NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

विप्लवको हेडक्वाटर किन राजधानी बाहिर ?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीको केन्द्रीय कार्यालय रुपन्देहीको शिवगढीमा बनाउने भएको छ । विप्लव समूहले आफ्नै लागतमा पार्टी सम्पर्क कार्यालयका लागि नयाँ भवन बनाउन लागेको हो । करिब एक करोड लागत अनुमान गरिएको उक्त पार्टी कार्यालयसँगै एउटा सभाहलसमेत निर्माण गर्ने योजना नेकपाको छ । शुरुमा सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई पार्टीको केन्द्रीय कार्यालय बनाउने विप्लव समूहको तयारी छ । महासचिव विप्लवले बुधबार उक्त भवनको शिलान्यास गरेका छन् । शान्तिपूर्ण राजनीतिमा आएको विप्लव नेतृत्वको नेकपाले अहिलेसम्म काठमाडौंमा कुनै औपचारिक कार्यालय खोलेको छैन । भवन निर्माणको जिम्मेवारी पाएका पार्टी केन्द्रीय सदस्य सञ्जीवकुमार झाँक्रीका अनुसार आगामी असारभन्दा अगाडि नै योजना सम्पन्न हुनेछ ।करिब पाँच रोपनीभन्दा बढी क्षेत्रफल रहेको यस क्षेत्रमा नेकपाले केही समयपछि सहिद स्मृति पार्कसमेत निर्माण गर्ने बताएको छ । संरचना निर्माण गर्न लागेको उक्त जग्गा पार्टीको आफ्नै सम्पत्ति भएको नेकपाको दाबी छ । रोल्पामा सम्पन्न आठौँ महाधिवेशनमा नेकपाले देशका विभिन्न क्षेत्र र साबिकका गाविसस्तरमा एक–एकवटा भवन बनाउने योजना पारित गरेको त्यहीअनुसार अहिले काम सुरु भएको झाँक्रीले बताए । उनका अनुसार त्यसैमध्येको एक यही भवन निर्माण गर्ने योजनासमेत थियो ।