NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

माधव नेपाल र भीम रावललाई कारवाही गर्ने ओलीको चेतावनी

काठमाडौं । पार्टी अनुशासन उलघंन गरेको आरोपमा दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको नभएको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल र भीम रावललाई कारवाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्षका अरु नेता सहभागी भए पनि नेपाल र रावल सहभागी भएका थिएनन् । दलको बैठकमा ओलीले यी दुवै नेताहरुको प्रष्टीकरण चित्तबुझ्दो नभएको तर, कारवाहीयोग्य भएको बताएका हुन् । बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले प्रष्टीकरण चित्तबुझ्दो नभई कारवाहीयोग्य भएको प्रधानमन्त्रीले बताएको जानकारी दिए । ‘माधव नेपाल र भीम रावलको स्पष्टीकरण आए पनि अरू दुई जना नेताको स्पष्टीकरण आउन बाँकी छ’ भट्टराईले भने, ‘नेपाल र रावलको स्पष्टीकरण कारवाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ। यसबारे केन्द्रीय कमिटीबाटै थप निर्णय लिन्छौं भन्ने उहाँको भनाई छ ।’ तर, उनले कस्तो कारवाही हुने भन्नेबारेमा केही खुलाएनन् । नेता नेपालले बिहीबार मात्रै ओलीलाई १३ बुँदामा प्रष्टीकरण बुझाउँदै विधान विपरीतका कार्य गर्ने ओली नै कारवाहीको भागीदार रहेको बताएका थिए । अर्का नेता रावलले पनि ओलीको कारण पार्टी र देशमा कठिन अवस्था आएको बताएका थिए । तर, बैठकमा सुरुमा नेता झलनाथ खनालले यस अघि फागुन २८ मा केन्द्रीय समिति र चैत ५ र ७ संसदीय दलले गरेको निर्णयलाई खारेज गरे एमाले पूर्ववत रुपमा बलियो भएर अघि बढ्ने बताएका थिए । तर, ओलीले अदालतको २३ फागुनको फैसलापछि पार्टी संगठन २०७४ जेठ को अवस्थामा फर्किए पनि फागुन २८ र त्यसपछि गरिएका पार्टी निर्णय फिर्ता भने नहुने बताएका थिए । ओलीले २८ फागुनमा एकलाैटी बैठक गरी नेपाल पक्षकाे जिम्मेवारी खाेसेका थिए । नेपाल पक्षले विधान विपरीत भएका निर्णय फिर्ता लिएर पार्टीलाई एकता गराउने जिम्मेवारी अध्यक्ष ओलीमा रहेको बताएका थिए । सो समूहबाट गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुसालले पनि पार्टीमा एकलौटी रुपमा गरिएका निर्णय खारेज भए पार्टी पुनः एक भएर अघि बढ्ने बताएका थिए ।