमा आफ्नो समग्र निजीत्वलाई तिलाञ्जली दिँदै आमाबाबुको सामू रगतको मूल्य चुक्त गरी विजयको टीका पहिरिएर फर्कने सङ्कल्पसहित महासमरको यात्रामा आफूलाई आबद्ध गराइन । जतिबेला (०५७ आषढ) म जेलभित्र बन्दी जीवन बिताइरहेकी थिएँ । उसको त्यो महान् निर्णयप्रति म गौरवान्वित बनेँ । जब म ०५७ चैत्रमा जेलबाट निस्किएँ, एउटा सफल मोर्चा (धादिङ्गको दार्खा प्रहरी चौकी रेड)बाट फर्कदैं गरेको बेला उनलाई भेटें । लामो समयपछि दुवै जना फरक–फरक विजयी मोर्चाबाट फर्केर जुटेका थियौँ । त्यहाँ खुसीको कुनै सीमा रहेन । छैठौँ भलकुसारीमा नै मैले उनलाई मात्र एउटा बहिनीको रुपमा, एउटा सदस्यको रुपमा नभइ सफल फौजी कमान्डर कुशल सङ्गठक अनि भरपर्दो अभिभावकको रुपमा पाएँ । खुसी र गर्वले भावविह्वल बनायो । साथगै वास्तविक रक्तबीज जन्मिएको र अधुरा सपना पूरा हुने विश्वास बढ्यो । प्रचण्डपथको वैज्ञानिक प्रयोग जारी थियो । दोस्रो राष्ट्रिय सम्मेलनको पहिलो योजना कार्यन्वयन गर्ने सिलसिलामा स्थानीय सत्तालाई सुदृढ तथा केन्द्रीय जनसरकारको निर्माणको तयारी भइरहेको थियो । फौजी रुपमा सैन्य फोर्सलाई केन्द्रीकृत परिचालन, चलायमान र मोर्चाबद्ध युद्धको अभ्यास गर्ने योजना अघि बढिरहेको थियो । सोही अनुरुप गण्डक क्षेत्रअन्तर्गत बिचौर इलाका प्रहरी कार्यालय रेडको योजनामा बहिनी नमूना र मैले सागै लड्ने अवसर प्राप्त गर्‍यौँ । ०५८ आषढ २२ गते राती १०ः ५५ बाट सुरु भएको लडाइँ बिहान ६ः२० बजेसम्म विजयमा गएर टुङ्गिएको थियो । २३ जना दुश्मनको मृत्यु र अढाई दर्जन हतियार कब्जा गरिएको उक्त मोर्चाको विजयपश्चात् रातभरिको दुःख, कष्ट र थकाइ सबै दूर भएका थिए । खुसी र उमङ्गले हृदय भरेर हामी अन्तिम सर्चमा जुटेका थियौँ । घाइते कमरेडहरुलाई सप्लाई गर्ने काम भइसकेको थियो । बाटोमा लैंजादै गर्दा दुई जना कमरेडहरुको शहादत भएको खबर आयो । यता तीन जना कमरेडहरु –अनुप, सृजना र प्रतिमा)को शब पनि केन्द्रित भएको रहेछ । रगत नै विजयको मूल्य हो भन्ने बुझ्दा बुझ्दै पनि भावनाले हामीलाई खग्रास बनायो । यसको बाबजुद पनि उहाँहरुलाई अन्तिम श्रद्धाञ्जली दिएर अन्त्येष्टि गर्ने तयारी गरिरहका थियौं । रातभरि आ–आफ्नो आर्क सम्हालेकोले बिहानपख सबैलाई सम्पर्कमा खोज्ने काम भयो । बहिनी नमूनाको खोजी पहिल्यैदेखि भइरहेको रहेछ । नमूनाको अवस्थाबारे मैले पनि धेरै कमरेडहरुलाई सोंधेँ । तर, सबैबाट नदेखेको खबर पाएँ । शङ्का लाग्यो, कतै घाइते वा शहादत त भएन? वरपर खोजतलास ग¥यौं । एक्कासी मेरो खाँदा आधा भाग जलेको क. नमूनाको शरीरमा गएर ठोक्कियो । म अवाक् बनेँ । हृदयभरि सङ्गालिएका खुसी र उमङ्ग छचल्कियो । हृदयमा नमिठो सूल उठ्यो, गएर बहिनीलाई उठाएँ, घाइते हुनुहुन्छ कि भन्ने आशा थियो । तर, तयसो नभई उहाँले त उक्त मोर्चालाई विजयको शिखरमा पुर्‍याउनको लागि आफूलाई बलिदानको कोटामा समाहित गराइसक्नु भएको रहेछ । सहयोद्धा कमरेडहरु र घर परिवारसामु ब्याटलमा जानुअघि ‘विजयको सन्देश लिएरसँगै फर्कनेछौँ’ भन्ने सङ्कल्प गरेका थियौं । पीडा भरिएको खुसी लिएर आफू एक्लै कसरी फर्कने? मलाई झन् पीडा भयो । नामले मात्र होइन्, काममा पनि वा वास्तविक नमूनायोग्य पात्रको क्षति अतुलनीय भयो । रगतको मूल्य चुक्ता गर्ने जिम्मेवारीलाई उहाँले आफ्नो रगत दिएर नै पूरा गर्नुभयो । अब त्यसको सम्पूर्ण हिसाबकिताब गरेर बाँकी जिम्मेवारी मैले पूरा गर्नसक्छु या सक्दिाँ भन्ने गम्भिर चुनौती मेरो अगाडि खडा हुन्छ ।उपलब्धिको रक्षा र विकास नै उपलब्धिसँग साटिएको रगतको उच्च सम्मान हो भन्ने बोधसहित तत्कालीन अवस्थामा क. नमूनालगायत महान् अग्रजहरुको रगतको टीका लगाइ उहाँहरुको उच्च विचार र महान् लक्ष्यलाई हृदयङ्गम गरी अन्तिम श्रद्धाञ्जली दिएर भौतिक रुपमा बिदाइ गरी फर्कियौं । यसरी डेढ वर्षको अन्तरालमा परिवारको ३ जना सदस्यहरुको लगातार भएको शहादतले मेरो जीवनमा गम्भीर धक्का लाग्यो । समान लक्ष्य चुम्ने सामूहिक प्रतिबद्धतामा तुषारापात भयो । आफू अपाङ्ग र यात्रामा एक्लो महसुस पनि गरेँ । महत्वपूर्ण अवसरहरु प्राप्तिबाट म चुकेँ, उहाँहरु महान र अजम्बरी बननुभएको छ । अग्रहजहरुको अभावमा हृदय विक्षिप्त बन्यो तर उहाँहरुको रगतबाट नै अहिले नयाँ नेपालको सुनगाभा फक्रिन लाग्दैछ । धर्ती हराभरा भएको छ । जसको संवेदनाले छिया–छिया भएका घाउहरुमा खाटो बस्दैछ । साथै ती अमूल्य निधीहरुको योगदानबाट प्राप्त पूँजीलाई नष्ट गरेर मरुभूमि बनाउने कुटिल षड्यन्त्रहरुको चुनौतीहरु पनि सामुन्नेमा उभिइरहेको छ । आखिर क्रान्तिकारीहरुको भावना र संवेदना विचारको बीचबाट जन्मिएको हुन्छ, जसले मानिसलाई भावनामा मात्र डुबाएर कमजोर बनाउँदैन । विचारको सही कमन्डमा निर्मम र कठोर बनाउँछ ।आक्रोश र बदलाभावको जन्म गराउँछ । हरेक सम्भावित चुनौतीलाई परास्त गर्ने तागत पैदा गराएको हुन्छ । त्यस्ता कुटिल षड्यन्त्रका दुष्प्रयासहरुको कुनै स्थान रहँदैन । यतिखेर क.लु सुनले भने जस्तै ‘मरेकाहरुबाट बाँचेकाहरुले नसिके बाँचेकाहरु पनि मरेतुल्य हुन्छन्’ भन्ने कुरालाई आत्मसात् गर्दै क. गुप्त नहर्की (ज्वाला), क. सरस्वती नहर्की (विपना) र क. कल्पना नहर्की (नमूना) लगायतका होनहार योद्धाहरुको अधुरो सपना, वर्गीय मुक्तिको सदीक्षालाई पूर्णता दिने सङ्कल्प गर्नैपर्छ । अमूल्य रगतको सम्मान, प्राप्त परिणामको रक्षा र विकास गर्ने प्रश्नलाई आफ्नो प्रमुख दायित्वको रुपमा ग्रहण गर्नु मेरो कर्तव्य हो । यही नै अग्रजहरुप्रतिको सच्चा सम्मान हुनेछ । यरी मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठहरिनेछ ।