NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

केन्द्रीय समिति बस्नु एक दिनअघि किन बोलाए देउवाले पदाधिकारी बैठक ?

काठमाडौं । तल्लो तहका अधिवेशन सुरु हुन धेरै समय बाँकी नहुँदा पनि समायोजन र सदस्यताको विषय नटुंगिएपछि कांग्रेसले छलफल गर्न पदाधिकारीको बैठक बोलाएको छ । सोमबार केन्द्रीय समितिको बैठक बस्नुपूर्व आइतबारलाई सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । ‘महाधिवेशनको तयारीका सिलसिलामा छलफल गर्न सोमबार केन्द्रीय समितिको बैठक बोलाइएको छ । ‘त्यसपूर्व आन्तरिक समायोजन र क्रियाशील सदस्यताको विषयमा भएको प्रगतिबारे छलफल गर्न सभापतिले पदाधिकारीको बैठक आइतबार दिउँसो बस्ने गरी बोलाएनुभएको छ,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘पदाधिकारी बैठकमा आन्तरिक समायोजन क्रियाशील सदस्यताको प्रगतिबारे छानविन समितिसँग बसेर छलफल गर्न खोजेका हौं ।’ अधिवेशन तलमाथि नहुने भए पनि समयमा काम नहुँदाको अवस्थामा केही न केही समाधानको बाटो निकालिने खड्का बताउँछन् । ‘समायोजनदेखि सदस्यता टुंग्याउन बाँकी नभएको होइन । तर, हामी केही न केही समाधानको बाटो निकाल्न प्रयासरत छौं’ खड्काले भने, ‘अधिवेशनको समय अब तलमाथि हुँदैन । तर, समयको व्यवस्थापनमा हामी केही समाधान निकाल्न केन्द्रित छौं ।’ नेता रमेश लेखकको नेतृत्वमा रहेको सदस्यता छानविन समितिले दिने सुझावका आधारमा समय व्यवस्थापनको मोडालिटी बनाउने तयारी कांग्रेसको छ । यसअघि चैत १० भित्रै सदस्यता टुंग्याउने समय जिल्लालाई दिइए पनि चार जिल्लाले मात्र अन्तिम टुंगो लगाएका थिए । बाँकी धेरै जिल्लाको सदस्यताको विषय अझै टुंगो लागिसकेको छैन । असारबाट तल्लो तहको अधिवेशन सुरु हुनुपर्ने भए पनि समयमा सदस्यताको टुंगो नलाग्दा समयमा हुन गाह्रो देखिएको छ । आगामी भदौ ७ देखि १० सम्म १४ औं महाधिवेशन गर्ने कार्यतालिका छ । तर तल्लो तहको अधिवेशन समयमा टुंगिन अझै नसक्दा फेरि पनि कांग्रेसको महाधिवेशन अन्यौलमा पर्ने हो की भन्ने देखिएको छ । भदौबाट अब कांग्रेसको महाधिवेशन पछाडि सार्ने सुविधा पार्टी नेतृत्वलाई छैन । यस्तोमा सदस्यता टुंग्याउन नसकेका जिल्लालाई महाधिवेशनमा भाग लिन नपाउने गरी दबाब दिने विषय पनि कांग्रेसमा उठेको छ । पदाधिकारी बैठकमा छानविन समितिको बिफ्रिङपछि सोमबारदेखि हुने केन्द्रीय समितिको बैठकले समायोजन र सदस्यताको बारेमा एउटा निर्णय लिनेछ । बैठकमा पछिल्ला दिनमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गरेको प्रयत्नका विषयमा पनि छलफल हुने बुझिएको छ ।