NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने घोषणा गरेका छन् । तर पनि अफगानिस्तानलाई सहयोग भने जारी राख्ने प्रतिबद्धता उनले जनाएका छन् । उनले अफगानिस्तानमा लामो समयदेखि चल्दै आएको अमेरिकी कारबाही अन्त्यको घोषणा पनि गरेका छन् । बुधबार ह्वाइट हाउसमा बाइडेनले भने, ‘हामीले अब अफगानिस्तानमा जारी रहेको युद्धको अन्त्यको घोषणा गरिसकेका छौँ, त्यहाँ रहेका अमेरिकी सेना हामीले फिर्ता गर्ने भएका छौँ ।’ उनले यही मे १ तारिखदेखि नै अमेरिकी फौज फिर्ता गर्ने प्रक्रिया सुरु हुने जानकारी दिए । सन् २००१ मा अफगानिस्तानमा तालिवानविरुद्ध अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाटै उनले युद्ध अन्त्यको घोषणा गरेका हुन् । ‘यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला हो र यसै अनुसारको निर्णय हामीले अब गरिसकेका छौँ । अमेरिकाका अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाको २० औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो,’ उनले भने । अमेरिकी राष्ट्रपति बाइडेनको यो घोषणासँगै सेप्टेम्बर ११ अघि नै सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका हुन् । यतिखेर अफगानिस्तानमा ९ हजार ६०० नेटो सैनिक छन् । तीमध्ये कम्तीमा २ हजार ५०० जना अमेरिकी सैनिक छन् । यो संख्या समय-समयमा थपघट हुँदै आएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले भने अहिले अफगानिस्तानमा रहेका अमेरिकी सेनाको संख्या ३ हजार ५०० हाराहारी रहेको जनाएका छन् । राष्ट्रपति बाइडेनले अफगानिस्तानमा युद्धका क्रममा २ हजार ४८८ जना अमेरिकी सैनिकको निधन र २० हजारभन्दा बढी घाइते भएका जानकारी पनि दिए । अफगानािस्तानबाट अमेरिकी सैनिक फिर्ती घोषणालाई लिएर नेटोका अरु सदस्य राष्ट्रहरु र अफगानिस्तानमा हिंसा मच्चाइरहेको तालिवान समूहले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । (रासस/सिन्ह्वा)