NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

निजामती प्रशासन झिङ्गे टसाईको सोचबाट मुक्त हुन सकेको छैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडाैं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रुपमा रहेको बताए । समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि उनले बताए । त्यसैले निजामती प्रशसनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको उनको भनाई छ । ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन’ उनले भने, ‘यसलाई विरासतमा पाएको भन्ने गरिएता पनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।’ कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनले बताए । ‘कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहँुदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । यसका पछाडि केही यस्ता कारणहरु छन जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जीर्ण बनाउँदै लगेका छन् भनेर भन्न सकिन्छ’ उनले भने, ‘ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृत्तिजन्य संस्कारका ऐंजेरुहरु कर्मचारीतन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दुरी बढाउँदै लगेको छ ।’ म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारी तन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । कर्मचारीतन्त्र निष्पृय, असंवेदशील र जडसमूह नभएकोले कर्मचारीतन्त्रले आफूलाई संवेदनशील, गतिशील मानवहरुको विवेकशील समूहको रुपमा स्थापित गर्न सक्नुपर्ने उनले बताए ।