NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चितवनको रामपुरमा गाडी दुर्घटना, दुईको मृत्यु, सातजना घाइते

चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको सूचनाअनुसार भ्यान अनियन्त्रित भई  कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुईजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका हुन् । मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेको प्रहरीले जनाएको छ। तीमध्ये ४५ वर्षीय देखिने पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९:३५ बजे दुर्घटनामा परेको हो । रासस