NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

धराशायी निगममा महाप्रबन्धकलाई तलब पुगेन, दुई गुणा बढाउने प्रस्ताव

४६ अर्ब ऋण६ चिनियाँ जहाज पूर्ण रुपमा ग्राउन्डेडभएका जहाज पूर्ण क्षमतामा उडाउँदैनन्आधा भन्दा बढी कर्मचारी भूमिकाविहीन । यो, नेपाल वायुसेवा निगमको वास्तविक तस्विर हो । अनियमितताका अनेकौं काण्ड र व्यवस्थापनको असक्षमताले निगम थङथिलो छ । तर, निगम नेतृत्व भने यही कमजोर संस्थानलाई निचोरेर फाइदा लिन अग्रसर छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल यस्तो प्रवृत्तिको पछिल्लो उदाहरणका रुपमा उदाएका छन् । पौडेलले आफूपूर्वका महाप्रबन्धक भन्दा झन्डै दुई गुणा बढी तलव खानेगरी प्रस्ताव गरेका छन् । यो प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेर अड्किएको छ । मासिक तीन लाखको तलब प्रस्ताव, पूर्व महाप्रबन्धक भन्दा दुई गुणा बढी निगमका महाप्रबन्धक पौडेलले तीन लाख तलब खानेगरी आफैंले प्रस्ताव अघि बढाएका हुन् । उनकै प्रस्तावमा पर्यटन मन्त्रालयले टिप्पणी उठाएर मन्त्रिपरिषद्मा निर्णयका लागि पठाएको थियो । तर मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयको सहमतिमा मात्र निर्णय गर्न सकिने जवाफ पठाएपछि सहमतिका लागि प्रस्ताव अर्थ मन्त्रालय गएको छ । गत २२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि उनलाई निगम महाप्रबन्धकमा नियुक्त गरेको थियो । सामान्यतया मन्त्रिपरिषद्ले कुनै नियुक्तिको निर्णय गर्दा सम्बन्धित पदाधिकारीको तलव पनि तोक्छ । तर, उनको नियुक्तिमा तलव तोकिएन । जसका कारण उनले हालसम्म तलव बुझ्न पाएका छैनन् । यही रोकिएको तलबमा साविकको भन्दा निकै बढाएर उनले प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयका सहसचिव केदार पनेरुले महाप्रबन्धकको तलब प्रस्ताव अस्वभाविक हुन नदिने बताए । ‘महाप्रबन्धकको तलब प्रस्ताव भएर मन्त्रालयमा आएको छ, ठूलो स्केलको प्रस्ताव आउँदा स्वीकृत हुन सक्दैन ।’ सहसचिव पनेरुले नेपालवाचसँग भने । संस्थाको आर्थिक अवस्था कमजोर बन्दै गएको कारण देखाउँदै निगममा कार्यरत पाइलटहरूको तलब कटौती गरेका पौडेलले आफ्नै तलब पूर्व महाप्रबन्धकको भन्दा दोब्बर बढाउने प्रस्ताव गरेका हुन् । यसअघिका महाप्रबन्धक सुगतरत्न कंसाकारले १ लाख २५ हजार रुपैयाँ तलब बुझ्थे । महाप्रवन्धक पौडेलले आफ्नो तलब तोक्न पर्यटन मन्त्रालयले प्रस्ताव अघि बढाएकोबारे जानकारी नभएको बताए । पौडेलले प्रस्तावित तीन लाख तलब आफूले खाइपाइ आएको भन्दा पनि कम भएको बताए । ‘यदि तीन लाखको स्केलको प्रस्ताव गएको हो भने, यो त मैले पाउँदै आएको सुविधा भन्दा पनि कम हो,’ पौडेलले नेपालवाचसँग भने । तर मन्त्रालय स्रोतले भने पौडेलसँग छलफल भएरै प्रस्ताव गएको बताउँछ । ‘उहाँको तलब प्रस्तावअघि छलफल भएको छ, थाहै भएन भन्ने कसरी हुन्छ ?’ मन्त्रालयका एक कर्मचारीले भने । खर्च व्यवस्थापन गर्न पाइलटको तलब काट्ने आफ्नो बढाउने केही समयअघि पौडेलले चिनियाँ जहाजमा कार्यरत पाइलटहरूको तलब कटौती गरेर २४ हजारमा झारेका थिए । उड्दै नउड्ने जहाजको तलबभत्ता दिँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाउने भन्दै पाइलटहरूले पाउँदै आएको ४५ घण्टे न्यूनतम ग्यारेन्टेड अवधिको सुविधा कट्टा गरिएको थियो । तर, सुविधा कटौतीको निर्णयविरुद्ध पाइलट र कर्मचार संघ नै उत्रियो । चर्को आलोचना र विरोधका बीच निगम व्यवस्थापन पाइलटहरूको तलब सुविधाको निर्णय दुई महिनामै फिर्ता लिन बाध्य भयो । दुई गुणा बढी तलब बढाउने गरी पौडेलले खासै प्रशंसनीय काम नगरेको निगमका पदाधिकारी बताउँछन् । पौडेलका निगम सहकर्मीले नेपालवाचसँग भने, ‘उनले हवाई क्षेत्र पढेका पनि होइनन् । न त यस क्षेत्रका विज्ञ नै हुन्, कुनै राम्रो काम गरेवापत तलब बढाउने हो भनेपनि त्यस्तो केही काम गरेका छैनन् ।’ निगमका पूर्व महाप्रबन्धक कुल बहादुर लिम्बु तलब बढ्नु राम्रो भएको बताउँछन् । तर, समयमात्रै नभएर व्यक्तिको कार्यक्षमता र उसले संस्थामा दिएको प्रस्तुतिलाई बढी ध्यानमा राखेर मात्रै तलब बढाउनुपर्ने उनको बुझाइ छ । सन् २०६४ सालमा महाप्रबन्धक हुँदा लिम्बुले २४ हजार मासिक तलब बुझेका थिए । निगमका वोर्ड सदस्यहरुले समेत यस्तो अवस्थामा महाप्रवन्धकको मात्र तलब बढाउनुको कुनै तुक नभएको बताउँछन् । ‘महाप्रवन्धकको तलब बृद्धि गर्दा संस्थाको के हित हुने रहेछ ?, निगम बोर्डका एक सदस्यले प्रश्न गर्दै भने, ‘के वापत तलब बढाउन लागिएको हो ? तलब लिनेले पनि पुष्टि गर्न सक्नुपर्छ ।’ अन्यथा निगमका कर्मचारीहरुमा निरासा मात्रै पैदा गर्ने उनको बुझाई छ । निगमका पूर्व कार्यकारी अध्यक्ष मदन खरेल तलब बृद्धि गर्नु स्वभाविक भएपनि त्यही अनुसार काम देखाउन सक्नुपर्ने बताउँछन् । ‘अन्य एइरलाइन्सको तुलनामा नेपाल एयरलाइन्सको सिइओको तलब कम हो । तर त्यो अनुसारको काम पनि हुनुपर्छ,’ खरेलले भने, ‘संस्था कमजोर भएको बेलामा झनै राम्रो तलब दिएर संस्थालाई माथि उकास्न सकियो भने राम्रै हुन्छ ।’ तर नेतृत्वले आफ्नो मात्र सुविधा हेर्ने, कर्मचारीको मनोबल गिराएर काम गर्दा संस्था थप कमजोर हुने टिप्पणी गरे । भएका जहाज ग्राउण्डेड, उड्ने पनि पूर्ण क्षमतामा छैनन् आन्तरिकतर्फ यतिबेला निगमको बजार पकड दयनीय छ । हाल निगमसँग आन्तरिकतर्फ तीनवटा ट्वीनअटर जहाज रहेकोमा एउटा विगत ६ वर्षदेखि बिग्रेर थन्किएको छ । यसबाहेक हाल आन्तरिकतर्फ निगमका ६ वटा चिनियाँ जहाज ग्राउण्डेड छन् । व्यवसायिक नाफा नदेखेर ग्राउण्डेड गरिएका ती जहाज नउडाएकै कारण यतिबेला बजार मूल्य पनि घट्दै छ । ६ वर्षअघि ६ अर्ब ६६ करोडमा खरिद गरिएका ती जहाजको मूल्य यतिबेला बजार भाउभन्दा आधा घटेको छ । निगम व्यवस्थापनले सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गराउँदा चिनियाँ जहाजको मूल्य ३ अर्ब ८९ करोड १० रुपैयाँमात्रै देखिएको छ । जहाजको प्रचलित मूल्य कायम गर्नु एकमात्रै उपाय जहाज उडाउने हुँदा जहाज नउडाएपछि त्यसको मूल्य झनै घट्दै जाने विज्ञहरू बताउँछन् । चिनियाँ जहाज भाडामा लगाउन निगमले अहिले इन्जिनियरिङ विभागका प्रमुख कर्ण बहादुर थापाको संयोजकत्वमा अध्ययन टोली गठन गरेको छ । हाल अन्तर्राष्ट्रियतर्फ निगमको दुईवटामात्रै जहाज सञ्चालनमा छन् । दुईवटा न्यारोबडी जहाजमा एउटा न्यारोबडी (ए–३२०) सि–चेकका लागि सिंगापुर लगिएको छ । त्यस्तै दुईवटा वाइडबडी जहाज (ए–३३०) मा एउटा जहाज हार्ड ल्यान्डिङका कारण ग्राउन्डेड छ । ऋण तिर्न नसक्ने अवस्थामा निगम जहाज खरिदका लागि निगमले नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको ऋण तिर्न सकेको छैन । संस्थाको कमजोर आर्थिक अवस्था भएको बेलामा महाप्रबन्धकको तलब बढाउने प्रस्ताव जानुलाई ‘अनुपयुक्त समय’ को संज्ञा दिन्छन् निगमकै एक पूर्व महाप्रबन्धक ‘तलब सुविधा बढ्नुपर्छ । तर निगमको हकमा भने तलब वृद्धि गर्नका लागि यो उपयुक्त समय नै होइन,’ ती पूर्व महाप्रबन्धकले भने । निगमले एयरबस ३२० जहाज खरिद गर्दा सञ्चय कोषसँग लिएको ऋण १० अर्ब रुपैयाँ बाँकी छ । त्यस्तै एयरबस ३३० जहाज खरिदका लागि सञ्चाय कोषसँग लिइएको १२ अर्ब ऋणको किस्ता र ब्याज तिर्न नसकेपछि १५ अर्र्ब पुगिसकेको छ । यसका अतिरिक्त अन्य पनि जोड्दा निगमको ऋण यतिबेला ४६ अर्ब हाराहारी पुगेको छ ।