NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

अबको सम्भावित राजनीतिक परिदृश्य : एमालेमा नेपाल समूहमाथि कारबाही, जसपा विभाजित !

नेपाल समूहमा रहेका सांसदहरु योगेश भट्टराई, गोकर्ण विष्ट, नारायण खतिवडा, प्रदेशका सांसदहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईंलगायत आफ्नो पक्षमा आउनेमा ओली समूह ढुक्क छ ।’ओली समूहले नेपाल समूहलाई तर्साउन मात्र नभएर कारबाही गर्ने उद्देश्यले नै स्पष्टीकरण सोधेको हो, ‘ सांसद महेश बस्नेत भन्छन्, ‘आफ्ना कमजोरी महसुस गरेर आए उहाँहरुको सांसद पद पनि गुम्दैन । यथोचित जिम्मेवारी पाउनु हुनेछ ।’ओली समूहको बुझाइमा केही दिनमै जसपा फुट्दै छ । जसपाबाट महन्थ ठाकुरको नेतृत्वमा २३ देखि २५ जनासम्म सांसद ओली सरकारको समर्थनमा उभिनेछन् । ‘फ्लोर क्रस’ गरे नेपाल समूहतर्फ खुलेका १२ समानुपातिक सांसदलाई कारबाही गर्ने ओलीको तयारी छ । ति पदमा ओलीले आफू पक्षकालाई नै सांसद बनाउनेछन् । काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापित गरिदिएको आज ठीक एक महिना पुग्यो तर सरकारबाट ‘बिजनेस’ पाएको छैन । आफूले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्चले पुनःस्थापित गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलि देलान् भन्ने राजनीतिक वृतमा धेरैको अपेक्षा थियो । तर, ओलीले त्यो नैतिकता प्रदर्शन गर्न आवश्यक ठानेनन् । उनले अझै सगौरव प्रतिनिधिसभा पुनः विघटन गर्ने चेतावनी दिइरहेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले प्रधानमन्त्री ओलीविरुद्ध ५ पुसमै संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको दाबी गरेको थियो । तर सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापित गरिदिएको महिना पुग्दासम्म माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध न अविश्वास प्रस्ताव दर्ता गराएको छ, न सरकरमाथिको समर्थन फिर्ता लिएको छ । प्रचण्ड ‘हाँसको चाल न कुखुराको चाल’ मा अल्झिरहेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अबको प्रधानमन्त्रीको खास प्रत्यासी हुन् । तर उनले प्रधानमन्त्रीको कुर्सीमा विगतमा जस्तो मोह देखाएका छैनन् । देउवाको यो मौनतालाई रहस्यमय रुपमा हेरिँदै छ । उनले हिजो सुनसरी पुगेर ‘प्रधानमन्त्री ओलीविरुद्ध संसद्‌मा अविश्वासको प्रस्ताव पनि नल्याउने, सरकारमा जान पनि हतार नगर्ने’ बताए । देउवाको यो अभिव्यक्तिले राजनीतिक निकासका लागि गाँठो झन् कसिने देखिन्छ । कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने, सरकारको नेतृत्व लिन पहलकदमी पनि नगर्ने चालले ओली अझै केही समय प्रधानमन्त्रीको कुर्सीमा बसिरहने प्रष्ट छ । यही मौकामा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) को साथ लिएर आफ्नै नेतृत्वमा सरकार टिकाइराख्न पहल अघि बढाइरहेका छन् । जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत प्रधानमन्त्रीमा ओलीलाई निरन्तरता दिन सकरात्मक देखिएका छन् । टीकापुर हत्या काण्डमा अदालतबाट दोषी ठहर भई जेलमा रहेका सांसद रेशमलाल चौधरीको रिहाइ, संविधान संशोधनजस्ता विषयमाथि ओली र जसपाका ठाकुर पक्षीय नेताहरुबीच संवाद भइरहेको छ । उक्त संवाद सकारात्मक रहेको जसपाका नेता र ओली निकटस्त सुवास नेम्वाङले बताएका छन् । तर जसपा निर्णयमा पुगिसकेको छैन । जसपा नेता राजेन्द्र महतोले ‘हाम्रा मुद्दा जसले सम्बोधन गर्न सक्छ, उसैको पक्षमा उभिन्छौं’ भनिरहेका छन् । जसपालाई ओलीलाई समर्थन गर्ने निर्णयमा पुग्न त्यति सहज भने छैन । किनभने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्‌ अध्यक्ष बाबुराम भट्टराई, महेन्द्रराय यादवलगायत नेताहरु प्रधानमन्त्रीमा ओलीको निरन्तरताको विरुद्धमा छन् । ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट निसर्त ओराल्नु पर्ने उनीहरुको भनाइ छ । प्रधानमन्त्री ओली पक्षको विश्वासचाहिँ के छ भने जसपा विभाजित नै भएर पनि आफू नेतृत्वको सरकारलाई समर्थन गर्नेछ । ठाकुर, महतोको नेतृत्वमा जसपाका २३ देखि २५ जना सांसदहरु आफ्नो समर्थनमा आउने ओली पक्षको निष्कर्ष छ । ‘बाबुराम भट्टराई, उपेन्द्र यादव र महेन्द्रराय यादवलगायत सानो समूहले मात्र प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने/नगर्ने स्पष्ट भइसकेको छैन । स्थिरता र समृद्धिको यथार्थ बुझेर अन्त्यमा उनीहरुले पनि समर्थन गर्ने विश्वास छ,’ ओलीनिकट एमाले नेता एवं सांसद महेश बस्नेत भन्छन्, ‘त्यसबाहेक पूर्वसंघीय समाजवादीका तर्फबाट सांसदहरु प्रदीप यादव, उमाशंकर अरगरिया, रेणु यादव, विमल श्रीवास्तव, कलुदेवी विश्वकर्मा, मोहम्मद इस्तियाक राईलगायत समेत महन्थ ठाकुर–राजेन्द्र महतोसँगै ओली सरकारकै समर्थनमा आइपुग्छन् ।’ आफूले अघि सारेका संवेदनशील ‘इस्यु’ लाई सम्बोधन गरे ओलीले नै गर्छन्, नत्र अरुले गर्दैनन् भन्ने निष्कर्षमा छन्, ठाकुर-महतो समूह । त्यसमाथि कांग्रेस, माओवादी केन्द्रसँग मिल्नुभन्दा ओलीसँग मिल्दा मन्त्रीलगायत भागवण्डा बढी पाउने पनि ठाकुर-महतोको गणित छ । ओलीविरुद्ध एमालेकै ३८ सांसद एमालेबाट माधवकुमार नेपाल–झलनाथ खनाल समूहका ३८ जना सांसदले प्रधानमन्त्रीमा ओलीलाई आफूहरुले सहयाग गर्न नसक्ने पत्र दिइसकेका छन् । सांसदहरु यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ओलीप्रति आफूहरुको समर्थन नरहेको पत्र बुझाएका थिए । ओलीप्रति समर्थन नरहेको पत्रमा हस्ताक्षर गर्ने सांसदमध्ये परशुराम मेघी गुरुङ, उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी र शारदादेवी भट्ट पनि छन् । नेपाल समूहकै ‘खम्बा’ मानिने वेदुराम भुसाललगायतको हस्ताक्षर भने छैन । प्रधानमन्त्री निर्वाचित गर्न राष्ट्रिय सभाका सांसदहरुको भूमिका रहन्न । प्रतिनिधिसभामा रहेका नेपाल–खनाल समूहका समानुपातिक सांसदहरुमा मुकुन्द न्यौपाने, कल्याणी खड्का, पवित्रा निरौला, रामकुमारी झाँक्री, समिना हुसेन, गंगा चौधरी (सत्गौवा), लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, रेखाकुमारी यादव, पार्वतीकुमारी विशुंखे, पुष्पाकुमारी कर्ण कायस्थ, विनादेवी बुढाथोकीले पनि ओली सरकारलाई आफूहरुले समर्थन गर्न नसक्ने भन्दै पत्रमा हस्ताक्षर गरेका छन् । संसद्‌मा यसबेला एमालेका १२१ जना सांसद छन् । इलामकी सानु सिवाको निधन भएपनि उनको स्थानमा ओलीले आफू समर्थकलाई नै समानुपातिक सूचीबाट भित्रयाउँदै छन् । एमाले सांसदहरु एक ढिक्का रहे ओलीलाई बहुमतको सरकार गठन गर्न थप १७ जना सांसदको आवश्यकता पर्छ । त्यसका लागि जसपाबाट २३ देखि २५ जना सांसद आउने भएकाले प्रधानमन्त्रीमा ओलीले सहजै निरन्तरता पाउने यस समूहको बुझाई छ । जतिसुकै तितोपिरो, रिसरागका वाबजुद पनि एमाले सांसदहरुले ‘फ्लोर क्रस’ नगर्ने विश्वासमा छ, ओली पक्ष । समानुपातिक सूचीमा रहेका सांसदहरुले कदाचित फ्लोर क्रस गरे उनीहरुलाई हटाएर नयाँ ल्याउने पनि ओलीको योजना छ । एमालेबाट प्रत्यक्ष निर्वाचित माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, गणेश पहाडी, राजबहादुर बुढा, नारायण खतिवडालगायतले ओलीलाई समर्थन गर्न नसक्ने पत्रमा हस्ताक्षर गरेका छन् । यद्यपि संघीय ससंद्‌मा प्रत्यक्षमा जितेका सांसदहरु योगेश भट्टराई, गोकर्ण विष्ट, नारायण खतिवडा, बाग्मती प्रदेशका सांसदहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईंलगायत अन्ततः आफ्नै समूहमा मिसिनेमा ओली पक्ष ढुक्क छ । केही समयअघिसम्म नेपाल समूहमा रहेका कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, शेरबहादुर तामाङ ओली समूहमा प्रवेश गरिसकेका छन् । एमालेका असन्तुष्ट अरु सांसदलाई आफू पक्षमा उभ्याउन ओलीले तामाङ, पोखरेललगायतलाई नै परिचालन गरिरहेका छन् । हिजो र आज पनि नेपाल समूहका सांसदहरुसँग ओली निकटस्थहरुले संवाद गरिहेका छन् । नेपाल–खनाल समूहले धेरै ‘इगो’ पाले आफैं सकिने सांसद बस्नेत बताउँछन् । ‘निहुँ खोजेर नेपाल समूह एमालेमा बस्ने ठाउँ छैन । नेपालहरुलाई तर्साउन मात्र स्पष्टीकरण सोधिएको होइन । एक्सन नै हुन्छ,’ बस्नेत भन्छन्, ‘आफ्ना कमजोरी महसुस गरेर आए उहाँहरुको सांसद पद पनि गुम्दैन । यथोचित जिम्मेवारी पाउनु हुनेछ ।’ एमालेभित्रको अन्तरविरोध बढाएर विभाजनको डिलतिर लैजान नेपाल, रावल, पाण्डे र भुसालको भूमिका घातक देखिएकोले उनीहरुलाई स्पष्टीकरण सोधिएको बस्नेतको भनाइ छ । यसबाहेक घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन र जनार्दन शर्मा अघिल्लो पुस्ताका नेताहरु ओली, प्रचण्ड, नेपाल, खनाललगायत नेतालाई यही मौकामा पाखा पारेर आफैं नेतृत्व कब्जा गर्ने बाटोमा उद्दत भएका ओली पक्षको निष्कर्ष छ । ओली, प्रचण्ड, नेपाल, खनाललगायत अहिले नै राजनीतिबाट बिदा भइहाल्ने मानसिकतामा छैनन् । आउँदो मंसिरमा घोषणा गिरएकाे पार्टीको महाधिवेशनमा पुनः ओली नै अध्यक्ष उठ्ने बस्नेतको दाबी छ । रोचक के भने अदालतले ब्युँताई दिएको एमालेमा स्थायी कमिटी सदस्यमध्ये ११ जना नेपाल समूहमा छन् भने १० जना ओली समूहमा । वामदेव गौतम तटस्थ छन् । ओलीले स्पष्टीकरण सोधेका एमाले उपमहासचिव घनश्याम भुसाल एमाले दक्षिण एसियाकै राम्रो पार्टी हुँदाहुँदै ओलीले हरेक कुरालाई ‘कन्स्पिरेसी थ्योरी’ का आँखाबाट मात्र हेर्ने गरेकाले समस्या आएको बताउँछन् । ‘ओलीको असफलता कांग्रेस, माओवादी केन्द्र र जसपामा भर पर्छ । ओलीले व्यवस्थालाई नै हिँडाउँदै छन् । यसर्थ मानो हराएको थाहा छैन तर दानामा गनगन भइरहेको छ,’ भुसाल भन्छन्, ‘अहिले पनि ओलीको एक सुत्रीय ध्यान आफ्नै नेतृत्वमा निर्वाचन गराउने छ । त्यो निर्वाचनमा जुनसुकै पार्टीको होस्, कहाँ कुन उम्मेदवारलाई हराउने/जिताउने पहिले नै सेटिङ गर्ने योजना बनाइरहेका छन् ।’ भुसालको थप भनाइ छ, ‘कांग्रेसबाट जित्नेलाई पनि म हजुरकै भक्त हुँ, हजुरले जे भन्नु हुन्छ, त्यही मान्छु भन्नेलाई मात्र जिताइने छ । यस्तो सेटिङ लोकतन्त्र, गणतन्त्रकै लागि घातक हुनेछ । यो कुरा अगुवा राजनीतिक दलहरुले जति चाँडो बुझ्छन्, ओलीराजको अन्त्य त्यति नै छिट्टो हुनेछ ।’