NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

को हुन् विपक्षीलेसमेत श्रद्धाले सम्झिने नवीन्द्रराज जोशी ?

काठमाडौं । नवीन्द्रराज जोशी । नाम सुन्ने र पढ्ने वित्तिकै निष्ठा र सादगीका पर्याय नेताका रुपमा चिनिन्छन्, बुझिन्छन् । इमान्दारिता र सरलता उनकाे अर्काे पहिचान हाे । पार्टीिभित्र मात्र हाेइन विपक्षीसमेत जाेशीकाे नाम श्रद्दापूर्वक लिन्छन् । जोशीको निधनपछि राष्ट्रपति विद्या भण्डारी, जसपा नेता डा. बाबुराम भट्टराई, शंकर पोखरेल, योगेश भट्टराई, विष्णु रिमालसहितका नेताहरुले जोशी निष्ठावान र जुझारु नेता रहेको भन्दै श्रद्धापूर्वक सम्झिएका छन् । जनताका दुःख, कष्ट र वेदनाप्रति हर समय घोत्लिने र चिन्तन गर्ने स्वभाव भएकैले उनलाई जनताले आफ्ना प्रिय नेताको रुपमा बुझ्छन् । उनको पार्टीका कांग्रेस कार्यकर्ता मात्र होइन विपक्षी दलका कार्यकर्तालेसमेत जोशीको नाम श्रद्धा पूर्वक लिने गर्छन् । उनै जोशी मष्तिस्घात भएको एक महिना पुगेकै दिन यस संसारबाट बिदा भएका छन् । १३ फागुनकाे राति शरिरकाे देब्रे भाग नचलेका उनलाइ अस्पतालले मष्तिस्कघात भएकाे पुष्टि गरेकाे थियाे । बीचकाे एक हप्ता स्वास्थ्यमा सुधार हुन खाेजे पनि भेन्टिलेटरकाे सहायतामा उनकाे उपचार भइरहेकाे थियाे । तर, बिरामी भएकाे एक महिना पुगेकै दिन जनता जाेशिला नेता जसले याे संसारबाट बिदा लिए । हरेक क्षण र पल जनताका अभाव, दुःख र कष्टसँग साक्षात्कार गरी उनीहरुलाई केही न केही गर्नमा जोशी परिचित नाम हो । कोभिडको बढ्दो लहरकाबीच पनि जोशी जनताकै बीच नै रहे । चिकित्सक टोली बोकेर मास्क, स्यानिटाइजर बाड्ने मात्रै होइन समस्या पर्दा डाक्टर नै उपलब्ध गराउने वाचासहित उनी आफ्नो निर्वाचन क्षेत्रसहितका जनताका घरघरमा पुगे । जहाँ जाेखिमबाट बच्न उनले हरसम्भव जनचेतना फैलाए । अरु नेता चुनावताका गाउँ, ठाउँ बस्ती र सहर पस्छन् । तर, जोशी जिते पनि हारे पनि जनतासँग घर, आगन र बुइगलसम्म पुगेर उनीहरुका समस्या सुन्न लालयित हुने नेतामा पर्छन् । गत प्रतिनिधिसभा निर्वाचन हारेयता उनी जनताकाे घरबाट टाढिएका थिएनन् । शुक्रबार राति नर्भिक अस्पतालमा उपचाररत उनै जनप्रिय नेताले यो संसार छोडेका छन् । वैचारिक र अध्ययनशील नेताको रुपमा पनि जोशी उत्तिकै परिचित नाम हो । जोशीको जन्म २०२० साल पुस २४ मा भएकाे थियाे । तर ५८ वर्षकै उमेरमा जोशिला जोशीले अल्पायुमा संसार छोडेका छन् । जोशी २०६४ काे पहिलाे र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । उनी काठमाडौं महानगरपालिकाका पूर्वउपमेयरसमेत भइसकेका छन् । उपमेयर भएदेखि नै जोशी जनताका दिल दिमागमा गहिरोगरी बस्न पुगेका थिए । जोशीलाई जनताको दुःख र समस्या बुझ्न नगारिकका बुइगलसम्म पुग्ने नेताको रुपमा चिनिन्छ । पानी नपाउँदा रित्ता गाग्रीसहितका प्रदर्शन होस् की नागरिकले भोग्नुपरेका अरु समस्या नै किन नहुन् उनी जनताबाट कहिल्यै टाढा भएनन् । जोशिला जोशी जनता जगाउन जागिरहन्थे । २०३६ सालबाट जाेशीले विद्यार्थी राजनीति सुरु गरेका थिए । नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्री भएरसमेत उनले काम गरे । प्रजातान्त्रिक आन्दोलनका उनी पटकपटक जेलसमेत परे । लोकतान्त्रिक राजनीतिक प्रणालीले नै देशलाई अघि बढाउने र प्रभावकारी हुने विषयलाई जोशी मूलमन्त्र मान्थे । कांग्रेस केन्द्रीय सदस्य जाेशी पार्टीमा विधि र पद्दतिकाे वकालत गर्नमा अग्रणी माेर्चामा उभिन्थे । जोशीले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका थिए । उनै जोशीले उद्योग मन्त्री हुँदा उद्योग सुधार्नका लागि गरेको कामलाई सम्मानपूर्वक सम्झिने गरिन्छ । नेपालीले नेपालमै बनेकाे सिटामाेल खान पाउने गरी उनले सुधारकाे काम गरेका थिए । हरेक काम विनास्वार्थ गर्ने भएकाेले पनि यी नेता सबैकाे राेजाइ प्रिय नेतामा गनिन्थे । कुशल संगठनकर्ता र वक्ताको छवि बनाएका जोशी सामाजिक हितका लागि लड्ने अग्रणी नेता मानिन्छन् । जोशीले गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानको संस्थापक तथा अध्यक्ष भएर समेत काम गरे । जोशीका एक छोरी र श्रीमती छन् ।