NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

छोराको कौतुहलताले जन्मिएको एग्री नेपाल कौसी खेती

काठमाडौं । लकडाउनमा छोराले दिनहुँ फूल रोपिएको गमलामा पानी हालेको देखेपछि सुनिता नेम्हाफुकीलाई काैतुहलता जाग्यो । उनले यसअघि छोराको यस्तो व्यवहार देखेकी थिइनन् । जब ५ वर्षीय छोरा उड्यम खनालले त्यसको कारण सुनाए, सुनिता अक्क न बक्क भइन् । उनले भनेका थिए, ‘मैले यहाँ ओरियो बिस्कुट रोपेको छु । त्यही फलोस् भनेर पानी हालेको ।’ सुनिता ११ वर्षदेखि एग्री नेपाल नामक संस्थामा आबद्ध छिन् । लकडाउनअघि कृषकलाई उनीहरुको पेशासँग सम्बन्ध राख्ने बिमा, बजारलगायत विभिन्न क्षेत्रसँग सम्पर्क गराउने काम थियो उनको । तर जसै कोरोना संक्रमण फैलिन थाल्यो, सरकारले लकडाउन घोषणा (गत वर्षको चैत ११) गर्‌यो । त्यसअघि खेत–खलियानमा पुगेर कृषकहरुको कुरा सुन्दै आवश्यक परामर्श दिइरहने सुनिता अब बन्द कोठाभित्र सीमित भइन् । अधिकांश समय काममै व्यस्त रहने उनले छोरासँग पर्याप्त समय साट्न पाएकी थिइनन् । यो मौका कोरोना महामारीले जुराइदियो । आफू एक दशकभन्दा धेरै कृषि क्षेत्रमा संलग्न भएपनि छोरालाई यति सामान्य कुराको ज्ञान दिन नसकेकोमा भने उनलाई हिनताबोध भयो ।त्यो दिन सम्झिँदै सुनिता भन्छिन्, ‘हामी वर्षौंदेखि कृषिमा संलग्न छौं । छोराले यति सानो कुरा बुझेकै होला भन्ने लाग्यो । तर ओरियो बिस्कुट बिरुवामा फल्छ भनेपछि त त्यो मेरो लागि समस्या नै बन्यो ।’ पछिल्लोपटक सहरमा जन्मिएका बालबालिका कृषि पेशा र कृषि उत्पादनसँग प्रत्यक्ष साक्षात्कार हुन पाउँदैनन् । कृषि वैज्ञानिक मदन राईले कृषि र बालबालिकाबारे सटिक टिप्पणी गर्दै भनेका छन्, ‘बालबालिकालाई धानबारे पढाउँदा किताबमा भएको चित्र देखाएर हुँदैन, खेतमा लगेर धान नै देखाउनुपर्छ ।’ यही नीतिलाई उनले पनि अंगिकार गरिन् । कृषि र बालबालिकालाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा जोड्ने जुक्ति निकालिन् । लकडाउनमा उनले बिरुवा र माटो चिनाउने हेतुले बालबालिकाको लागि विभिन्न कृषिजन्य सामग्री उपलब्ध गराउने सोचिन् । ‘त्यो घटनापछि म निकै घोत्लिएँ । अनि गुगल ड्राइभमा १० वटा बिरुवा रोप्न चाहिने सबै सामान जोडेर १५ सय रुपैयाँको प्याकेज बनाएँ ।’ त्यसैबाट उनी आफ्ना साथी र छोरा पढ्ने विद्यालयका शिक्षकसम्म पुगिन् । जसले यहाँसम्म पुग्ने सोच दियो, उसैलाई छुटाउने त कुरै भएन । उनले छोरालाई बिरुवा रोप्ने तरिका, उसको जीवनचक्र र फल्ने फलका बारेमा सुनाइन् । छोरालाई नै आलु, अदुवा, सागका बिरुवाहरु रोप्न सिकाइन् । व्यवसायले सुरु भएको पहिलो साता नै राम्रो प्रतिक्रिया पायो । आफ्ना साथीभाइबीच कारोबार भएकाले पनि छोटो समयमै व्यवसायमा राम्रो परिणाम देखिएको बताउँछिन्, सुनिता । भन्छिन्, ‘सुरुवातमा हामी आफ्नै गाडीमा सामान लिएर घर-घर जान्थ्यौं । कतिपटक त बाटोमा प्रहरीले घन्टौं रोकिदिन्थ्यो ।’ विस्तारै सुनिताको सोच फैलिँदै गयो । उनले तयार गरेको कृषि सामग्री प्याकेजको माग पनि बढ्न थाल्यो । ‘हामीले वेबसाइट बनाएर अर्डर लिन थाल्यौं । एग्री नेपाल कौसी खेती नामको वेबसाइट तयार गर्‌यौं,’ उनले भनिन् । उनका अनुसार यो कौसी खेतीकै एक अवधारणा थियो । तर यो अन्यजस्तै सामान्य कौसी खेती नभएर बालबालिकालाई माटो र बोटबिरुवासँग प्रत्यक्ष जोड्ने कौसी खेती थियो । सुनिता भन्छिन्, ‘यो सबै गर्नुको कारण बालबालिका र बोटबिरुवाबीच सम्बन्ध स्थापीत होस् भनेर थियो ।’ लकडाउनभर उनको कौसी खेतीको अवधारणा ४ हजार कौसीसम्म पुग्यो । यो यात्रा सम्झँदा अहिले छक्क पर्छिन् उनी । सुरुवातमा सहकर्मीलाई काम लगाउन भएको कठिनाइदेखि प्रहरीले लकडाउनमा बाहिर निस्किएको भनेर घन्टौं सडकमै राखेका घटनाहरु उनको आँखाअघि झलझली आउँछन् । ‘अरुलाई देख्दा मैले गरेको काम त्यत्ति महत्वपूर्ण थिएन । तर बालबालिकाको मनोविज्ञानसँग जोडेर हेर्दा म आफूलाई यो जति महत्वपूर्ण अरु केही होइन जस्तो लाग्छ,’ उनी थप्छिन्, ‘घरमा समय कटाउन नसकेर आजित भएका व्यक्तिलाई वातावरणमुखी काममा केन्द्रित गराउने उद्देश्य पनि थियो यो ।’ याे पनि पढ्नुस्: ‘धन्न! नेपालमा अमेरिका, इटालीजस्तो भएन’ उपत्यकाका १० हजार घरमा कम्पोष्ट बिनसुनिताले लकडाउनमा बालबालिकाको लागि कौसी खेतीको अवधारणाको मात्रै विकास गरिनन् । उनले फोहोरको गाडी नआउँदा घर–घरमा थुप्रिएको फोहोरको समस्या कम गर्न युट्युबमा भिडियोमार्फत सचेत गराउनेदेखि ‘कम्पोष्ट बिन’ घर-घरमा पुर्‌याइन् । ‘लकडाउनमा हामीले उपत्यकाका १० हजार घरमा कम्पोष्ट बिन पुर्‌याएछौं,’ उनले भनिन् । घरमै थुनिँदा आजित भएकाहरुलाई उनको कदमले धेरै राहत दियो । घर-घरमा पुग्दा पाउने प्रतिक्रियाले उनलाई काममा कटिबद्ध हुन प्रेरणा दिइरह्यो । ‘घरमा बस्दा-बस्दै पागल भएजस्तै लाग्थ्यो । कौसी खेतीले धेरै सहयोग गर्‌यो । कौसीमा हरियाली देख्दा मनै फुरुंग भएको छ,’ घर-घरबाट पाउने यस्ता प्रतिक्रियाले उनको मन पनि फुरुंग हुन्थ्यो । यसरी टोल-टोलमा पुग्दा समस्या नआएको भने होइन । कोरोना संक्रमण फैलने डरले घरधनी र उपभोक्ताहरुले गर्ने व्यवहारले उनीहरुलाई बिझाउँथ्यो । ‘मान्छेहरु कौसीबाटै पैसा फ्याँकिदिन्थे । मेरा स्टाफहरु यसरी पैसा टिप्नुपर्छ, झ्याउ लागिसक्यो भन्दै गुनासो लिएर आउँथे,’ उनले सुनाइन् । लगभग सबै क्षेत्र धरासायी बनिरहेको त्यो संकटको अवस्थामा उनको कोसी खेती व्यवसायले भने उल्लेख्य मुनाफा कमायो । लकडाउनपछिको यो एक वर्षमा एग्री नेपाल कौसी खेतीबाट १ करोड रुपैयाँभन्दा माथि कारोबार भएको उनको दाबी छ । उनका अनुसार यो अवधारणा लकडाउनमा जस्तै अहिले पनि उत्तिकै प्रभावकारी देखिएको छ । दैनिक १० देखि १५ वटासम्म प्याकेजको माग आइरहेको छ । सुरुवातमा बीउ, मल, ग्रो ब्याग र कोकोपिटबाट सुरु भएको कौसी खेतीमा अहिले सयभन्दा बढी सामग्री समावेश छन् । याे पनि पढ्नुस् सरकारको अक्षमता, डामाडोल अर्थतन्त्र, सकसमा जनजीवन