NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेपालकै पहिलो महिला एरोस्पेस इन्जिनियर, जसको पोल्टामा छ जहाज सुरक्षाको जिम्मा

भारत देहरादुनस्थित ‘नेसनल इन्स्टिच्युट अफ एरोनटिकल इन्जिनियरिङ कलेज’मा आफ्नो ब्याचमा त्यो विषय पढ्ने एक्ली महिला थिइन्, सुनीरा रेग्मी । मास्टर्स पढ्दाताका कक्षामा पुरुषको बाहुल्य हुँदा झन्डै पढाइ छाडेकी थिइन् उनले । सुरुसुरुमा कक्षामा हँसिमजाककी पात्र पनि बन्थिन् । स्नातक पढ्दा ४४ जना पुरुषको भीडमा उनी एक्ली महिला थिइन् भने स्नातकोत्तर गर्दा पनि ६० जना पुरुष भएको कक्षामा उनी एक्ली महिला । तर, हार मानिनन् । ती दिनहरूकै कारण त आज उनी नेपालकै पहिलो महिला एरोस्पेस इन्जिनियर छिन् । नेपाल वायुसेवा निगममा खुला प्रतिस्पधाबाटै छानिएर एक दशकसम्म एक्लै महिला रहेर काम गरिसकेकी छन् उनले । काठमाडौं । विगत एक दशकदेखि नेपाल वायुसेवा निगममा सुनीरा रेग्मीले एक्ली महिला एरोस्पेस इन्जिनियर रहेर काम गरिरहेकी छिन् । खुला प्रतिस्पर्धाबाटै नाम निकालेर निगममा प्रवेश गरेकी रेग्मीले एक दशकसम्म लगातार कमाण्ड सम्हालिन्, एक्ली महिला एरोस्पेस इन्जिनियरका रूपमा । उनी निगममा काम गर्न थालेको १२ वर्षपछि बल्ल एकजना महिला थपिएकी छिन्, उनको विभागमा । निगममा लामो समय एक्ली महिलाको रूपमा मात्रै होइन, रेग्मी नेपालकै पहिलो महिला एरोस्पेस इन्जिनियर हुन् । नेपाल इन्जिनियरिङ काउन्सिलबाट सन् २००८ मा इजाजतपत्र लिँदा उनी नै पहिलो महिला थिइन् । काउन्सिलको रजिष्ट्रेसनमा महिलाको सूचीमा रेग्मीकै नाम अग्रपंत्तीमा छ । परीक्षा हलमा एक्लै महिला हुँदाको अनुभव सन् २००८ मा नेपाल वायुसेवा निगममा परीक्षा दिने वेलामा परीक्षार्थी र इन्भिजिलेटर सबैको नजर रेग्मीमा थियो । कारण, परीक्षा हलमा एक्ली महिला । ‘हलमा २५ जना परीक्षार्थीमध्ये म एक्ली महिला थिएँ,’ उनले भनिन् । परीक्षा हलमा बसेका ‘इन्भिजिलेटर’ले पनि शंकालु भावमा सोधेका थिए उनलाई, ‘तपाईं यही परीक्षाका लागि आउनुभएको त हो नि !’ परीक्षा थियो, ‘अपरेसन इन्जिनियर’को । सात महिनापछि नतिजा आयो । दुई जनाका लागि खुलेको आवेदनमा २५ जनाले परीक्षा दिएका थिए । उनीलगायत चार जनाको नाम निस्कियो । त्यतिवेला न कोटाको व्यवस्था थियो, न त लोकसेवाको परीक्षा नै हुन्थ्यो । खुला प्रतिस्पर्धाबाटै उनले नाम निकालिन् । र, १० वर्षदेखि निगमको अपरेशन विभागअन्तर्गत एरोस्पेस इन्जिनियरका रूपमा कार्यरत छिन् । रेग्मीले यो विधा त्यतिबेला छनोट गरिन् जतिवेला नेपाली समाज यसबारे अनभिज्ञजस्तै थियो । कहिलेकाहीँ आफन्तले के पढ्छौं भनेर सोध्दा उनी ‘एरोस्पेस इन्जिनियर’ भन्थिन् । आफन्तजन अक्क न बक्क पर्थे । पढाइ सकेर काम थाल्न खोज्दा काम पाउनै मुस्किल थियो । मुस्किल मात्रै होइन, काम पाइहाल्यो भने पनि आफ्नो विज्ञता अनुसारको भूमिका हुन्थेन । पढाइ सकेपछि पहिलो पटक बुद्ध एयरमा विना तलब एक वर्ष काम गर्दा रेग्मीले गरेको पहिलो काम थियो, जहाजका टायर उठाउने ।‘त्यतिवेला मेकानिकल इन्जिनियरलाई सहयोग गर्नुपथ्र्यो । ठुल्ठूला टायर उठाउनुपथ्र्यो । धन्न म अलि मोटीघाटी नै थिएँ,’ उनले भनिन् । हुन त अहिले पनि नेपालमा यो विषय पढेर काम गर्न चाहनेका लागि पर्याप्त अवसर नभएको उनी बताउँछिन् । नेपालमा एरोस्पेस इन्जिनियरको काम एयरलाइन्स कम्पनीमै मात्र सीमित छ । पाइलट बन्ने सपनाको दिशा मोडियो रेग्मी पढाइमा सामान्य विद्यार्थी थिइन् । जीवनमा केही बन्नुपर्छ भने अठोट तीव्र थियो । त्यसैले आफू बुझ्ने भएदेखि नै उनले पाइलट बन्ने सपना पालिन् । किनभने एभिएसन विधा ‘ग्ल्यामरस’ लाग्थ्यो उनलाई । हात्तीवनस्थित लिटल एन्जल्स स्कुलबाट एसएलसी दिएपछि उनी पाइलट बन्ने आफ्नो सपनाप्रति अडिग भइसकेकी थिइन् । त्यतिबेलासम्म रेग्मीलाई एरोस्पेस इन्जिनियरबारे केही पनि ज्ञान थिएन । त्यही क्रममा बाबु डा. सुदर्शनप्रसाद रेग्मीले उनलाई एरोस्पेस इन्जिनियरिङबारे बुझाइदिए । ‘यो त पाइलट भन्दा पनि उच्च श्रेणीको पेशा हो,’ बुबालाई उद्धृत गर्दै रेग्मीले भनिन् । बुबाको परामर्शपछि उनले पनि केही अनुुसन्धान गरिन् । त्यसपछि उनको मनमा गढिसकेको थियो ‘यो त पाइलटहरूको पनि कोच हुनेजस्तै पो रहेछ’ भन्ने विचार । यो विचारसँगै मोडियो रेग्मीको दिशा पनि । उच्च शिक्षा अध्ययनका लागि उनी भारत पुगिन् । भारत देहरादुनस्थित ‘नेसनल इन्स्टिच्युट अफ एरोनटिकल इन्जिनियरिङ कलेज’मा आफ्नो ब्याचमा त्यो विषय पढ्ने एक्ली महिला थिइन्, उनी । कक्षाकोठामा एक्लै महिला हुँदाका ती दिन सम्झिन्छिन् । ‘मास्टर्स गर्दा त झन्डै पढाइ छाडेकी थिएँ, तर हार मानिनँ,’ उनी भन्छिन्, ‘सुरुसुरुमा कक्षामा हाँसिमजाककी पात्र पनि बन्थें । विस्तारै पुरुष साथीहरू पनि आत्मीय बन्दै गए ।’ स्नातक पढ्दा ४४ जना पुरुषको भीडमा उनी एक्ली महिला थिइन् भने स्नातकोत्तर गर्दा पनि ६० जना पुरुष भएको कक्षामा उनी एक्ली महिला । तर, जति आत्मीय बने पनि महिला भएकै कारण कहिलेकाहीँ ‘कम्बाइन स्टडी’ गर्ने इच्छा हुँदा पनि केटाको होस्टेलमा जान मिल्थेन । आफ्नो सहकर्मीसगँ गरौं भने कोही पनि थिएनन् । होस्टेल जाँदा एक्लै महिला हुँदा भने दिक्क लाग्थ्यो उनलाई । उनीसँगै पढेका साथीहरू अहिले बोइङ, एयरबसजस्ता ठूला कम्पनीमा काम गर्छन् । उनी विगत १२ वर्षेखि निगममा कार्यरत छिन् । जहाज सुरक्षाको काम उनकै पोल्टामा एरोस्पेस इन्जिनियरले के काम गर्छन् भन्नेबारे अहिले पनि धेरैलाई अनभिज्ञता हुन सक्छ । निगमकी सिनियर अपरेसन इनिजनियर रेग्मीका अनुसार जहाज उँड्दाउँड्दै इन्जिन बन्द भयो भने ‘क्रू मेम्बर’ लाई मार्गदर्शन गर्ने काम हो, उनको । उनको निर्देशनअनुसार नै पाइलटले सिमुलेटरमा लगेर भेरिफाइ गर्छन् । जस्तो– अक्सिजन मास्क ड्रपआउट हुँदा के गर्ने, नयाँ ठाउँमा जानुअघि त्यस ठाउँको विश्लेषण गर्ने, जहाजमा लोड, फ्युल कति राख्ने भन्ने जिम्मेवारी उनीहरूकै हो । सर्भिसिङपछि गाडीको टेस्ट ड्राइभजस्तै जहाजको पनि टेस्ट फ्लाइट हुन्छ, जसमा यात्रु हुँदैनन् । त्यतिबेला उनीहरूकै टोलीसहित जहाजको टेस्ट फ्लाइट गरिन्छ । एरोस्पेस इन्जिनियरको मुख्य काम भनेको विमान र अन्तरिक्षयानको विकाससँग सम्बन्धित हुन्छ । यसभित्र पनि इन्जिनियरिङका दुई प्रमुख शाखाहरूको संयोजन छ । एक विमानसँग सम्बन्धित र अर्को अन्तरिक्षयानसँग । तर, नेपालमा एरोस्पेसको क्षेत्रमा काम गर्ने अनुसन्धान तथा विकास केन्द्र, ल्याबोरेटरी र शैक्षिक संस्थाहरू धेरै कम छन् । हाल पुल्चोक इन्जिनियरिङ क्याम्पसले भने एरोनटिकल इन्जिनियरिङको अध्यापन सुरु गरेको छ । ‘मान्छेहरूमा विस्तारै यसप्रति चासो बढ्दै छ । हालको अवस्थामा हेर्दा, नेपालमा एरोस्पेस इन्जिनियरको काम एभिएसन अर्थात् वायुसेवाको क्षेत्रमा मात्रै सीमित छ,’ रेग्मी भन्छिन् । रेग्मीलाई अब पहिलो हुने नशा नै चडिसक्यो । भविष्यका लागि के योजना छन् भनेर प्रश्न गर्दा उनी भन्छिन्, ‘पीएचडी गर्नु छ । त्यसपछि अन्तरिक्ष या चन्द्रमामा जाने पहिलो नेपाली महिला हुन मन छ ।’