NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

आफ्नै छोरीले आमालाई फाँसीमा झुण्ड्याएपछि…

ईरानमा एक छोरीले आफ्नी आमालाई फाँसीमा झुण्ड्याएकी छन् । ‘आँखाको बदलामा आँखा’ कानुन अनुसार महिलालाई यस्तो सजाय सुनाइएको थियो । महिलामाथि आफ्नो पतिको हत्या आरोप थियो । ईरानमा न्यायका नाममा दोषीलाई उसको अपराध बराबरकै सजाय दिने प्रावधान छ । यसै कानुनअनुसार मरयम करीमी नामकी महिलालाई उनकी छोरीले सेन्ट्रल जेलमा फाँसी लगाएर झुण्ड्याएकी हुन् । फाँसीमा झुण्ड्याउनुअघि कैयौं वर्षसम्म मरयमलाई कारागारमा राखिएको थियो । मिरर युकेको रिपोर्टअनुसार मरयम करीमीमाथि पतिको हत्या गरेको आरोप थियो । मरयमका पति उनलाई प्रताडित गर्ने गर्दथे र सम्बन्ध विच्छेदका लागि पनि तयार थिएनन् । मरयमकी छोरीले आफ्ना पिताको हत्याका लागि आमालाई माफी दिनेबारे इन्कार गरिदिएकी थिइन् । यतिमात्र होइन, हत्याको बदलामा दिने अनुग्रह राशी पनि अस्वीकार गरिदिएकी थिइन् । साथै आमालाई फाँसीमा झुण्ड्याउने माग गरेकी थिइन् । मिडियो रिपोर्टअनुसार मरयम करीमीले आफ्ना पिता अब्राहिमको साथमा मिलेर हत्याकाण्डलाई अन्जाम दिएकी हुन् । अहिलेसम्म अब्राहिमलाई भने फाँसी दिइएको छ या छैन भन्नेबारे स्पष्ट भइसकेको छैन । यद्यपी आफ्नी छोरीलाई फाँसी दिनेबेला साक्षीका रुपमा जेलमै रहेको बताइएको छ । मरयममाथि सुनियोजित हत्याका लागि मुद्दा चलाइएको थियो । उनलाई ‘आँखाको बदलामा आँखा’ कानून, जसलाई ‘कियास’ का रुपमा पनि मानिन्छ, सोही अनुसार सजाय तोकिएको हो । कियास कानून अन्तर्गत पीडितका सम्बन्धीलाई दोषीलाई सजाय दिने समयमा उपस्थित रहनका लागि प्रात्साहित गरिन्छ । कैयौं घटनामा उनीहरुलाई नै सजाय दिने मौका पनि दिइन्छ । मरयमकी छोरीलाई पनि सोही अनुसार सजाय दिने अधिकार दिइएको हो । यस कानूनअनुसार अपराधिलाई मृत्युको सजाय दिने प्रावधान छ । मरयमको मामलामा एकपटक फेरि ईरानमा कट्टर कानूनमाथि बहस सुरु भएको छ । मानवधिकार संगठनले यसको आलोचना गर्दै न्याय नभई क्रुरता भएको बताएका छन् ।