NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाइयो : सांसद महत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारले मेलम्ची परियोजनालाई देखाएर पेट्रोल र डिजेलको भाउ बढाएको आरोप लगाएका छन् । सोमबार संसद्को शून्य समयमा बोल्दै सांसद् महतले भने, ‘मेलम्ची देखाएर यहाँ पेट्रोल र डिजेलको भाउ बढाइएको छ । समस्या एकातिर छन्, तर सरकार खाली आफ्नै कामको प्रचारबाजीमै लागेको छ ।’ यस्तै उनले विकास र समृद्धिका नारा लाउँदै दाल चामलमाथि भाउ बढाएर जनताको ढाड सेक्ने काम सरकार आफैंले गरेको उनले आरोप लगाए ।‘धरहरा देखाएर सिमेन्ट र डण्डीको भाउ बढाइएको छ । विकास र समृद्धि देखाएर दाल, चामल, नुन, तेलमाथिको भाउ बढाइएको छ । सरकार आफैं जनताको ढाड सेक्नमा उद्दत छ’, महतले भने । सरकारले पार्टीभित्रको झगडा देखाउँदै संसद्लाई नै बन्धक बनाएको उनको भनाइ छ । अहिलेको सरकारले देश र जनताको आवश्यकता, अपेक्षा भन्दा पनि केही नमुना कामहरु देखाएर जनतालाई उल्लु बनाउने काम गरिएको उनले बताए । ‘कोरोना देखाएर यहाँ जनतालाई ऋणमा डुबाइएको छ । राष्ट्रवादको नारा लगाउँदै चुच्चे नक्सा नै गायब पारियो । यस्तो भइराख्या अवस्थामा सबै पार्टीको ध्यान जाओस्’, नेता महतले भने ।