NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोनाबाट निकाे हुने एक तिहाइमा देखियो मस्तिष्कसम्बन्धी समस्या

कोरोना भइरस (कोभिड–१९) को संक्रमणमा परेका एक तिहाइ संक्रमितलाई मनोवैज्ञानिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको पाइएको छ । त्यसमा पनि कोरोनाकै कारण अस्पताल भर्ना भएका र गहन उपचार पाएकामा भने यस्तो समस्याको खतरा झनै धेरै देखिएको छ । बेलायतका वैज्ञानिकले गरेको अनुसन्धानमा यस्तो देखिएको हो । त्यहाँका वैज्ञानिकले अमेरिकाका पाँच लाख कोरोना संक्रमितमा मनोवैज्ञानिक र मस्तिष्कसम्बन्धी हुने सम्भावित जोखिमबारे अध्ययन गरेका थिए । त्यसमध्ये कोभिड–१९ भएकालाई मुड डिसअर्डर(मनोदशा बदलिने) र एन्जाइटी(चिन्ता) को समस्या अधिकांशमा देखिएको थियो । अध्ययनमा दुई समूहका व्यक्तिमाथि अनुसन्धान गरिएको थियो । एक, कोभिड–१९ को संक्रमण भएका र अर्को सामान्य रुघाखोकी भएका । अक्सफर्ड विश्वविद्यालयले गरेको उक्त अध्ययनले मस्तिष्कसम्बन्धी समस्याका लागि अन्य फ्लूभन्दा कोभिड हुनु मुख्य कारण रहेको निष्कर्ष निकालेको थियो । त्यसमा कोरोना संक्रमण हुनेहरूमा मनोवैज्ञानिक र मस्तिष्कसम्बन्धी समस्या हुने सम्भावना १६ प्रतिशतले देखिएको थियो । अन्य फ्लुबाट निको भएकाको तुलनामा कोभिडबाट निको भएकामा यस्तो समस्या हुने सम्भावना ४४ प्रतिशतले बढी भएको पाइएको छ । कोरोना संक्रमित भएका २४ प्रतिशत बिरामीमा मुड डिसअर्डर र एन्जाइटीजस्ता समस्या देखिएको थियो भने गम्भीर प्रवृत्तिका २५ प्रतिशत बिरामीमा यो समस्या देखिएको छ । त्यस्तै गहन हेरचाह पाएका कोेभिडका २८ प्रतिशत बिरामीमा यस्तो समस्या देखिएको छ । डेलिरियमको समस्या भएका ३६ प्रतिशत बिरामीमा मनोवैज्ञानिक तथा मष्तिष्कसम्बन्धी समस्या देखिएको छ । त्यस्तै कोभिड लागेका बिरामीमा दुई प्रतिशतमा स्ट्रोकको समस्या देखिएको छ । त्यसमा पनि आइसियूमा भर्ना भएकामा यो समस्या ७ प्रतिशत छ भने डेलिरियम भएकामा ९ प्रतिशत । त्यस्तैगरि सबै कोभिड बिरामीमा ०.७ प्रतिशतले डिमेन्सियाको पनि समस्या देखिएको छ ।