NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मंगल ग्रहमा निलो बालुवाको ढिस्का

काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले मंगल ग्रहको निकै सुन्दर तस्वीर जारी गरेको छ । तस्वीर हेर्दा सुन्दर मात्रै होइन, निकै आकर्षक पनि छ । यो तस्वीर हेरेपछि मानिसहरु मंगल ग्रहबारे जान्नका लागि उत्साहित भएका छन् । वास्तवमा यो तस्वीर मंगलको ब्लू डन्सको हो । अर्थात निलो रंगका बालुवाको ढिस्काको हो । नासोको ओडिसी अर्विटरले यो तस्वीर खिचेको थियो । ओडिसीको स्पेसमा २० वर्ष पूरा भएको छ । सन् २००१ मा लञ्च गरिएको ओडिसी मंग्रल ग्रहमा सबैभन्दा लामो समय रहने अर्विटर बनेको छ । पछिल्ला केही वर्षयता मंगल ग्रहको अनुसन्धानमा वैज्ञानिकहरु निकै उत्सुक बन्दै गएका छन् । अन्तरिक्ष अनुसन्धानमा प्रतिस्पर्धा गरिरहेका देश अहिले मंगल ग्रहमा कसले पहिले मानिस पठाउने भन्ने ध्याउन्नमा लागेका छन् । नासाले तस्वीर जारी गर्दै मंगल ग्रहमा निलो रंगका बालुवाका ढिस्का भनेर क्याप्सनमा लेखेको छ । मंगल ग्रहबाट आएको यो फोटो सामाजिक सञ्जालमा चर्चित बन्दै गएको छ । उक्त फोटोलाई ओडिसीले उत्तरी पोलबाट लिएको थियो । यी निलो रंगका बालुवाका ढिस्काहरु मंगलमा चल्ने तिव्र गतिको हावाका कारण बन्ने गरेका छन् । करिब ३० किलोमिटरको दूरीसम्म यी ब्लु डन्स फैलिएका छन् । यो खास तस्वीर नासाको मार्स ओडिसी अर्विटरको इन्फ्रारेड क्यामेराबाट लिइएको हो । ओडिसी अर्विटरमा लगाइएको यस क्यामेरालाई थर्मल इमिशन इमेजिङ स्टिम भनिन्छ । नासाका अनुसार तस्वीर मंगलको सतहमा फरक–फरक रंग र तापमानलाई दर्शाउँछ । नासाले ओडिसीमा लगाइएको इन्फ्रारेड क्यामेराका सहयोगले मंगल ग्रहमा दिउँसो र रातिको तापमान मापन गर्न सकिने बताएको छ । मंगल ग्रहमा बालुवा, चट्टान वा धुलो के छ भन्ने कुरा यही क्यामेराकै सहयोगले वैज्ञानिकहरुले पत्तो पाउँछन् । वास्तवमा यो तस्वीर अहिलेको भने होइन । सन् २००२ र २००४ मा ओडिसीले लिएको थियो । तर, आज ओडिसी लञ्च गरेको २० वर्ष पुगेको अवसरमा नासाले उक्त तस्वीर सार्वजनिक गरेको हो ।