NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रधानमन्त्रीले जनता झुक्याए : सिंह

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन् । संविधान विपरीत गलत कदम चालेको प्रधानमन्त्री अदालतले संसद पुनरस्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्न लागेको आरोप सिंहले लगाए । संसदीय व्यवस्था गलत हो भनेर प्रधानमन्त्री नियोजित रुपमा व्यवस्था नै मास्न अघि बढेको समेत बताए । संसद विघटन जायज हो भन्ने लाग्छ भने संसदमा उभिएर विघटनको कदम सकारात्मक थियो भन्ने स्पष्टीकरण दिन पनि सिंहले प्रधानमन्त्रीलाई चुनौती दिए । विभिन्न बहानाबाजीमा प्रधानमन्त्रीले संसद बैठक छलेको भन्दै सिंहले आपत्ति जनाए । नेपाल दलित संघको आयोजनामा आइतबार काठमाडौमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको विकास गरेको भनेर प्रधानमन्त्रीले जनतालाई झुक्याउने काम गरेको आरोप पनि लगाए । ‘यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ । नभएको विकास भयो भनेर जनताको मत र विश्वासमाथी खेलवाड गरिरहेको छु’ उनले भने । देशमा संकट पर्दा काङ्ग्रेसले सधै जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिलाउन पनि काङ्ग्रेसकै आफ्नो नेतृत्वको सरकार निर्माणको प्रयास भएको बताए । ओली नेतृत्वको सरकार सरकार पूर्णतः असफल भैसकेको र भ्रष्टाचारमा लिप्त रहेकोले यतिखेर बाध्यात्मक रुपमा कांग्रेसले सरकारमाथि दाबेदारी गर्नुपरेको उनको भनाई छ । साथै सन्त नेता किसुनजीको सपना र योजनामा मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास शुरुआत भएको दाबी उनले गरे । सरकारले किसुनजीलाई सम्मान गर्नुको सट्टा आफैंंले मेलम्ची काठमाडौं ल्याएको भनेर अनावश्यक चर्चा गरेको आरोप सिंहको छ । पार्टी नेतृत्वमाथि आक्रोस सिंहले कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय विपरीत केही नेताले आफूखुशी मनपरि गर्दा समस्या आएको बताए । महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहानाबाजी र नियुक्तिपत्र वितरणले विधि पद्धतिको उपहास भएको उनको भनाई छ । इतिहासको कुरा गरेर मात्रै पार्टी बलियो नहुने भन्दै वास्तविक धरातलमा उभिएर राजनीति गर्नसमेत नेता कार्यकर्तालाई सिंहले आग्रह गरे ।