NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रचण्डका दुई गल्ती ! जसका कारण नेकपा टुक्रियो

काठमाडौं । राजनीतिमा आफ्नो गल्ती स्वीकार गर्ने प्रचलन विरलै देख्न पाइन्छ । कुनै नेताले आफूले गरेको गल्तीको पश्चाताप गर्दै माफी मागेको त अपवाद नै मान्नुपर्छ । एक नेता मात्रै छन्, जो आफ्नो गल्ती सहर्ष स्वीकार गर्दै माफी माग्न कत्ति पनि दकस मान्दैनन् । उनी हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनी यति सहज छन् कि आफूले नेतृत्वमा रहँदा गरेको गल्ती सहजै स्वीकार मात्रै होइन, माफी माग्न पनि तयार हुन्छन् । तर, विडम्बना गल्ती स्वीकार गर्दै माफी त माग्छन् तर, व्यवहारतः सुध्रने छाँट भने कहिले देखाउँदैनन् । पहिलो संविधानसभा निर्वाचनपछि सरकार र संसदको नेतृत्व गर्दा जनअपेक्षा अनुसार काम गर्न नसक्दा माओवादी केन्द्र २०७० को निर्वाचनमा नराम्रोसँग पराजित हुन पुग्यो । त्यसबेला प्रचण्डले माफी माग्दै भनेका थिए, ‘हामीले खासमा सत्ता कब्जा गरेर समाजवाद ल्याउन खोजेका हौँ । तर, तत्काल सम्भव नदेखेपछि शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिबाटै समाजवाद स्थापना गर्ने सोच्यौँ । त्यो नै मेरो गल्ती थियो ।’ नेकपा विभाजनपछि नेपालको कम्युनिष्ट आन्दोलनमा निकै हलचल मच्चिएको छ । कम्युनिष्ट आन्दोलनलाई बृहत बनाउँदै समाजवाद स्थापनाका लागि एकता भएको नेकपा पनि फुटेर पूर्ववतः माओवादी केन्द्र र नेकपा एमाले नै ब्यूँतिएको छ । पार्टी फुट्नुमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै कारक होइनन्, माओवादी अध्यक्ष प्रचण्ड पनि उत्तिकै कारक हुन् । भावनामा बहकिनु मात्रै होइन, अस्थिर प्रवृत्तिका कारण पनि प्रचण्ड कोहीसँग पनि लामो समय सहकार्य गरिरहन सक्दैनन् । उनलाई नेपाली राजनीतिका अस्थिर खेलाडीका रुपमा पनि चिनिन्छ । अहिले नेकपा फुट्नुमा प्रचण्ड आफैंले आफ्नो गल्ती भएको बताएका छन् । आफ्नै मुख्य दुई गल्तीका कारण अहिले नेकपा विभाजन भइ तिरवितरको स्थितिमा पुगेको उनले बताएका छन् । करिब करिब सिद्धिने स्थितिमा पुगेको पार्टी र माओवादी आन्दोलनलाई जोगाउन नेकपा एमालेसँग निर्वाचनदेखि नै गठनबन्धन गरेर पार्टी एकता गराए । तर उनको त्यो उद्देश्य भने अहिले पूरा हुन सकेन । त्यसैले उनी सार्वजनिक कार्यक्रममा जाँदा केपी ओलीमाथि खनिने मात्रै नभइ, आफूले गरेका गल्तीमाथि पश्चाताप पनि गर्दै हिँड्न थालेका छन् । यस्तै, शनिबार एक कार्यक्रमका क्रममा माओवादी अध्यक्ष प्रचण्डले आफ्नै मुख्य दुई गल्तीका कारण नेकपा फुटको संघारमा पुगेको बताएका छन् । के हुन् त मुख्य दुई गल्ती ? प्रधानमन्त्री केपी ओली अहिले मात्रै होइनन्, यतिबेलादेखि नै हठी हुन् । माधव नेपाल र झलनाथ खनाल मिलेर कुनैबेला ओलीलाई पार्टीभित्र माथि उठ्नै दिएका थिएनन् । पछि माधव नेपालसँगै मिलेर ओलीले खनाललाई भित्तामै धकेले । वामदेव गौतमको सहयोगपछि अध्यक्ष बनेका ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दीमा डटेरै सामना गरे । सोही छविका कारण २०७४ को निर्वाचनमा सीमित संख्यामा पुगिसकेको माओवादीलाई समेत सँगै लिएर ओलीले बहुमत ल्याए । प्रचण्डलाई ओलीको हठी प्रवृत्ति थाहा नभएको भने होइन । थाहा हुँदा हुँदै पनि प्रचण्डको मनसाय पार्टीभित्रैबाट परास्त गरी बहुमत प्राप्त पार्टीको एक अध्यक्ष हुने उद्देश्य थियो । तर, ओलीले त्यो सपना पूरा हुन दिएनन् । प्रचण्ड आफैंले पनि पार्टी एकता हुँदा ओलीसँग जुन सहमति भएको थियो त्यो कार्यान्वयनमा आफू फितलो भएको बताएका छन् । ‘पार्टी फुट्ला कि भन्ने त्रास, एकता गडबढ हुन्छ कि भन्ने पीरले मैले उनको हठलाई उदारताका साथ मान्दिएँ,’ प्रचण्डले भनेका छन् । उनी आफूले ओलीको हरेक कुरामा मिठोसँग पग्लिँदै गएको र उनी हावी हुँदै गएको बताए । ‘म भावनामा बहकिँदै गएँ । उनले कमरेड पछि यसो गरौंला नि भनेपछि म मिठोसँग पग्लिएँ । अहिले यस्तै भइदियो त के गरौं । सहमति जस्ताको त्यस्तै लागू गराउनुपर्ने रहेछ,’ उनले भने । प्रचण्डले आफू भावनामा बहकिने भएका कारण पनि सहजै ओलीको शक्तिका लागि प्रयोग भइदिएको स्वीकारे । उनले आफ्नो दोस्रो गल्ती पनि स्वीकारेका छन् । त्यो एक हदसम्म सत्य पनि छ । नेपालका अधिकांश नेता निर्वाचनपछि गाउँ फर्किँदैनन् । परिवारका मानिसलाई सत्ता र शक्तिमा राख्ने, जनतासँग गरेका वाचा बिर्सने । यो आम वात हो । प्रचण्ड पनि आखिर नेपाली राजनीतिज्ञ नै हुन् । उनी आफैंले पनि पार्टी एकतापछि आफूले जनतासँग जुन खालको बलियो सम्बन्ध बनाउनुपर्ने हो त्यो बनाउन नसकेको स्वीकारेका छन् । कार्यकर्तासँग माफी माग्दै उनले भने, ‘दोस्रो गल्ती भनेको अब एकता गरेरै ठिक पार्छौं भन्ने लाग्यो । आफ्नो संगठन र आफ्नै जनतालाई बिर्सन पुगेछु । जति सम्बन्ध बलियो बनाउनुपर्ने थियो । त्यो बनाउन सकिनँ । त्यही कारण पनि अहिले पछुतो मान्दै हिँड्नुपरेको छ ।’ जनयुद्धको जग भनेकै कर्णाली हो । माओवादी केन्द्रले तत्कालीन स्थितिमा कर्णालीका दुर्गम क्षेत्रलाई नै आधार इलाका बनाएका थिए । तर, सत्तामा पुगेपछि पनि उनै नेताहरुले एक पटक पनि फर्केर हेरेनन् । जसको परिणाम २०७० र २०७४ को निर्वाचनमा माओवादीले भोगिसकेको छ । अहिले भने करिब दुई दशकपछि फेरि प्रचण्डले कर्णाली सम्झिएका छन् । उनी फेरि कर्णालीबाट आन्दोलनको जग बसाउनुपर्ने बताउँदैछन् । हिजो आफूहरुको कुन्नि के ताल नमिल्दा ध्यान दिन नसकिए पनि अबको अर्को आन्दोलन फेरि कर्णालीबाटै सुरु गर्नुपर्ने उनको भनाइ छ । गल्ती गर्ने, माफी पनि मागिहाल्ने तर, सत्तामा पुग्नका लागि पुनः अस्थिरताको बाटो अपनाउने प्रचण्डको आदत नै बनिसकेको छ । सोही कारण नै अहिले नयाँ सरकार गठन हुन पनि सकेको छैन । स्थानीय तहको पहिलो निर्वाचनमा कांग्रेसँग एकता गरेर आफ्नी छोरी रेणु दाहाललाई जिताएका प्रचण्डले ५ महिना नपुग्दै एकाएक एमालेसँग चुनावी गठबन्धन गरे । कांग्रेस सभापति शेरबहादुर देउवा पनि सोही कारण शशंकित छन् । यस्तै, आफूलाई मधेशीका मसिहा बताउँदै आए पनि उनी सरकारमा भएका बेला मधेशी पार्टीका माग पनि पूरा भएका देखिँदैनन् । सोही कारण मधेशवादी दल पनि प्रचण्डप्रति त्यति विश्वास राख्दैनन् । उनी आफ्नो स्वार्थ मिल्ने भएमा अहिले सत्तोसराप गरेका ओलीसँग कुनै दिन फेरि ‘गल्ती भएको हो, अब सच्चिएर अघि बढौं’ भन्ने बेर नलाउने गरेको नेताहरु बताउँछन् ।