NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

विद्यालय बन्द गर्ने सिफारिसप्रति प्याब्सनको आपत्ति, सावधानी अपनाउँदै खोल्न दिनुपर्ने माग

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कम्तिमा तीन साताका लागि देशैभरका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । तर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले उक्त निर्णयप्रति आपत्ति जनाएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै लकडाउन मात्र कोभिड रोकथामको उपाय नभएको भन्दै स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय खोल्न दिनुपर्ने माग गरेको छ । ‘२०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ । विगतको बन्दाबन्दी पश्चात विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयहरूका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको बताइएको छ । ‘आवश्यकता अनुसार शिक्षालयहरूमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयहरूमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ । सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न पनि प्याब्सनले सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको छ । ‘आ–आफ्ना बालबालिकाहरूलाई संक्रमणबाट जोगिन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दुरीको अवलम्वनका साथै स्वास्थ्यवर्धक खानपिन गराउने जस्ता कार्यहरुमा सहयोग पु¥याईदिनुहुन आम अभिभावकहरूलाई अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ, ‘मुलुकभर कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केहि निश्चित समयका लागी मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिनुहुन नेपाल सरकार सँग माग गर्दछौं ।’ प्याब्सनले विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट सबै ठाउँमा पठनपाठन सञ्चालन गर्न सम्भव नरहेको पनि स्पष्ट पारेको छ । कोरोनाको दोस्रो लहरले १८ वर्ष मुनिका बालबालिकाहरु समेत प्रभावित हुन सक्ने पुष्टि भइरहँदा र बालबालिकाहरुका लागि भ्याक्सिनको परीक्षण समेत भइनसकेको सन्दर्भमा उक्त समूहलाई संक्रमित हुनबाट जोगाइराख्न अपनाउनु पर्ने स्वास्थ्य सावधानीका सन्दर्भमा आफूहरु अत्यन्त गम्भीर रहेको प्याब्सनले भनेको छ ।