NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

सरकार सकभर लकडाउन गर्न चाहँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तत्काल लकडाउन नहुने बताएका छन्। नयाँ वर्ष २०७८ काे अवसरमा बुधबार बिहान राष्ट्रका नाममा सम्बाेधन गर्दै उनले भने, ‘आज लकडाउन हुन्छ भाेलि लकडाउन हुन्छ भनेर हल्ला फैलाइएकाे छ। सरकार सकभर लकडाउन गर्न चाहँदैन।’ सतर्कताकाे विधिबाट परिस्थितिलाई बिग्रन दिन नहुने उनले आह्वान गरे। उनले सरकारले लकडाउन गर्ने धम्की दिएको भन्ने हल्ला मात्र बाहिर आएको उल्लेख गर्दै नेपाली जनताको सुरक्षाका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे । ‘पहिलाे प्राथिमकता नागरिककाे जीवन रक्षा हाे। त्यसपछि अर्थतन्त्र, उद्योग, कलकारखाना र शिक्षाका कुरा आउँछ। नागरिकको जीवन नै रहने भने कुनै पनि क्षेत्र फेरि चल्न सक्दैन। उद्योग केही समयका लागि बन्द भए भने पुनःसञ्चालन गर्न सकिन्छ तर जीवन रहने भने पुनःसञ्चालन गर्न सकिँदैन,’ उनले भने । २०७७ मा विश्वले पहिला कहिले पनि नदेखेको कोभिड–१९ को सामना गर्नुपरेको तर्क गर्दै उनले त्यसले मुलुकको समग्र सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा अनेक पक्षहरूमा वर्षभर नै आक्रान्त रहनुपरेको स्मरण गरे । ‘२०७७ को त्यो पीडा त्यसैरूपमा दोहोरिन नपाओस्, फैलिन र जनधनलाई क्षति नपुर्‌याओस् भनेर सरकारले काम गरिहरेको छ,’ उनले भने । कोभिड–१९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न पनि उनले अनुरोध गरे । २०७७ कोभिडको महामारी भए पनि निरर्थक वर्ष नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले उपलब्धिको वर्ष रहेको दाबी गरे । प्रधानमन्त्री ओलीले नागरिक सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको ‍औंल्याए । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सरकार सफल भएको उनले दाबी गरे । ‘हिंसाको बाटोमा हिँडेकालाई शान्तिपूर्ण धारमा ल्याउने काम गरियो, अब हिंसा गर्ने कुनै समूह छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘अब जनतामा सार्वभौमसत्ता छ, जनता र जनताको मन र अभिमत छ, त्यो नै राजनीतिको निर्धारक तत्व हो, यस अवधिमा ठूला सफलताहरू प्राप्त गरेका छौं ।’ २०७७ मा देशका विभिन्न स्थानमा ठूला क्षमताका सभागृहहरू निर्माण गरिएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले गतवर्ष लुम्बिनीमा पाँच हजार जना क्षमताको ध्यानकेन्द्र, गोदावरीमा तीन हजार क्षमताको सभाहल निर्माण सम्पन्न भएको छ भने अन्य थुप्रै ठाउँमा सभागृहहरू निर्माण भइरहेको जानकारी दिए । जनतामा आशा जागेको छप्रधानमन्त्री ओलीले सरकारले २०७७ मा जनतामा आशा जगाउने गरी काम गरेको बताए । ‘जनताको आशा जगाउने काम हामीले गरेका छौं, भविष्यमा आशा र विश्वास जनाउने काम लगातार गर्दै जाने छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रतिदिन साढे पाँच किलोमिटर बाटो बनेको छ, एक दिनमा कम्तीमा १२ वटाका दरले आवासहरू तयार भएका छन्, विभिन्न सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ३० लाख ६० हजारभन्दा बढी छ ।’ उनले महिनाको १ सय रुपैयाँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आज दिनको १ सय रुपैयाँमा पुगेको र आउँदो बजेटमा वृद्धि गरिने जानकारी दिए । योगदानमा आधारित सामाजिक सुरक्षा २०७५ मङ्सिर ११ बाटै सुरु गरेकोसमेत उनले बताए । देशका पूर्वदेखि पश्चिमसम्म पुलहरू निर्माण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नाकाहरू खोल्नुका साथै मध्यपहाडी राजमार्ग तीव्रतर ढङ्गले बनिरहेको बताए । उनले मदनभण्डारी राजमार्ग निर्माण तीव्र रहेको, पूर्वपश्चिम राजमार्ग चौडा बनाउने काम भइरहेको र हुलाकी राजमार्ग केही ठाउँमा मात्र निर्माण बाँकी रहेको सुनाए । पुनः निर्माणमा असाधारण कामप्रधानमन्त्री ओलीले भूकम्पपछि बनेको पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको कामलाई तीव्र रूपमा अगाडि बढाएको बताए । ‘रानीपोखरी उद्घाटन गरिसक्यौं, धरहरा यही महिनाको ११ गते लिफ्टबाट बालबालिका र ज्येष्ठ नागरिक माथि जान सक्ने र माथिबाट काठमाडौंको दृश्यवालोकन गर्न सकिने गरी खुला हुँदै छ,’ उनले थपे । नयाँ हवाई मैदानको स्तरन्नोति र रात्रि सेवा सञ्चालन गरी त्रिवि विमानस्थलमा झर्ने बित्तिकै नयाँपनको अनुभूति दिने खालका विविध काम भइरहेको प्रधानमन्त्रीले उल्लेख गरे । प्रतिकूलताका बीचमा पनि थुप्रै विद्यालयहरू बनेको उल्लेख गर्दै उनले दरबार हाईस्कुलको नवनिर्माण भएको तथा यही ६ गते पाटनढोकामा जापानको सहयोगमा उच्च माध्यामिक विद्यालय उद्घाटन गर्ने तयारी रहेको जानकारी दिए । मेलम्चीको पानी सपनाको गफ होइनप्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौं उपत्यकाको घर-घरमा ल्याउनु सपनाको गफ मात्र नभएको बताए । ‘मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा कसैले गफ भने,’ प्रधानमन्त्री ओलीले भने, ‘मेलम्चीको पानी ल्याउने विषय सपनाको गफ होइन, तर अहिले काठमाडौंका धाराधारामा पानी आइसकेको छ ।’ उनले देशलाई माथि उठाउन डिजिटल नेपालको अभियान सुरु गरेको र विभिन्न आयोजनाहरू सिंहदरबारबाट हेर्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले मिलिनियम च्यालेज्न कर्पोरेशन(एमसीसी) नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा हुँदा सम्झौता भएकोमा वर्तमान सरकारले संसद्मा टेबल गरेको विषयलाई गलत प्रचार गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय एकता कायम गरी सम्पूर्ण सामथ्र्य देश विकासमा लगाउन जरुरी भएको बताउनुभयो । किसानका लागि ‘मेरो कित्ता कार्यक्रम’प्रधानमन्त्री ओलीले नयाँ वर्षमा नयाँ-नयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागि आजदेखि नै ‘मेरो कित्ता कार्यक्रम’ शुभारम्भ हुने बताए । उनले किसानले आफ्ना पूर्जा घरबाटै एपमार्फत हेर्नसक्ने र आधुनिक प्रविधिको माध्यमबाट उक्त काम गरेको जानकारी दिए । ‘नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेका छौं, हामीले थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा छौं,’ उनले भने । उनले हुम्लाको सिमीकोटमा पनि अब सडक पुर्‌याउने, विश्वविद्यालय, अस्पताल, शिक्षालय निर्माणलाई व्यापकता दिइएको उल्लेख गर्दै नेपालमा लगानीका लागि शान्तिपूर्ण वातावरण बनेको र श्रमिक, श्रमदाता र सरकारको सहमतिमा उपयुक्त कानुन निर्माण गर्ने विषय तीव्रताका साथ अघि बढेको बताए । हल्लाका पछि नलाग्न आग्रहप्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका काममा ढुक्क भएर लाग्न र हल्लाका पछि कोही पनि नलाग्न आग्रह गरे । उनले देश र जनताको सर्वपरि हितलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । प्रधानमन्त्री ओलीले भय, त्रास र सम्मानजक रूपमा बाँच्न पाउने विश्व बनाउन जरुरी रहेको उल्लेख गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन सरकार लागि परेको जनाए । प्रधानमन्त्री ओलीले कोभिडबाट बच्न १८ लाख व्यक्तिले खोप लगाइसकेको र बाँकीलाई लगाउने चरणमा रहेको उल्लेख गर्दै रोगबाट बच्न र बचाउन सबैलाई आग्रह गरे । उनले देशवासीलाई सफलता र उन्नतिको वर्ष रहोस् भन्ने शुभकामना व्यक्त गरे ।