NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कांग्रेसको १४ औं महाधिवेशन फेरि प्रभावित हुने, बोलाइयो केन्द्रीय समितिको बैठक

काठमाडौं । चैत १० सम्म क्रियाशील सदस्यता टुंग्याउन सर्कुलर गरिए पनि जम्मा चार जिल्लाले मात्रै सदस्यताको फाइनल विवरण बुझाएपछि कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित हुने भएको छ । पटकपटक सर्दै आएको १४ औं महाधिवेशन आगामी ७ देखि १० भदौसम्म तोकिएको छ । तर, ७७ जिल्लाले क्रियाशील सदस्यताको विवरण पटकपटक ताकेता गर्दा पनि समयमा नपठाएपछि फेरि महाधिवेशन प्रभावित हुने देखिएको हो । ‘चैत १० सम्म पाल्पा, हुम्ला, कालिकोट र अर्घाखाची जिल्लाले मात्रै सदस्यताको विवरण टुंग्याएर पार्टी केन्द्रमा बुझाएका छन् । अरु ६६ जिल्लाले पाँच लाख नवीकरण र केही नयाँ सदस्यको नाम अभिलेख गरी कम्प्युटर प्रणालीमा अपडेट गरेका छन् । तर, अझै नयाँ सदस्यता वितरणसहितको गरी १० लाख हाराहारी सदस्यताको सूची अपडेट गर्न समय लाग्ने भएको छ’ केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, ‘पदाधिकारी बैठकले सदस्यताको सूची समयमा आउन नसकेपछि अब के कसरी गर्न सकिन्छ भनेर समायोजन समिति, निर्वाचन समिति, छानविन समितिलाई २० गतेको बैठकमा प्रतिवेदन पेश निर्देश दिएको छ । सोही अनुसार तल्लो तहको अधिवेशनको समयावधि हेरफेर हुन सक्छ ।’ सदस्यतासहितको महाधिवेशनको तयारीका लागि छलफल गर्न २० चैतमा केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी उनले दिए । सदस्यताको विवरण समयमा नआउँदा तल्लो तहको अधिवेशनको प्रक्रिया एक हप्ता तलमाथि हुने उनको भनाई छ । तर, १४ औं महाधिवेशन भने भदौ १० बाट १९ भदौभन्दा पछाडि सार्न सक्ने छुट सभापति शेरबहादुर देउवालाई छैन । संविधानले दिएको अन्तिम समय भदौ १९ हो ।