NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

२०४७ सालको संविधान पुनःस्थापना माग गर्दै वैशाख ११ मा प्रदर्शनको घोषणा

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै वैशाख ११ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी २०४७ सालको संविधान पुनःस्थापना महाअभियानका अभियन्ताहरुले प्रदर्शन गर्ने घोषणा गरेका हुन् । अभियन्ताहरुले २०७२ सालको संविधान खारेज गर्न र २०४७ को संविधानलाई पुनःस्थापना गर्न माग समेत गरे । अभियानका प्रमुख संयोजक किशोरी महतोले अहिलेसम्म सात वटा संविधान बनिसकेको भन्दै अब आठौ संविधानको परिकल्पना गर्न नहुने बताए । उनले २०४७ को संविधान कुनै संशोधन नगरी सोही संविधान पुनः स्थापना गर्नुपर्नेमा जोड दिए । स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालले राजा, राजनीतिक दल र जनताले बनाएको २०४७ को संविधानलाई नै फर्काउनुपर्नेमा जोड दिए । उनले भने, ‘देशको हितको लागि ४७ सालको संविधानमा फर्कनुको विकल्प छैन ।’ संविधान पुनः स्थापना महाअभियान २०४७ का संयोजक विक्रम बहादुर बमले २०७२ सालको संविधानले काम नगरेको तर्क गरे । उनले २०४७ को संविधानमा प्रजातान्त्रिक भएको जिकिर गरे । अभियानका अर्का संयोजक शोभाराम थापाले २०४७ सालको संविधानमा नफर्किए देशले निकास नपाउने बताए । उनले भने, ‘पुरानो संविधान नै जनताको हितमा छ ।’ उनले संविधान पुनःस्थापना गर्नुपर्नेमा जोड दिए । संविधान पुनस्थापना महाअभियान २०४७ का महासचिव चक्र देव जोशीले २०४७ सालको संविधान परिर्वतन गरेर २०७२ सालको संविधान जारी गर्नु नै नेताहरुबाट गल्ती भएको आरोप लगाए ।