NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

राजकुमार फिलीपको अन्येष्टिमा ३० जना मात्रै सहभागी हुने, दरबारमा फूल नचढाउन आह्वान

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा निधन भएका फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिए । गत शुक्रबार नै उनको निधन भए पनि संवैधानिक प्रक्रियामार्फत उनको अन्त्येष्टि गर्नुपर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ । कोरोनाभाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ । उनको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पूरै झण्डा झुकाइने छ । उनको निधनपछि बेलायती पूर्व युवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किने भएका छन् । राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी आफ्नी श्रीमती मेघन बेगर नै बेलायत आउन लागेका हुन् । मेघन गर्भवती भएकाले यात्रा नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए । दिवंगत फिलीपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो । उनलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन् । बरु उनको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन् । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घमले घोषणा गरेको थियो । सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएको राजदरबारले जनाएको छ । उनीहरुको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बनेकी थिइन् । ‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनाति–पनातिनीहरू छन् । राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१ जुन १० मा जन्मिएका थिए ।