NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कोरियामा बसाइँ अवधि सकिएका मजदूर थप १ वर्ष बस्न पाउने

सोल । इपीएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा १ वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल १३ देखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित भएको छ । प्रवासी श्रमिक युनियन (एमटीयू) का अध्यक्ष उदय राईले आगामी डिसेम्बरसम्म ३ वर्षको कार्यकाल सकिने श्रमिकको तथा हाल ४ वर्ष १० महिनाको भिसा सकिएर स्वदेश फर्किनुपर्ने श्रमिकको अवधि १ वर्ष थपिने बताए । यसरी भिसा थपिने भएपछि आगामी डिसेम्बरसम्म ३ वर्षको अवधि सकिने तथा हाल ४ वर्ष १० महिनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइँ अवधि ५ वर्ष १० महिनाको हुनेछ । ३ वर्षको कार्यकाल सकिने श्रमिकले १ वर्ष थपेर ४ वर्ष पूरा गरेपछि पुनः पहिलेकै नियमानुसार १ वर्ष १० महिनाको प्रवेशाज्ञा थप्न सक्नेछन् । राईका अनुसार कोरियामा १३ महिनादेखि केही कम्बोडियाली श्रमिकबाहेक विदेशी मजदूर भित्रिएका छैनन् । यसरी विदेशी श्रमिक नभित्रिँदा हुन गएको श्रमिक अभावलाई पूर्ति गर्न तथा कोरोनाका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकलाई राहत दिन सरकारले उक्त नियम ल्याएको हो । (जीवन खत्री/रासस)