NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

खोलामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरीको मृत्यु

लमजुङ । लमजुङको मर्स्यांग्दी गाउँपालिका-३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका २ जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनीहरुलाई पौडी खेल्न नआएको र खोला ८ फिट गहिरो भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोरीसँगै अन्य २ जना साथी पनि घाँस काट्न सँगै गएका थिए । सोमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेको र मुस्कान पनि खोलामा डुब्न लागेपछि पौडी नखेलेका एक जना साथीले लौरीको सहायताले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् । दुवैको शव बेँसीसहर नगरपालिका-८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ । आज बिहान १०/११ बजेतिर परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ । (रासस)