NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘इन्फिल्ड पोकर रन’

काठमाडौं । नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले यस वर्षको ‘एघारौं इन्फिल्ड पोकर रन’ कार्यक्रम आयोजना गरेको छ । १२ वर्ष अघिदेखि नेपालमा सुरू भएको उक्त कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजना गरिएको उक्त कार्यक्रमको सोमबार नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले फ्ल्याग अफ गरी शुभारम्भ गरे पाेकर रन काठमाडौँबाट पोखरासम्म हुनेछ । कार्यक्रममा डा. रेग्मीले कोभिडको कारण पर्यटन क्षेत्र प्रभावित भए पनि स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक पर्यटन चलायमान बनाउनुपर्ने बताए । उनले यस प्रकारका कार्यक्रमले पर्यटन व्यवसायमा उत्साह थप्नुका साथै आन्तरिक पर्यटन चलायमान हुने बताए । ‘कोभिडको कारण अहिलेको परिस्थतिमा अन्तर्राष्ट्रिय पर्यटक आगमन कम हुने हुँदा हामीले कुनै न कुनै रुपमा यस्ता कार्यक्रम गरेर कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन आवश्यक छ’, उनले भने । कार्यक्रममा सहभागी वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डे काजीले पोकर रन जस्ता कार्यक्रमले युवाहरुलाई आर्कषित गरेको र यस प्रकारका कार्यक्रमले कोभिडको कारण थलिएको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । आयोजक स्याक्रड समिट्सका अध्यक्ष रवि थापाले नेपाल मोटरसाइकल पर्यटनका रुपमासमेत विकास हुँदै गइरहेको सन्र्दभमा ‘पोकर रन’ले पर्यटनको नयाँ प्रोडक्ट विकास गरेको जानकारी दिए । थापाका अनुसार अघिल्ला वर्षमा विदेशबाट पनि यात्रुहरु सहभागी भए पनि कोरोना संक्रमणको जोखिमका कारण सरकारले ठूलो भेला नगर्न भनेकाले यसवर्ष १ सय ५० जनालाई मात्र सहभागी गराइएको छ । पोकर रनमा गतवर्ष ४ सयजनासम्म सहभागी थिए । ‘मोटरसाइकलमा लामो यात्रा गर्न रुचाउनेका लागि ‘पोकर रन’ सबैभन्दा उत्कृष्ट कार्यक्रम हो,’ थापाले भने, ‘मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउनेका लागि यो कार्यक्रम निकै राम्रो छ । विश्वका अन्य देशहरूमा पनि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना हुन्छ ।’ कोभिडले थलिएको पर्यटनलाई यसले थोरै भएपनि चलायमान बनाउने उनको अपक्षा छ । यात्रुहरू सोमबार बिहान काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेका छन । साँझ पोखरामा नयाँ वर्षको सांस्कृतिक कार्यक्रम गरी दुई दिनपछि काठमाडौं फर्किने आयोजकले जानकारी दिएको छ ।