NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कोरोना जोखिम बढेपछि घर फर्किन थाले भारत गएकाहरु

भारतमा कोरोना भाइरसको जोखिम बढ्न थालेपछि रोजगारीका लागि भारत पसेकाहरू घर फर्किन थालेका छन् । पश्चिम नेपालका अधिकांश नाकाबाट नेपालीहरू घर फर्किने क्रम बढ्दो छ । बुधबार मात्रै, कैलालीको गौरीफन्टा नाकाबाट सैयौंको संख्यामा भारत गएकाहरू घर फर्किएका छन् । यस्तै बाँकेको रुपैडिहा नाकाबाट पनि नेपाल फर्किनेहरूको लर्को नै छ । कोरोना संक्रमण उच्च बन्दै गएपछि रोजीरोटीका लागि गएका उनीहरु आफ्नो घर फर्किएका हुन् । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक एक हजारको हाराहारीमा नेपाली भित्रिरहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमरबहादुर थापाले जानकारी दिए । यी दुई नाकाबाट विगत १० दिनमा सात हजार बढी भित्रिएको प्रहरीले जनाएको छ। भारतबाट फर्किएका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतसँग सिमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कमार्फत एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए। बुधबार बिहान गरिएको एन्टिजेन परीक्षणमा कैलालीका दुई जनामा कोरोना संक्रमण देखिएको नाकामा खटिएका स्वास्थ्यकर्मी गणेशबहादुर साउदले बताए । भारतबाट स्वदेश फर्किने सबैको नाकामा स्वास्थ्य परीक्षण हुन सकेको छैन। कोरोना संक्रमण बढ्न थालेका भारतीय शहरहरूबाट पनि नेपाली फर्किरहेका छन् । सावधानी नअपनाए सुदूरपश्चिममा संक्रमणले विगतको भन्दा भयावह रूप लिन सक्ने निर्देशक अवस्थीले बताए । ‘अहिले नयाँ प्रजातिको कोरोना भाइरस देखा परिरहेको छ। त्यसको संक्रमण र मृत्यु दर बढी छ।’ उनले भने, ‘सुदूरपश्चिममा भित्रिए स्थिति जटिल बन्‍न सक्छ। समयमै सावधानी अपनाउन आवश्यक छ।’ नाकामा परीक्षण र परीक्षणबाट संक्रमित देखिएकाहरूलाई कहाँ, कसरी राख्ने भन्ने विषयमा सरकारले चाँडै निर्णय गर्नुपर्ने उनले बताए । भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित स्थानीय तहहरूलाई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । उनले सवैलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।