NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रचण्डसँग छुट्टिएपछि माधव नेपालको पहिलो प्रतिक्रिया : जो जहाँ गए पनि हाम्रो हृदय ठूलो छ

काठमाडौं । नेकपा आधिकारिकताको विवादले अन्ततः प्रचण्ड र माधव नेपाल समूह पनि छुट्टिएका छन् । नेकपाको प्रचण्ड–माधव नेपाल समूहको अन्तिम बैठकले पूर्व एमाले एमालेतिरै र माओवादी माओवादीतिरै फर्किने निर्णय गरेको हो । पेरिसडाँडामा भएको स्थायी समितिको बैठकले वाम एकता जोगाउन प्रयास गर्दै तत्काल आ–आफ्नो पूर्व दलमा फर्किने निर्णय गरेको हो । बैठकपछि नेता माधव कुमार नेपालले फरक फरक पार्टीमा रहे पनि वाम एकतालाई जोगाउन आफूहरुले हृदयलाई अझै ठूलो बनाउने बताए । ‘फरक फरक पार्टीमा रहे पनि वाम एकतालाई जोगाउने प्रयासमा लाग्छौं । जो जहाँ गए पनि हाम्रो हृदय ठूलो छ’ नेपालले भने, ‘हामी सबैलाई मिलाएर लाने प्रयास गर्छौ । सबै वामपन्थी एक हुन्छौं ।’ बैठकपछि नेता नारायणकाजी श्रेष्ठले अदालतले नेकपाको सन्दर्भबारे गरेको फैसलाबारे गम्भीर छलफल गरेको जानकारी दिए । ‘रिट निवेदकको माग दावीभन्दा बाहिर गएर राजनीतिक फैसला आएको छ । नामका बारेमा निष्कर्ष निकाल्नुपर्ने उत्तरदायित्व भए पनि बाहिर गएर फैसला गरेको छ’ उनले भने, ‘तर, निवेदकको मागदावीभन्दा बाहिर गएर गरिएको फैसलाप्रति गम्भीर असहमति छ । फैसला अस्वभाविक, अनुपयुक्त र गलत छ । अब राजनीतिक रुपमा दृष्टिकोण र विचार राख्ने, कानुनी ढंगले उपयुक्त उपचार खोज्ने बाटोमा जान्छौं ।’